स्पष्टीकरण लिएर छाड्दा समस्या ज्यूँका त्यूँ

काठमाडौँ, २४ वैशाख । सरकारले नि:शुल्क स्वास्थ्योपचारका लागि पठाएको अत्यावश्क औषधि बजारमा छ्यापछ्याप्ती भेटिएका छन् । गरिब जनतालाई नि:शुल्क उपलब्ध गराउन सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य संस्थामा पठाइएका ती औषधि खुलेआम बिक्री भइरहेका छन् ।
औषधि व्यवस्था विभागले चालू आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकमा गरेको अनुगमनमा काठमाडौंलगायत ११ भन्दा बढी जिल्लामा त्यस्ता औषधिको बिक्री भइरहेको भेटिएको हो । नि:शुल्क औषधि जिल्ला सदरमुकामदेखि दुर्गम गाउँका पसलमा समेत बिक्री भइरहेको पाइएको विभागले जनाएको छ ।
विभागका फार्मेसी निरीक्षकहरूले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, कपिलवस्तु, रूपन्देही, दोलखा, सिन्धुपाल्चोक, पर्वत र बाग्लुङ जिल्लाका औषधि पसलमा नि:शुल्क औषधि बिक्री भइरहेको फेला परेको हो । बजारमा भेटिएका नि:शुल्क औषधिमा टिटी सुई, एन्टिबायोटिक, एमजिट, अस्थायी बन्ध्याकरणका साधनलगायत छन् ।
विभागले गत आवमा पनि बिक्रीमा राखिएका नि:शुल्क औषधि जफत गरेको थियो । त्यसको जानकारी मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति महाशाखा र सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए । चालु आवको सम्पूर्ण विवरण तयार भइरहेकाले त्यसको जानकारी मन्त्रालय र आपूर्ति महाशाखामा पठाउन बाँकी रहेको अधिकारी बताउँछन् । ‘औषधि पसललाई त हामीले आफ्नो ढंगले कारबाही गरेका छौँ, थप कारबाही कसरी गर्ने भन्नेमा हामी छलफल गर्दै छौँ,’ उनले भने । उनका अनुसार केही औषधि पसललाई बन्द गर्न सम्बन्धित जिल्ला प्रशासनमा पत्र पठाइसकिएको छ ।
मन्त्रालयका प्रमुख औषधि व्यवस्थापक भूपेन्द्रबहादुर थापाले नि:शुल्क औषधि बजारमा पुगेको जानकारी मन्त्रालयमा आएको बताए । बजारमा नि:शुल्क औषधिको बिक्री भइरहेको गुनासो आएकाले विभागबाट त्यस्ता औषधि पसलको नामावली माग गरेर कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पाले नि:शुल्क औषधि बजारमा पुग्नबाट रोक्न पाँचै विकास क्षेत्रमा पत्राचार गरिएको जानकारी दिए । ‘केन्द्रबाट त नियन्त्रण गर्न सकिँदैन, सम्बन्धित जिल्ला जनस्वास्थ्यले नै त्यस्ता कार्य रोक्ने पहल गर्नुपर्छ,’ शेर्पाले भने ।
सरकारले नि:शुल्क वितरण गर्न पठाएको औषधि बिक्री रोक्न विभागलाई टाउको दुखाइको विषय बनेको उनको भनाइ छ । ‘नि:शुल्क बाँड्न दिइएको हो, लगेर बेचिदिन्छन् के गर्नु † सबै क्षेत्रबाट सहयोग भएमात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने । दोषीलाई कारबाही गर्ने निकाय कुन हो भन्नेमै अन्योल रहेको उनको भनाइ छ ।
औषधि व्यवस्था विभागले नि:शुल्क औषधि बेच्नेलाई स्पष्टीकरण सोधेर छाड्नाले समस्या दोहोरिइरहेको एक कर्मचारीले बताए । ‘औषधि पसलमा हरेक वर्ष नि:शुल्क औषधि बिक्री गरिएको भेटिए पनि विभागले अब आइन्दा यस्तो नगर्नु मात्र भनेर छाड्छ,’ ती कर्मचारीले भने ‘नि:शुल्क औषधि बिक्री गर्ने पसललाई बन्द नै गर्ने र व्यापारीको लाइसेन्स खारेज नगरेसम्म यस्ता समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया