सुदूरपश्चिमको आन्दोलन अब झन् जटिल

महेन्द्रनगर, २५ वैशाख । तीन दलका शीर्ष नेताले आन्दोलन स्थगन गर्न गरेको आह्वानलाई सुदूरपश्चिमवासीले अस्वीकार गरेका छन् । अखण्ड सुदूरपश्चिमको माग राख्दै कञ्चनपुरमा गठित संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

शीर्ष नेताहरूले सुदूरपश्चिमवासीको मागका सम्बन्धमा आफूहरू गम्भीर रहेको जनाए पनि माग पूरा नहुन्जेल आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको आन्दोलनरत दलका नेताहरूले जनाएका छन् । एमाले कञ्चनपुरका उपाध्यक्ष लालबहादुर खड्काले भने, ‘नेताहरूले गम्भीर छाँै भन्दैमा उत्कर्षमा पुगेको आन्दोलन स्थगन गरेर परिणाममुखी हुन सक्दैन ।’
आन्दोलन स्थगन गर्न गरिएको आह्वानबारे मिडियाबाट बाहेक कुनै औपचारिक जानकारी नआएको बताउँदै उनले माग पूरा गर्ने ग्यारेन्टी नहुन्जेल आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको बताए ।
‘वार्तामा आउन आह्वान गरे पनि कसलाई भनिएको हो, कोसँग वार्ता गर्ने हो, त्यो प्रष्ट हुनुपर्‍यो,’ खड्काले भने, ‘औपचारिक रूपमा वार्ता कमिटी गठन गरे आन्दोलनबारे पुनर्विचार गर्न सकिन्छ ।’
कांग्रेस सचिव भोजराज बोहराले एमाओवादीले राज्य पुन:संरचनामा सुदूरपश्चिमलाई विखण्डन गर्ने गरी गरिएको प्रस्ताव फिर्ता लिए आन्दोलन स्थगन गर्न सकिने बताए । ‘माओवादीले आफ्नो प्रस्ताव फिर्ता लिए आन्दोलन स्थगन गर्न सकिन्छ,’ सचिव बोहराले भने । दलहरूका शीर्ष नेताहरूको आग्रहलाई सम्मान गर्दै आफ्ना अधिकारका लागि हडताल गर्ने जनताको अधिकार भएको उनले बताए ।
‘हामी शान्तिपूर्ण आन्दोलन गरेका छौँ,’ उनले भने, ‘बन्द–हडताल जनताले गरेका हुन्, त्यो उनीहरूको अधिकार हो ।’ बोहराले पनि मिडियामा बाहेक औपचारिक रूपमा आन्दोलन स्थगन गर्ने जानकारी नआएको बताए ।
राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका जिल्ला सदस्य पूर्णबहादुर चन्दले शीर्ष नेताको वक्तव्य स्वागतयोग्य भए पनि अखण्ड सुदूरपश्चिमको ग्यारेन्टी नहँुदासम्म आन्दोलन नरोकिने बताए ।
यसैबीच, एमालेका कञ्चनपुर अध्यक्ष ईश्वरीप्रसाद खरेलको अध्यक्षतामा आइतबार बसेको दलहरूको संयुक्त बैठकले थप कार्यक्रमको घोषणा गरेको छ । बैठकले सोमबार महिला, मजदुर, किसान र दलितको अगुवाइमा प्रदर्शन, मंगलबार पेसागत महासंघ र पापडको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम, बुधबार संयुक्त प्रदर्शन र बिहीबार बृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
तीन नेताको वक्तव्यको आधारमा सञ्चारमाध्यममा बन्द फिर्ताको समाचार प्रकाशन भएपछि अन्योल सिर्जना भएको थियो । सुदूरपश्चिम जागरण मञ्चले बिहानै आन्दोलन जारी रहेको भन्दै माइकिङ गरेपछि पुन: बजार बन्द भएको थियो । मञ्चले दिनभर अखण्ड सुदूरपश्चिमको पक्षमा प्रदर्शनसमेत गरेको छ ।
यता दलहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गरेका छन् । उनीहरूले अखण्ड सुदूरपश्चिमको विरुद्धमा उत्रेका २२ सभासद्को पुतलादहन गरेका छन् । दसौं दिनमा विद्यार्थीहरू सडकमा ओर्लेका हुन् ।
जनजीवन अस्तव्यस्त
विगत १० दिनदेखि जारी बन्दले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ । पश्चिमी सिमानाका गड्डाचौकीबाट आउने यात्रुहरू महेन्द्रनगरमा अलपत्र परेका छन् । प्रहरीले राति स्कर्टिङमा सवारीसाधनलाई गन्तव्यमा पुर्‍याउने प्रयास गरे पनि सडकमै बास बस्ने गरेका आन्दोलनकारीले अवरोध पुर्‍याउने गरेका छन् । शनिबार राति प्रहरी स्कर्टिङमै महेन्द्र राजमार्गको गुलरियामा महाकाली यातायातका पाँच सवारीसाधनमा आन्दोलनकारी तोडफोड गरेका छन् ।

 

काठमाडौंमा पनि आन्दोलन जारी 
अखण्ड सुदूरपश्चिमको माग राख्दै काठमाडौंमा पनि आन्दोलन जारी रहेको छ । अखण्ड सुदूरपश्चिम संघर्ष समितिको आयोजनामा आइतबार भृकुटीमण्डपमा कोणसभा गरिएको छ ।
सभालाई कांग्रेस नेता रमेश लेखक, एमाले सभासद् शेरबहादुर कुँवर र माओवादी सभासद् टेकेन्द्र भट्टले सम्बोधन गरे । सुदूरपश्चिमी जनताको भावनाअनुसार सेती–महाकालीका ९ वटै जिल्लालाई एक प्रदेश बनाइनुपर्ने माग उनीहरूले गरेका छन् ।
समितिका सचिव तथा अनेरास्ववियुका सचिव वचनबहादुर सिंहले अखण्ड सुदूरपश्चिमको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताए । प्रमुख दलहरूले सुदूरपश्चिमको आवाजलाई दबाउन खोजे स्थिति झन् भयावह हुने चेतावनी उनले दिए ।

स्लाइन र अक्सिजनको पनि अभाव

कैलाली, २५ वैशाख । बन्दका कारण धनगढीका निजी तथा सरकारी अस्पतालमा स्लाइन र अक्सिजनको अभाव भएको छ । १० दिनदेखिको निरन्तर सुदूरपश्चिम बन्द भएपछि ढुवानी गर्न नसकेर स्लाइन र अक्सिजनको अभाव भएको हो ।
स्लाइन र अक्सिजनको सिलिन्डर नहुँदा उपचार गर्न नसकिएको सेती अञ्चल अस्पताल धनगढीले जनाएको छ । उपचारका लागि आवश्यक औषधि लेखेर पठाए पनि मेडिकलमा औषधि नभएपछि बिरामीका आफन्त रित्तै फर्कने गरेका छन् । सिफारिस गरिएको औषधिको सट्टा अन्य औषधि प्रयोगमा ल्याउनुपरेको अञ्चल अस्पतालका सिनियर अहेव रामकृष्ण चौधरीले बताए ।
अञ्चल अस्पतालमा दैनिक ६० को हाराहारीमा झाडापखालाका र अक्सिजन दिनुपर्ने बिरामी आउने गरेका छन् । अस्पतालसँग अक्सिनजनका सिलिन्डर सकिएर हाल दुई इलेक्ट्रोनिक सिलिन्डरबाट काम चलाइएको चौधरीले बताए । तीन सिलिन्डरलाई तल–माथि गराइरहँदा बिरामीलाई समयमै अक्सिजन दिन समस्या भएको छ ।

प्रतिक्रिया