त्रुटि सच्याउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौ, २६ वैशाख । प्रमुख तीन दलले २१ वैशाखमा भएको पाँचबुँदे सहमतिअनुसार नै सरकार निर्माणको विषयलाई टुंग्याउने सहमति गरेका छन् । संविधानसभाको तेस्रो घटक एमालेले सरकारमा नजाने निर्णय लिएपछि दलहरूबीच भएको पाँचबँुदे सहमति संकटमा परेको थियो ।
माओवादीले एकलौटी ढंगले सरकार विस्तार गरेको आरोप लगाउँदै तत्काल सरकारमा सहभागी नहुने निर्णय एमालेले गरेको हो । सोही विषयमा माओवादी, कांग्रेस र एमाले नेताहरूको बैठकले पाँचबुँदे सहमतिको भावनाअनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद् विस्तारमा त्रुटि भएको स्विकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाए ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी र कांग्रेसले सहमतिको सरकारमा सहभागी हुन एमालेलाई आग्रह गरेका थिए । एमाले सरकारमा नआउँदा प्रमुख दलहरूबीच बिहीबार मध्यरात भएको सहमति उल्लंघन भएको ठहरिने उनीहरूको भनाइ थियो ।
तर, एमालेले भने प्रधानमन्त्री भट्टराईले प्रमुख दलहरूबीच भएको सहमतिविपरीत गएर मन्त्रिमण्डल गठन गरेको उल्लेख गर्दै आफूहरूसँग छलफल नै नगरी मधेसी दललाई मुख्य मन्त्रालय दिएकामा असन्तुष्टि जनाएको थियो । बैठकमा एमालेका नेताहरूले मन्त्रालयको भागबन्डा नमिलेसम्म एमाले सरकारमा सहभागी नहुने अडान राखेका थिए । प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले मन्त्रालय भागबन्डा गरेको र त्यससम्बन्धमा एमालेसँग कुनै सल्लाह नगरेको उनीहरूको आरोप छ ।
प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका विषयमा केही कमजोरी भएको स्विकार्दै त्यसलाई सच्याएर अघि बढ्न आफू तयार रहेको आश्वासन दिएका थिए । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिलाई अक्षरश: लागू गर्दै अगाडि बढ्ने र देखिएका समस्या हल गर्ने विषयमा तीनै दल सहमत भएको बताए । ‘प्रधानमन्त्रीले कमजोरी भएको स्विकार्दै सच्याएर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ श्रेष्ठले भने ।
बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि सरकार विस्तारका क्रममा केही कमजोरी भएको स्विकार्दै प्रधानमन्त्रीले सच्याउने प्रतिबद्धता बैठकमा राखेको जानकारी दिए । एमाले नेता भीमबहादुर रावलले पाँचबुँदे सहमतिअनुसार नै एमाले सरकार विस्तार गर्न प्रतिबद्ध रहेको जानकारी दिए ।
यसैगरी, बैठकले संविधान निर्माणका क्रममा देखिएका विवाद दुई दिनभित्रै सहमति गरी अन्तिम मस्यौदा तयार गर्ने समझदारीसमेत गरेको छ । संविधान निर्माणका क्रममा देखिएका विवाद तत्काल हल गरेर जाने विषयमा पनि तीन दल सहमतिनजिक पुगेको माओवादी उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बैठकले देशका विभिन्न स्थानमा भइरहेको संघीयताका पक्षधर र विरोधीको आन्दोलनलाई रोकेर वार्तामार्फत सहमतिमा आउन आग्रह गर्ने निर्णय गरेको छ । सुदूरपश्चिममा भइरहेको आन्दोलन रोक्न तीन दलको बैठकले संयुक्त रूपमा आह्वान गरेको छ । बैठकले त्रिचन्द्र क्याम्पसमा आइतबार विद्यार्थीमाथि गरिएको प्रहरी दमनको भत्र्सना गर्दै दोषीउपर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैबीच, तीन दलको बैठकपछि सरकारमा एमालेलाई दिने मन्त्रालय र मर्यादा क्रमको विषयमा माओवादी र कांग्रेस नेताबीच दिउँसो छलफल भएको थियो । माओवादी अध्यक्ष दाहालनिवास लाजिम्पाटमा एमालेलाई दिने मन्त्रालय, मर्यादाक्रमका साथै संविधानका विवादित विषयमा पनि दुई दलबीच छलफल भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया