सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन

काठमाडौं, २५ वैशाख । सरकारले कृषि तथा सहकारीलाई अलग्याएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको छ ।

नयाँ मन्त्रालय गठनको विभिन्न सहकारी संघ/संस्थाहरूले स्वागत गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्ले कृषि तथा सहकारी मन्त्रालय अलग्याएर छुट्टै सहकारी मन्त्रालय निर्माण गरेको छ । त्यस्तै कृषि विकास मन्त्रालय पनि बनाएको छ ।
‘लामो समयदेखि आमसहकारीकर्मीको माग रहेको थियो,’ राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले भने, ‘यस निर्णयप्रति आमनेपाली सहकारीकर्मको स्वागत रहेको छ ।’ सहकारी तथा गरिबी निवारणका काम एकै मन्त्रालयबाट गराउँदा बढी प्रभावकारी हुने बडालको भनाइ छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई राम्रोसँग बुझेको मन्त्रीको आवश्यकता हुने बताइएको छ । सहकारी र गरिबी निवारणको दक्षता हासिल गरेका व्यक्ति मन्त्री भए सहकारी क्षेत्रको विकास हुने अध्यक्ष बडाल बताउँछन् ।
सहकारी संस्थाको छाता संगठन राष्ट्रिय सहकारी संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी सहकारी अभियान र गरिबी निवारणका कार्यक्रमहरू संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धताअनुसार मन्त्रालयको गठन भएको जनाएको छ । मन्त्रालय गठनसँगै सहकारी अभियानका कार्यक्रम र गरिबी निवारणका क्रियाकलापलाई एकसाथ अघि बढाउन मद्दत पुग्ने संघले विश्वास लिएको जनाएको छ । यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले मन्त्रालय स्थापनाको स्वागत गरेको छ । नयाँ बन्ने संविधानमा सहकारी क्षेत्रलाई विशेष स्थान दिन सरकारसँग अपिल गरेको छ । नेफ्स्कुनद्वारा आइतबार जारी विज्ञप्तिमा बचत तथा ऋण सहकारीको दिगो विकास र प्रवद्र्धनका लागि छुट्टै बचत तथा ऋण ऐन आवश्यक रहेको जनाउँदै ऐनको मस्यौदा तयार गरी सम्बन्धित निकायमा पेस गर्न तयारी भएको जनाएको छ ।
यसअघि कृषि तथा सहकारी मन्त्रालय हुँदा कृषि क्षेत्रमा मात्र बढी बजेट खर्चने गरेको आमसहकारीकर्मीको गुनासो रहेको थियो । सहकारीबाट लिइँदै आएको करबाट सहकारीकै क्षेत्रमा लगानी गर्नुपर्ने माग उनीहरूको रहेको छ ।
देशभर करिब २४ हजार प्रारम्भिक सहकारी संस्था, दुई सय २५ वटा जिल्ला संघ, १४ वटा केन्द्रीय संघ, एकवटा राष्ट्रिय सहकारी बैंक एकवटा राष्ट्रिय सहकारी संघ स्थापना भएका छन् । सहकारीमा करिब ३२ लाख सेयर सदस्य, ५० हजारले प्रत्यक्ष रोजगारी, पाँच लाखले अप्रत्यक्ष रोजगारी पाएका छन् । यो क्षेत्रमा दुई लाखभन्दा बढी सहकारीका सञ्चालक, व्यवस्थापक, लेखासमिति गरी क्रियाशील छन् । करिब ८० प्रतिशत भोलेन्टियर रूपमा खटिरहेका छन् । यस व्यवसायमा सहकारीबाट एक खर्ब ५० अर्बभन्दा बढीको कारोबार छ ।

साझा सहकारीको स्वर्णमहोत्सव

काठमाडौं : नीलकण्ठ साझा सहकारी संस्था लिमिटेडले स्वर्णमहोत्सव तथा ५०औँ वार्षिकोत्सव आइतबार सम्पन्न गरेको छ । यो सहकारी धादिङको सबैभन्दा पहिलो सहकारी हो । स्वर्णमहोत्सवको अवसर पारेर सहकारीले संस्थापक एवं पूर्वअध्यक्षलाई सम्मानसमेत गरेको छ ।
सस्थाका संस्थापक एवं पूर्वअध्यक्ष टिएन गोपीकृष्ण अधिकारी, सोमनाथ ढुंगाना, मोहनबहादुर गुरुङ र मणिकलाल श्रेष्ठ सम्मानित भएका छन् । ०१९ सालमा धादिङको तत्कालीन सदरमुकाम रहेको सुनौलाबजार गाविसको पात्लेमा कार्यालय रहने गरी स्थापना गरिएको पात्ले सहकारीलाई ०४८ मा नीलकण्ठ साझा सहकारी संस्थाका रूपमा परिणत गरिएको थियो ।
पञ्चायत कालमा स्थापना भएका देशभरिका आठ सय ३० वटा सहकारी संस्थामध्ये यस सहकारी पनि एक रहेको संस्थाका सञ्चालक सदस्य गंगादत्त तिमिल्सिनाले बताए । सहकारीले धादिङबेसीमा सुपथ मूल्यको पसल सञ्चालन गरी बिउ–वीजन मलखाद, तथा खाद्यान्न बिक्रीवितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया