क्षेत्रीय अस्पताल हाताभित्रै म्याद नाघेका औषधि बिक्री

सुर्खेत, २६ वैशाख । मध्यपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा औषधिका कारोबारीले पनि अनियमितता गरेको फेला परेको छ । क्षेत्रीय अस्पताल वीरेन्द्रनगरको हाताभित्रै म्याद नाघेका औषधिको बिक्रीवितरण गरेर व्यवसायीले सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरेका छन् ।

औषधि व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय सुर्खेत र राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको संयुक्त टोलीले सोमबार गरेको अनुगमनमा म्याद नाघेका औषधि, विभागमा दर्ता नभएका औषधि र नमुनाका लागि आएका औषधिको कारोबार भइरहेको फेला पारेको हो । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा रहेका सम्झना मेडिकल स्टोर र साझा स्वास्थ्य सेवा डिपोमा भारी मात्रामा म्याद नाघेका औषधि पाइएपछि जफत गरिएको औषधि निरीक्षक श्यामकुमार अधिकारीले बताए ।
टोलीले सोमबार वीरेन्द्रनगरका १४ मेडिकल तथा औषधि पसलमा गरेको अनुगमनमा औषधि व्यवस्थापन विभागमा दर्ता नभएका यौनवद्र्धक औषधि खुलेआम बिक्री भइरहेको फेला परेको छ । कर्णाली मेडिकल हल र गौरी मेडिकल हलले यस्ता यौनवद्र्धक औषधि बिक्री गर्दै आइरहेको फेला परेको हो । यस्तै, बुलबुले स्वास्थ्य क्लिनिक, भेरी–कर्णाली मेडिकल, बोहरा मेडिकल, काँक्रेविहार मेडिकल, सिर्जना मेडिकल हलले दर्ताविनै प्रयोशाला सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरेको पाइएको छ ।
अनुगमनमा गौरी मेडिकल हल, सम्झना मेडिकल स्टोर, काँक्रेविहार मेडिकल हल, कर्णाली मेडिकल हल, भेरी–कर्णाली स्वास्थ्य क्लिनिक, नवरत्न एग्रोभेट, तृप्ति मेडिकल हलमा दर्ता नभएका औषधि अत्यधिक मात्रामा गोदाम गरिएको अवस्थामा फेला परेका छन् । ती मेडिकलका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटिएको छ । बोहरा फार्मेसी बांगेसिमलले मेडिकल दर्ताको सक्कल प्रमाणपत्र नराखेकाले प्रमाण पत्रसहित विभागमा उपस्थिति हुन आदेश दिइएको छ ।
अनुगमनमा ५० हजार रुपियाँ बराबरका औषधि जफत गरिएको थियो । औषधि व्यवस्थापन विभागमा दर्ता नभएका ६ प्रकारका, म्याद नाघेका पाँच प्रकारका र नमुना औषधि प्रशस्त मात्रामा जफत गरिएको विभागका औषधि निरीक्षक अधिकारीले जानकारी दिए । वीरेन्द्रनगरमा प्रशासनले अनुगमन नगर्दा औषधि व्यवसायीले दर्ता नभएका र सिफारिस नभएका औषधि बेचेर सर्वसाधारणलाई ठग्दै आएका थिए ।
यस्तै, म्याद नाघेका औषधि पनि बिक्री भइरहेको थियो । सर्वसाधारणले औषधिमा कालोबजारी भइरहेको गुनासो गरे पनि सुर्खेत प्रशासनले औषधि व्यवसायमा भइरहेको अनियमिततालाई अनुगमन र कारबाही गर्न सकेको थिएन ।

प्रतिक्रिया