असन्तुष्ट नेविसंघको समानान्तर कार्यक्रम

काठमाडौं, २२ वैशाख । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा समर्थक नेविसंघका २८ केन्द्रीय सदस्यले संस्थापन पक्षसँग मेलखाने गरेर समानान्तर कार्यक्रम सार्वजनिक गरेको छ ।
बिवादका कारण पदबाट राजीनामा दिएको समुहले आज राजधानीमा पत्रकार सम्मेलन गरेर नेविसंघको संस्थापन पक्षसँग मेलखाने गरि बिभिन्न कार्यक्रम सार्वजनिक गरेको नेविसंघ नेता ऋषिकेशजंग शाहले जानकारी दिए ।
नेविसंघ भित्रको बिवाद अन्त्यका लागि सभापति सुशील कोइराला र नेविसंघ अध्यक्ष रञ्जीत कणले वेवास्ता गरेको नेता शाहको आरोप छ ।
असन्तुष्ट पक्षले संस्थापनले जस्तै संगठन सुदृढिकरण तथा प्रशिक्षण कार्यक्रमका लागि ७५ वटै जिल्लामा केन्द्रय प्रतिनिधि पठाउने निर्णय गरेको छ । राष्ट्रिय एकता तथा जातीय सद्भावका पक्षमा देशभरी विभिन्न कार्यक्रम गर्ने असन्तुष्ट पक्षले जनाएको छ ।
स्ववियू निर्वाचन सम्पन्न गराउन त्रिभुवन विश्व विद्यालयलाई दवाव दिन देशभरका क्याम्पसमा विद्यार्थी जागरण आन्दोलन गर्ने निर्णय गर्दै असन्तुष्ट पक्षले विद्यार्थी नेता जनक भट्टलाई नेविसंघको प्रवक्ताको जिम्मेवारी दिएको छ । यस अघि संस्थापन पक्षले पनि राजधानीमा पत्रकार सम्मेलन गरेर बिभिन्न कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया