रसिला पुष्कर

नेपाली विषयका गुरु, अंग्रेजीका जानकार अनि नेपाली यौनसाहित्यका नामी लेखक पुष्कर लोहनी घट्टेकुलोस्थित निवासमा आफ्नै हात जगन्नाथ गर्दै आनन्दले बसिरहेछन् । उनीसँग श्रीमती छिन्, छोराछोरी सबै विदेशमा ।
प्रश्नको बोहनी गर्न पाएकै छैन, उनी एफएम शैलीमा धमाधम आफ्नो दिन कटनीबारे बोल्न थाल्छन् । बिहान ५ बजे आँखा उघारेर एक छिन ओछ्यानमै पल्टिरहने उनको बानी रहेछ । त्यसपछि उठेर नित्यकर्म सक्छन् । चियाको तलतल लागे भान्छामा आफैँ पकाउन पनि अघि सर्छन् कहिलेकाहीँ । प्राय:जसो बिहान श्रीमतीको हातबाट बनेको चियाको चुस्की अनि बेलुका मन लागेमा आफ्नै हातले खन्याएको ह्विस्की पनि खाँदा रहेछन् ।
प्रात: भ्रमण नियमित छैन उनको र समयको ठेगान पनि छैन । तर पनि बिहान–बेलुका गरेर दुई–तीन घन्टाचाहिँ हिँडेकै हुन्छन् रे † व्यायाम, प्राणायामको झर्को नमोल्ने, बरु त्योभन्दा चर्को आफ्नै खालको मेडिटेसन ४०/४५ वर्षदेखि गरेर मानसिक रूपमा मनलाई थिचेर–किचेर अप टु डेट राख्दै आएका रहेछन् । टिभी हेर्दै, हिन्दी गीतगजल सुन्दै, अध्ययन, मनन र चिन्तन गर्दै राति १०–११ बजेतिर सुतिसक्दा रहेछन् ।
बिहानबेलुका तरकारी किन्न पनि भ्याउँछन् । माल देखेर चाल पाउन खप्पिस भए पनि मोलतोल गर्नचाहिँ पटक्कै जान्दा रहेनछन् । त्यसैले त दसको साग पन्ध्र तिरेर ल्याउँदा रहेछन् । घरमा आएपछि बल्ल बजारभाउ चाल पाउँछन्, श्रीमतीका सामु लुरुक्क परेर उभिन विवश हुन्छन् । सुनाउँछन्– ‘नानीदेखिको बानी, मोलतोल गर्न भने आएन । जति भन्यो दिएर हिँड्यो ।’ आफू ठगिएभन्दा पनि बढी पैसा तिरेर ताजा सामान ल्याएकोमा भने गर्व छ रे उनलाई ।
‘कौडी’ कवितासङ्ग्रह लेख्ने कवि लोहनीलाई पौडी खेल्न भने आउँदो रहेनछ । ठीक खाना आहार हुने, बढी खाना पेटलाई भार हुने सोच भएका यी साहित्यकार बिहानको भोजनका रूपमा भात खानुभन्दा खुद्रा रूपमा चाउचाउ, अन्डा र फलफूल अनि पटके खानामा विश्वास गर्दारहेछन् । दिनमा ६–७ पटक केही न केही खाइरहेका हुन्छन् रे †
७४ वर्षीय ठिटा उनी छिटोछिटो ब्रेकिङ न्युजझैँ आफ्ना दैनिकी सुनाउँछन् । शनिबार निस्कने सबै पत्रिकाका फ्यान नै रहेछन् । रिट्ठो नबिराई नपढे चैन नै आउँदो रहेनछ । अहिलेसम्म कुनै असाध्य रोग नदेखिएका लोहनी रोगको दोहोलो काढ्ने श्रेय जमानामा आफूले गरेको साइक्लिङलाई दिन्छन् । अन्धविश्वासलाई नकारे पनि पूरै हकार्न भने सकेका छैनन् उनले । यसलाई जतिसुकै चिरे पनि मानिसमा परम्परा भएर छ्वास्स छिरिहाल्दो रहेछ । ‘बिरालोले बाटो काट्दा म पनि कत्तिचोटि अडेको छु, जाओस् न अर्को मानिस भनेर । अर्को मानिस गएपछि बल्ल अघि बढेको हुन्छु । यसो हुँदाहुँदै पनि धेरैजसो अन्धविश्वासलाई लत्याएर हिँडेको छु,’ उनी भन्छन् ।
उनी आफ्नो व्यक्तिगत सफाइबारे यसो भन्छन्, ‘जाडो होस् वा गर्मी, माओ, आइन्स्टाइनजस्ता प्रख्यात व्यक्तित्वले महिनौं नुहाउँदैनथे भने पुष्करले जाबो साता, दस दिनसम्म ननुहाउँदा केचाहिँ बिग्रिन्छ र ?’ अहिलेसम्म कुनै सेन्ट वा पेन्ट प्रयोग नगरेका उनी जिउ गन्हाउला भनेर सचेत पनि छन् । त्यसैले त टाउको चाहिँ नियमित धोइटोपल्दा रहेछन् । कुरोको मुख्य चुरो पछि पो थाहा पाइयो– सिंह राशिका पुष्कर पानीदेखि ‘चेत् बाबा काशी’ रहेछन् ।
आफूलाई कवि, कथाकार भनेर चिनाउन रुचाए पनि स्वयंचाहिँ नाटकको राम्रो पाठक भएको जानकारी दिन्छन् । देशी–विदेशी थुप्रै नाटकका दृश्य उनका आँखामा चलचित्रझैँ कैद छन् अरे । नाटकसम्बन्धी हँस्यौली सुनाउँदै भन्छन्, ‘११ सालमा ‘शारदा’ मा नाटक पठाएँ, तर छापिएन । ०३६ सालमा एकेडेमीमा पठाएँ, त्यो पनि मञ्चन भएन । अर्को नाटक लेखेँ, दुई महान् नाटककार मल्लबन्धुबाट मेरो नाटककार व्यक्तित्वको असमयमै हत्या भयो । नत्र म पनि आज ५५–६० वर्षे बूढो र वरिष्ठ नाटककारमा गनिने थिएँ ।’ उनले योजना सुनाउँदै थपे, ‘मेरो जीवनको अन्तिम कृति सायद नाटक नै हुन्छ कि जस्तो लाग्छ मलाई ।’
आफ्नो नमीठो अतीत सुनाउँदै उनी भन्छन्, ‘०२६ सालमा राजा वीरेन्द्रले दिएको पर्यायवाची शब्दकोषको काम एकेडेमीमा गर्दै थिएँ । त्यस दिनको काम सकेर घर आएँ । घरमा मभन्दा पहिला पत्र आयो, खोलेर पढेँ यस्तो लेखिएको थियो– तपाईंलाई पर्यायवाची शब्दकोषबाट भोलिदेखि मुक्त गरिएको छ ।’
बुढेसकालको चौतारीमा सुस्ताउँदै पार गरेका जवानीका घुम्तीहरू नियालिरहेकै छन् उनी, तेजिलो स्मरणशक्तिको सहाराले– ‘३५ सालमा त्रिचन्द्रमा करारमा पढाउँदै थिएँ । त्यतिखेर दुईजना नामुद ‘कसाई’हरू आए । तिनले ‘अनफिट’ लेखेर मेरो घाँटी नै छिनाएबराबर गरे ।’ उनले कुनै गूढ रहस्य बताएझैँ गरे । एकैछिन रोकिए अनि फेरि भने, ‘मलाई जहिले पनि साथीभाइले नै घात गरेका छन् । ती लम्फूहरू अहिले मलाई देख्यो कि तर्केर हिँड्छन् ।’
कुराको सिलसिला अघि बढाउँदै छन्, ‘आज ५७–५८ वर्षदेखि यौनकै विषयमा अडिग भएर रहेको छु । एक इन्च पनि टसमस भएको छैन । त्यो बेग्लै कुरो हो, सुरुआतका दिनमा मानिस घरमा आएर भन्ने गर्थे, के हो पुष्कर दाइ, तपाईंले त्यस्तो लेख्नुभएन नि, हामी सामाजिक मान्छे हौँ । तिनै मानिस मलाई एक्लै भेट्दाचाहिँ बडो राम्रो कथा लेख्नुभएछ भन्दै हात मिलाउँथे ।’ पहिला उनलाई देखेर तर्किनेहरू अहिले भने फर्केर आउने गर्छन् रे । उनीहरूले बुझिसकेका छन्, ‘अब तैँ चुप मै चुप गरेर हुँदैन, यौन त सत्यम्, शिवम् र सुन्दरम् हुन्छ भनेर ।
पुस्कर आफूलाई यसरी नै खोल्दै थिए, काँक्रो आयो । खाँदै उनको हाइकु पनि सुनियो–
असला माछा
मोल्नुसम्म मोलियो
स्वादै आएन
कलिलो रैछ
मुठीभरिको काँक्रो
धितै मरेन ।
उनी अरू पनि हाइकु सुनाउने जोसमा थिए, तर समय निकै भिड्किसकेको हुँदा मैले बिदा मागेँ ।

प्रतिक्रिया