प्रधानमन्त्री र कोइरालावीच भेटबार्ता

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री बावुराम भट्टराई र कांग्रेस सभापति सुशील कोइरालावीच मन्त्रिमण्डल विस्तारलाई लिएर भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज विहान भएको भेटमा भट्टराईले सरकारलाई पूर्णता दिने विषयमा गम्भिर हुन सभापति कोइरालासँग आग्रह गरेका छन् । भट्टराईले सहमतिको राष्ट्रिय सरकारलाई आजै पूर्णता दिने विषयमा कोइरालालाई जानकारी गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सभापति कोइरालाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा आन्तरिक छलफल गरेर पठाउने आश्वासन दिएका छन् । उनले सरकारमा को ? को ? पठाउने भन्नेबारे पार्टीमा छलफल चलिरहेको बताउँदै छिट्टै मन्त्रीका नाम पठाउने बताए ।
यसैवीच, प्रधानमन्त्री भट्टराईले एमाले अध्यक्ष झलनाथ खनालसँग पनि टेफिफोन मार्फत सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री भट्टराईले सरकारलाई पूर्णता दिन ढिलाई नगर्न खनालसँग आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । जवाफमा खनालले पार्टीमा आन्तरिक परामर्श जारी रहेकाले मन्त्रीको नाम छिट्टै पठाउने आश्वासन दिएका छन् ।
सरकार विस्तारमा ढिलाई हुँदा संविधानका बिवादित विषयमा सहमति खोज्ने कामलाई असर पर्ने प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया