इन्स्पेक्टरले साढे आठ लाख घुस लिएको खुलासा

वीरगन्ज, २५ वैशाख । बारामा कार्यरत रहँदा एकजना इन्स्पेक्टरले हत्याका आरोपीलाई छाड्न साढे आठ लाख रुपियाँ घुस लिएको रहस्य खुलासा भएको छ ।

इन्स्पेक्टर मदन गिरीले हत्याका आरोपी बारा फेटा–६ का रिजमानुल्लाह देवानसँंग जेठ ०६८ मा पटकपटक गरेर साढे आठ लाख रुपियाँ घुस लिएका हुन् । हत्याको आरोपमा पक्राउ परेका देवानलाई मुद्दा नचलाई छाड्नका लागि इन्स्पेक्टर गिरीले रकम लिए पनि अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि घुस लिएको तथ्य सार्वजनिक भएको हो ।
देवानले इन्स्पेक्टर गिरीलाई ठगी मुद्दामा कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा असोज ०६८ मा कारागारबाटै लिखित उजुरी दिएका छन् । देवानले इन्स्पेक्टर गिरीलाई सुरुमा एक लाख ६० हजार रुपियाँ, ८ जेठ ०६८ मा एस ०६३०७७५३७१ नम्बरको चेकबाट तीन लाख ५० हजार रुपियाँ, ९ जेठ ०६८ मा ०६३०७७५३७२ नम्बरको चेकबाट दुई लाख ८० हजार रुपियाँ र एक प्रहरी जवानमार्फत ६० हजार रुपियाँ गरेर आठ लाख ५० हजार रुपियाँ दिइएको बताएका छन् ।
देवानले उजुरी दिएपछि इन्स्पेक्टर गिरीले ३ कात्तिक ०६८ मा तीन लाख रुपियाँ फिर्ता दिएको बाराका एक प्रहरी अधिकृतले बताए । जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर रामनाथ घिमिरेले गिरीविरुद्ध उजुरीपत्र आएको बताउँदै आवश्यक अनुसन्धान भइरहेको बताए । १८ वैशाख ०६८ मा फेटा–६ का असिअख्तर अन्सारीका चार वर्षीय छोरा सोयबको अपहरण गरी हत्या गरेको आरोपमा देवानलाई प्रहरीले १९ वैशाख ०६८ मा पक्राउ गरेको थियो । देवानलाई जिल्ला अदालत बाराले ३१ जेठ ०६८ मा पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गर्न बारा प्रहरीलाई आदेश दिएको थियो । देवान वीरगन्ज कारागारमा छन् । इन्स्पेक्टर गिरी जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत छन् ।

प्रतिक्रिया