प्राथमिकतामा इरानी तेल कटौती

नयाँदिल्ली, २५ वैशाख । इरानी तेलमाथिको निर्भरता घटाउन भारतलाई दबाब दिने उद्देश्यले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भारत भ्रमण सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सहर कोलकाताबाट तीनदिने भारत भ्रमण सुरु गरेकी क्लिन्टनले भारतीय अधिकारीबाट ‘इरानी तेलमाथिको निर्भरता घटाउँछौँ’ भन्ने प्रतिबद्धता माग गर्ने जनाइएको छ । क्लिन्टनको भ्रमण टोलीमा रहेका एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भारतीय दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’ ले आइतबार यस्तो जनाएको हो । बंगलादेश भ्रमण सिध्याएर क्लिन्टन भारतीय सहर कोलकाता पुगेकी हुन् ।
इरानी व्यापारीहरूको ठूलो समूह द्विपक्षीय व्यापार प्रवद्र्धनका विषयमा छलफल गर्न भारत आएका बेला क्लिन्टनको भारत भ्रमण सुरु भएको हो । इरानमा जारी परमाणु प्रशोधन कार्यक्रम रोक्न तेहरानलाई बाध्य बनाउने उद्देश्यले अमेरिकाले इरानमाथि विभिन्न नाकाबन्दी लगाएको छ । इरानी तेल खरिद नगर्न विभिन्न राष्ट्रलाई दबाब दिएर अमेरिकाले इरानलाई आर्थिक संकटमा पार्न खोजिरहेको छ । तर, इरानी तेलमाथि बढी निर्भर भारतले भने अमेरिकी सुझाबअनुरूप इरानी तेल आयात रोक्न अस्वीकार गर्दै आएको छ । यद्यपि, इरानबाट तेल आयात कम गर्न सकिने भनाइ भारतीय अधिकारीहरूबाट आउने गरेको छ ।
नाम उल्लेख नगर्ने सर्तमा ती अमेरिकी अधिकारीले भने, ‘इरानी तेलमाथिको निर्भरता घटाउने दिशामा भारतले उपलब्धि हासिल गरिरहेको हाम्रो निष्कर्ष छ तर यस्तो सुधार जारी रहनेछ भन्ने आश्वासन हामीले भारतीय अधिकारीहरूबाट चाहेका छौँ ।’
‘अमेरिका इस्लामविरोधी होइन’
बंगलादेश बसाइका क्रममा क्लिन्टनले अमेरिका मुसलमानविरोधी नभएको बताएकी थिइन् । अमेरिकाले इस्लाम धर्मको विरोध गरेको भन्ने आरोप सुन्दा आफू स्तब्ध हुने गरेको उनले बताएकी थिइन् । बंगलादेश सबैभन्दा बढी मुसलमान धर्मावलम्बी बसोबास गर्ने तेस्रो राष्ट्र हो । ११ सेप्टेम्बर, २००१ मा चरमपन्थी संगठन अलकायदाले अमेरिकामाथि हमला गरेपछि अमेरिकाले ‘आत्मरक्षा’ का लागि ‘आतंकवादविरोधी युद्ध’ सुरु गरेको दाबी उनले गरेकी थिइन् । बंगलादेश बसाइका क्रममा उनले प्रधानमन्त्री शेख हसिना र प्रतिपक्षी दलकी नेत्री खालिदा जियासँग भेटवार्ता गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया