सुख्खा बन्दरगाहमा भारतीय कामदार

विराटनगर, २५ वैशाख । विराटनगर भन्सार सुख्खा बन्दरगाहमा लामो समयदेखि भारतीय कामदारले लोड–अनलोडको काम गर्दे आएका छन् ।
करिब तीन सयका संख्यामा रहेका भारतीय लोडरले भन्सार बन्दरगाहमा आएका ट्रक र कन्टेरनरबाट गोदामा सामान लोड–अनलोड गर्छन् ।
‘दशदेखि १४ जनासम्मको समूह बनाएर लोड–अनलोड गराउँछौँ र भएको आम्दानी मिलेर बाँड्छौँ,’ लोडर जागेश्वर शाहले भने । उनका अनुसार एउटा ट्रक वा कन्टेनर लोडगरेको १४ सय र अनलोड गरेको पनि १४ सय रुपियाँ नै लिन्छन् । कन्टेनर र ट्रकमा पालो मिलाउन एकजना सरदार तोकेका हुन्छन् । एजेन्टसँगको सम्झौताको आधारमा उनीहरूले लोड–अनलोड गर्छन् ।
‘काम चलेका बेला चारदेखि आठ सयसम्म कमाउँछौँ,’ भारत जोगबनीका मोहम्मद जुबेरले भने । ‘लोडरहरू सबै भारतीय छन् पटक–पटक नेपालीलाई राख्न भने पनि कार्यान्वयनमा आउन नसकेको भन्सार एजेन्ट संघका केन्द्रीय सदस्य किशोर शाही बताउँछन् ।
विराटनगर भन्सार सुख्खा बन्दरगाह पब्लिक–प्राइभेट पार्टनरसिपमा भारतीय कम्पनी ट्रान्स नेपालले ठेक्का लिएको छ । ‘भाडा असुल्नेदेखि लोडर राख्ने काम पनि उसैको हो,’ विराटनगर भन्सार कार्यालयका प्रमुख विनोद कँुवरले भने । ट्रान्स नेपाल विराटनगर शाखाले नेपाली कामदार नपाएकाले भारतीय लोडर राख्नुपरेको बताउँदै आएको छ ।
विराटनगर भन्सारका कर्मचारी र धेरै एजेन्टहरू भन्सारमा संख्या घटाएर नेपाली लोडरहरू राख्नुपर्ने माग गर्दै आएका छन् तर नेपाली लोडरले युनियन बनाउने भएकाले ट्रान्स नेपालले भारतीय लोडर प्रयोग गर्दै आएको छ । भन्सार बन्दरगाहमा नेपाली लोडर राखिएमा रानी एरियाका बेरोजगार युवाले राहत पाउने स्थानीयवासी बताउँछन् । स्थानीय अमृत महतो नेपालीहरू रोजगारी नपाएर मिल्स एरियामा अपराधमा लाग्ने गरेको बताउँछन् ।
भन्सारमा आउने बयलगाडा, ठेलाहरू पनि सबै भारतीय व्यवसायीकै रहेका छन् । ठेलागाडाले वर्षांैदेखि सिन्डिकेट कायम गरेर आफूखुसी भाडा असुल्ने गरेका छन् ।

प्रतिक्रिया