दुई सय ५० थरी औषधि बनाउँदै लोमस

काठमाडौं, २२ वैशाख । कुल औषधिमा नेपाल अझै आत्मनिर्भर हुन नसके पनि अति आवश्यक सूचीमा परेका औषधिका हकमा भने आत्मनिर्भर हुने प्रयासमा छ । अति आवश्यक सूचीमा परेका औषधिहरूको ९० प्रतिशत माग नेपाली औषधिउत्पादक कम्पनीहरूले पूरा गर्दै आएका छन् ।

जनताका लागि नभइनहुने कुल औषधि मागको ४० प्रतिशत बजार मात्र नेपाली उत्पादक कम्पनीले ओगट्दै आएका छन् । नेपालमा प्रयोग हुने ६० प्रतिशत औषधि अझै पनि विदेशी कम्पनीले पूर्ति गर्दै आएको लोमस फर्मास्युटिकल्स प्रालिका अध्यक्ष प्रदीपजंग पाण्डेले बताए ।
करिब २८ वर्षअघि स्थापित लोमस नेपालको अग्रणी औषधि उत्पादक कम्पनी हो । विभिन्न झोल, ट्याबलेट गरी यस कम्पनीले दुई सय ५० थरीका औषधिहरूको उत्पादन गर्ने गरेको छ । त्यसमा २२ किसिमका मल्हम, ७० प्रकारका झोल औषधिहरू रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
०४२ सालमा गाेंगबुमा स्थापना भएको यस कम्पनी करिब आठ वर्षअघि गोठाटारमा सरेको थियो । गुणस्तरीयतामा कहिल्यै सम्झौता नगरेको हुँदा कम्पनी आइएसओ ९००१:२०००, डब्ल्युएचओ–जिएमपी र आइएसओ १४००१:२००४ बाट सम्मानित भइसकेको अध्यक्ष पाण्डेले बताए । सरकारले नि:शुल्क वितरण गर्ने औषधिको टेन्डर पारेको लोमसले जोडतोडका साथ उक्त सिटोफिन ट्याबलेट नामक औषधिको उत्पादन गरिरहेको छ । लोमसले आगामी जुन महिनासम्म आठ करोड ३६ लाख सिटोफिन उत्पादन गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । सरकारले नि:शुल्क वितरण गर्ने सो औषधि उत्पादन गर्दा कम्पनीलाई कुनै आर्थिक लाभ हासिल नभए पनि सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले सो औषधिको उत्पादन थालेको बताए ।
लोमसको औषधि उत्पादन पूर्ण स्वचालित प्रविधिमा हुने गरेको छ । लोडसेडिङले आक्रान्त हुँदा औषधि उत्पादनमा समस्या उत्पन्न हुन नदिन उच्च केभिएका तीन जेनेरेटर जडान गरिएको छ । जेनेरेटरका लागि आवश्यक डिजेल भण्डारको लागि छुट्टै ११ हजार लिटरको भूमिगत ट्यांकी निर्माण गरिएको छ भने भूमिगत रूपमै जेनेरेटमा इन्धन भर्ने व्यवस्था छ । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चीन, भारत, स्वीजरल्यान्डलगायतका देशबाट आयात गर्ने गरिएको छ । औषधि उत्पादनको लागि जमिनमुनिको पानीको प्रयोग गरिए पनि उक्त पानीलाई अत्याधुनिक रूपमा प्रशोधन गरी स्वच्छ पारिएपछि मात्र प्रयोग गर्ने गरिएको अध्यक्ष पाण्डेले बताए ।
कम्पनीले साधारण ज्वरोदेखि लिएर जन्डिस र लिभरको औषधिसमेत गरी विभिन्न स्तरका औषधिको उत्पादन गर्छ । नेपालमा हर्मनको छुट्टै शाखा भएको लोमस एक मात्र औषधि उत्पादक कम्पनी रहेको अध्यक्ष पाण्डेले बताए । अनिच्छित गर्भाधारणका कारण आत्महत्यासम्म गर्नुपर्ने स्थिति यदाकदा छापाहरूमा पढ्न पाइन्छ । अनिच्छित गर्भ तुहाउन प्रयोग गरिने विभिन्न गर्भपतनसँग सम्बन्धित औषधिहरूसमेत लोमसले उत्पादन गर्दै आएको छ । हालै मेरी स्टोप्ससँग कम्पनीले सम्झौता गरी बन्ध्याकरणसम्बन्धित विभिन्न उत्पादनहरू बजारमा ल्याउने तयारीमा कम्पनी लागेको उनले बताए ।
लोमसले एक सय ६० कर्मचारीलाई रोजगारी दिएको छ । कम्पनीमा कोही पनि अस्थायी र करारमा कर्मचारी नराखिएको बताउँदै कर्मचारीको सन्तुष्टिलाई ध्यान दिएर व्यवस्थापन अगाडि बढेकाले कम्पनी छोड्ने प्रवृत्ति कम रहेको छ ।
कम्पनीका आºनै प्रयोगशाला छन् । कम्पनीले नयाँनयाँ औषधिको अनुसन्धान र विकासको लागि छुट्टै शाखाको स्थापना गरेको छ । नयाँ औषधिलाई प्रयोगशालामा परीक्षण गरेर मात्र बजारमा पठाउने गरिएको छ । कम्पनीमा उत्पादित औषधिहरू माइनस १० डिग्री सेन्टिग्रेडदेखि ४० डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा परीक्षण गरेर मात्र बजारमा पठाइन्छ । ‘यसबाट मुलुकको अति गर्मी हुने तराई क्षेत्र र जाडो हुने हिमाली क्षेत्रमा पनि ढुक्क भएर हाम्रा उत्पादनको प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
नेपालमा करिब ४० कम्पनीले औषधि उत्पादन गर्दै आएका छन् । नेपाली औषधि उत्पादक कम्पनीको बजार हिस्सामध्ये पाँच प्रतिशत बजार हिस्सा लोमसले ओगटेको अध्यक्ष पाण्डेले दाबी गरे । नेपालको औषधि अन्य देशको भन्दा गुणस्तरीय भए पनि कर्मचारीतन्त्रका विभिन्न बाधा–अड््चनका कारण औषधि विदेश निर्यात हुन नसकिरहेकामा उनले दु:खेसो पोखे । नेपालमा खुलाबजार नीति अंगीकार गरेर विदेशी औषधिको खुलमखुला आयात गरिए पनि नेपाललाई पाकिस्तान, भारत र बंगलादेशलगायतका देशले त्यस्तो सुविधा नदिएको उनले गुनासो गरे । भारतले प्रयोगशाला परीक्षण गर्नुपर्ने नाममा हप्तौँ गर्मीमा त्यत्तिकै औषधि राख्न बाध्य गर्ने हुँदा नेपाली औषधि भारत प्रवेश गर्न नसकेको उनले बताए । लोमसले औषधि उत्पादन गर्दा चौबीसै घन्टा निश्चित तापक्रममा राखेर औषधिको भण्डारण गर्ने गरेको छ ।

प्रतिक्रिया