“आफूभन्दा ठूलालाई अंग्रेजी पढाउँथेँ”

भाइबहिनी हो, मैले यस धर्तीमा २००२ सालमा पहिलोपल्ट ‘चिहाँचिहाँ’ गरेँ । सिराहा जिल्लामा जन्मेको हुँ ।
हाम्रो गाउँ जंगलनजिक थियो । गाउँदेखि दक्षिणतर्फ तीन कोस टाढा भारतको सिमाना थियो । उत्तरतर्फ लहान बजार पर्दथ्यो । ६ जना भाइबहिनीमध्ये जेठो हुँ म । हाम्रो बुबा किसान हुनुहुन्थ्यो, आम्दानीको मुख्य स्रोत पशुपालन थियो ।
पाठशाला कुन चराको नाम हो अनि पढ्नु लेख्नु के हो भन्ने हामी अँध्यारो गाउँमा बस्ने बालकलाई त के, हाम्रा अभिभावक र छरछिमेकलाई पनि थाहा थिएन । टाढाटाढासम्म पनि कुनै स्कुल थिएन ।
सम्झन्छु, त्यति बेलाको दैनिकी बडो गज्जबको हुन्थ्यो । दतिवनले दाँत माझ्यो, खलल्ल मुख धोयो अनि पशुहरू लिएर गोठाला गइन्थ्यो । पशुहरू चर्न थाल्थे, आफूचाहिँ झ्याम्म नदीमा फाल हानिन्थ्यो । दिनभरि पौडी खेल्यो, माछा मार्‍यो, अनि चिसै कपडा लाएर बसिन्थ्यो । लुकेर चुरोटबिँडी पनि तानिन्थ्यो, रिँगटा लाग्थ्यो अनि फालिन्थ्यो । त्यसपछि कामदारको जिम्मामा गाईवस्तु छाडेर दिउँसो घर आयो, हतारहतार खाना टिप्यो अनि साथीभाइ भेला गर्न लागिहाल्यो । मज्जाले कपर्दी, पुल्लिडन्डा (डन्डिबियो), झुट्का (ध्वाइँकासा) हिर्ला (पिङ) खेलेर आनन्दपूर्वक दिन बिताउँथ्यौँ । सिजनमा आँपको रूखमा निकै चढिन्थ्यो । घरबाट पोको पारेर ल्याएको नुनमा चोपेर टन्न काँचो आँप खायो, क्या मज्जा †
एक दिन म घुम्दैघुम्दै जमिनदार (धनीमानी) को घरछेउ पुगेँ । त्यहाँ उनले भारतबाट आफ्ना बालबच्चालाई पढाउन गुरुजी ल्याएका रहेछन् । गुरुजीले पढाएको कुरा सुनेर मलाई बडो रमाइलो लाग्यो । घर आएर मैले बुबा र हजुरबुबालाई पढ्ने कुरा गरेँ । उहाँहरूले मलगायत पाँच–सात जना अरू पढ्न रुचि भएका बच्चालाई खोजेर व्यवस्था मिलाइदिनुभयो । यसरी मैले त्यहीँ पाटीमा साउँअक्षर लेख्ने, पढ्ने र चिन्ने मौका पाएँ । चक्की मसीमा चोपेर बाँसको कलमले लेख्न पनि सिकेँ । फिसका रूपमा अभिभावकहरूले अन्न, दूध र केही पैसा गुरुजीलाई दिनुपथ्र्याे ।
कहिले तीन महिनामा, कहिले ६ महिनामा त कहिले एक वर्षमा गुरुजी फेरिनुहुन्थ्यो । कहिलेकाहीँ कुरा नमिलेर कोही पनि पढाउन आउनुहुन्नथ्यो । गुरुजीहरूसँग तीन वर्ष पढेपछि २०११ सालमा अहिलेको लहाननजिक नहर्निया स्कुल स्थापना भयो । म कक्षा चारमा भर्ना भएँ । घरको आर्थिक स्थिति राम्रो नभएकाले पढाइलाई निरन्तरता दिन सकिनँ । कक्षा ६ मा पढ्दापढ्दै बीचैमा छाड्नुपर्‍यो ।
भाइबहिनी हो, एकचोटि म घरबाट भागी तीन दिन हिँडेर वीरपुर पुगेको थिएँ । वीरपुर कोसी ब्यारेजको छेउमा छ । त्यहाँ कोसीको पुल बन्दै थियो । वीरपुर प्रोजेक्टमा करिब २० दिन लेखासम्बन्धी काम गरेर फुच्चे विद्यार्थी जीवनमा आफैँले कमाइ पनि गरेँ । एक दिन राति हजुरआमाको निकै याद आयो । बिहानै झिसमिसेमै कसैलाई केही नभनी घरतिर टाप ठोकेँ । घरमा मलाई देखेर सबै जना दंग परे ।
मलाई भारतको खुटौना बजारमा लगेर खुटौना हाइस्कुलमा कक्षा आठमा भर्ना गरियो । म स्वयंपाक्य (आफैँ खाना पकाउने) भएर पढ्न थाले । पढाइमा अब्बल, जेहेनदार र मिहिनेती थिएँ । गणित र अंग्रेजी मेरा प्रिय विषय थिए । आठ कक्षामा छँदा ९–१० कक्षामा पढ्नेहरू मसँग अंग्रेजी सिक्थे । ठूलो भएर अङ्ग्रेजी पढाउने प्राध्यापक बन्नु रहेछ र त त्यो बेला अंग्रेजीप्रति नजानिँदो पाराले रुचि र मोह बढेको रहेछ मलाई । अहिले सम्झिँदा त्यस्तै लाग्छ ।
आठ कक्षा पास भएँ । नौ र १० कक्षा गाउँमा अनिकाल परेर फेरि पढ्न पाइनँ । स्कुलमा छँदा वादविवाद, सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ । एकचोटि फुटबल खेल्दा खुट्टा नै भाँच्चियो, काम्रो बेरेर बस्नु पर्‍यो । बुबाले खेतमा गएर काम गर् भन्नुहुन्थ्यो, मलाई भने हलो–कोदालो चलाउन मनै पर्दैनथ्यो । बरु गाउँले जोगी, साधुसन्तको संगत रमाइलो लाग्थ्यो । उनीहरूले बोलेको मन पथ्र्यो । म सानैदेखि भद्र स्वभावको थिएँ, कहिले कसैसँग झै–झगडा परेन । आफ्नो विषयमा दख्खल भएका शिक्षकहरूलाई देखेर मलाई पनि शिक्षक बनूँबनूँ लाग्थ्यो ।
२०१५ सालको आमचुनावमा मैले एक नेतालाई लेखपढ, प्रचार–प्रसार आदि काममा दिनरात दौडेर सघाएँ । ती नेताले चुनाव हारे । बुबाले ‘हरुवा नेताको पछि लाग्छस्’ भनेर गाली गर्नुभयो । अनि फेरि म पढाइ गर्न खुटौना हाइस्कुल पुगेँ । मुस्किलले पाँच वर्षको स्कुले जीवन बिताएर १४ वर्षको उमेरमा खुटौना हाइस्कुलबाट २०१६ सालमा प्रवेशिका पास गरेँ । सानैदेखि असल शिक्षक बन्छु भन्ने मेरो धोको थियो । त्यो पूरा भएकामा साह्रै खुसी छु । भाइबहिनी हो, मानसिक विकासका लागि आफ्नो मातृभाषा राम्ररी सिक्नुपर्छ । आफ्नो मातृभाषामा दक्षता पनि बढी नै हुन्छ । त्यसैले आधारभूत शिक्षा मातृभाषाका माध्यमबाट हुनुपर्छ ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया