फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिकमा चरम विवाद

काठमाडौं, २५ वैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिकमा आन्तरिक विवाद चुलिएको छ । विवाद बढेर पार्टी फुटको अवस्थामा पुगे पनि कानुनी बाध्यताका कारण दुवै दल औपचारिक रूपमा विभाजन हुन सकेका छैनन् । दुवै पार्टीका नेताबीच बोलचाल हुन छाडेको छ भने नेतृत्वप्रति असन्तुष्ट नेताहरूले छुट्टै सम्पर्क कार्यालयसमेत खोलेका छन् ।
एकपटक फुटिसकेको पार्टी भएको हुनाले यी दुवै पार्टी औपचारिक रूपमा भने विभाजन हुन सकेका छैनन् । कानुनी रूपमा एकपटक फुटिसकेको पार्टी पहिलो महाधिवेशन नहुँदासम्म फेरि फुट्न पाउँदैन ।
संविधानसभामा २७ सिट रहेको फोरम लोकतान्त्रिक स्पष्ट रूपमै दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व पार्टी अध्यक्ष विजयकुमार गच्छदार र अर्को खेमाको नेतृत्व नेता शरत्सिंह भण्डारीले गरेका छन् । भण्डारी पक्षधर नेताले ललितपुरको बालकुमारीमा सम्पर्क कार्यालय खोलेका छन् । उनीहरूको सम्पर्क कार्यालय रहेको भवनमै उपेन्द्र यादवले नेतृत्व गरेको बृहत् मधेसी दबाब समूहको कार्यालय पनि छ । भण्डारी हरेक दिन दिउँसो २ बजेपछि सम्पर्क कार्यालय जाने गर्छन् ।
सम्पर्क कार्यालयनजिकै फोरम नेपालको पार्टी कार्यालय पनि छ । भण्डारी र यादवबीचको सम्बन्ध अहिले निकै बढेको छ । बृहत् मोर्चामा भण्डारी र उनी पक्षका नेताहरू सक्रिय रूपमा सहभागी हुने गरेका छन् । भण्डारी पक्षधर नेताहरूले ललितपुरको सानेपास्थित पार्टी कार्यालयसँगको सम्बन्ध तोडिसकेका छन् । भण्डारीसँग प्रमोद गुप्ता, रामानन्द मण्डल, कौशल यादव, ओमप्रकाश यादवलगायत १२ जना सभासद् छन् ।
‘हामी कानुनी रूपमा मात्र फोरम लोकतान्त्रिकमा छौँ । भावनात्मक रूपमा त्यो पार्टीसँग हाम्रो सम्बन्ध टुटिसकेको छ,’ दबाब मोर्चाको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका मण्डलले सौर्यसँग टेलिफोनमा भने, ‘अब हामी बृहत् मधेसी मोर्चाको कार्यक्रममा सक्रिय सहभागी हुनेछाँै ।’ मण्डलका अनुसार भण्डारी पक्षधर नेताहरू संविधानसभा विघटनपछि फोरम लोकतान्त्रिकबाट औपचारिक रूपमा अलग हुने योजनामा छन् । अर्का सभासद् सञ्जय साहले पनि पार्टीसँगको सम्बन्ध तोडिसकेका छन् । उनी पनि आफू कानुनी रूपमा मात्र फोरम लोकतान्त्रिकमा आबद्ध रहेको बताउँछन् । ‘म कानुनी रूपमा मात्रै फोरम लोकतान्त्रिकमा छु,’ उनले भने । साह मधेस क्रान्ति फोरमका संयोजक छन् । सत्तारूढ मधेसी मोर्चालाई ‘काउन्टर’ गर्न निर्माण भएको बृहत् मधेसी मोर्चालाई भण्डारी पक्षधर नेताले सहयोग गर्दै आएका छन् ।
संविधानसभामा १३ सिट रहेको फोरम गणतान्त्रिकभित्र पनि विवाद चुलिएको छ । उक्त पार्टीमा पनि दुई खेमाका नेताबीच बोलचाल नै बन्द छ । कृषि तथा सहकारीमन्त्रीबाट बर्खास्त गरिएका नन्दन दत्त पार्टीबाट अलग भइसकेका छन् । उनी पार्टी कार्यलयमा जान छाडेका छन् भने राजकिशोर यादवलगायत नेतासँग उनको बोलचाल टुटिसकेको छ । ‘अब म फोरम गणतान्त्रिकमा कसरी रहन सक्छु र †’ दत्तले भने । दत्तलाई राजलाल यादवलगायत नेताले साथ दिएका छन् । यसअघि पार्टीभित्र दुई पक्षका नेताबीच कुटाकुट नै भएको थियो ।

प्रतिक्रिया