मेसीद्वारा गोलको कीर्तिमान “ला लिगा” रियललाई

मेड्रिड, २२ वैशाख । रियल मेड्रिडले बुधबार राति एथलेटिक बिल्बाओलाई ३–० ले पराजित गर्दै चार वर्षमा पहिलो र समग्रमा ३२औं लिग उपाधि जितेको छ । यो उपाधि लिगका दुई खेल खेल्न बाँकी छँदै प्राप्त भएको हो । सोही राति बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले मालागाविरुद्ध हयाट्रिक गर्दै युरोपेली क्लबको व्यक्तिगत गोलसंख्याको नयाँ कीर्तिमान कायम गरे । चालु सिजनमा मात्र उनले गरेका गोलको संख्या ६८ पुगेको छ ।
गोन्जालो हिग्वेइनले १६औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै मेसुट ओजिलले स्कोर २–० पुर्‍याए । क्रिस्टियानो रोनाल्डोले ५०औं मिनेटमा स्कोर ३–० पुर्‍याउँदै चालु सिजनमा आफ्नो गोलसंख्या ५८ पुर्‍याए । त्यसअघि १२औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गरेको प्रहार बिल्बाओका गोलकिपर गोर्का एराइजोजले असफल तुल्याइदिएका थिए ।
मेड्रिड (३०–२–४) को ९४ अंक छ जुन बार्सिलोना (२७–३–६) को भन्दा सात अंकले बढी छ । यसअघि पछिल्ला तीन वर्ष लगातार बार्सिलोनाले नै स्पेनिस ‘ला लिगा’ उपाधि जितेको थियो । ‘दस महिना लामो संघर्ष, प्रशिक्षण, म्याच र च्याम्पियन बन्ने लक्ष्यजस्ता कुरापछि अहिले सबै खेलाडी खुसी छन् किनभने हामीले त्यो लक्ष्य हासिल गरेका छौं,’ रोनाल्डोले भने, ‘बार्सिलोनाजस्तो सर्वश्रेष्ठ टोलीलाई पराजित गर्न सक्नुले यो च्याम्पियनसिप अझ कठिन र विशेष पनि बनेको छ ।’
मेड्रिडका खेलाडीले प्रशिक्षक होजे मोउरिन्होलाई हावामा उफारेर जितको खुसियाली मनाए । मोउरिन्होले दर्शकतिर सात औंला उचालेर मेड्रिडको लिग–विजयको प्रसन्नता बाँड्न चाहे । उनको सात औंलाको अर्थ उनले आफ्नो प्रशिक्षण जीवनमा हासिल गरेका लिगउपाधिको संख्या थियो । यसअघि उनले पोर्चुगलको पोर्तो, बेलायतको चेल्सी र इटालीको इन्टरमिलानलाई प्रशिक्षण दिने क्रममा प्रत्येकसित दुई–दुई लिग उपाधि जितेका थिए ।
‘मैले पोर्चुगल, इङल्यान्ड र इटालीमा लिग जितेको छु तर अहिलेको जित सबैभन्दा कठिन रहयो,’ मोउरिन्होले भने, ‘मैले योसमेत सातवटा लिग उपाधि जितें र त्यसरी जित्नुको अर्थ के हो भन्ने पनि म राम्ररी बुझ्दछु । बार्सिलोनाले आफूले खेलेका लगभग सबै खेल जित्यो । त्यो स्तरीय र महान् टोली हो जसले अन्तिम समयसम्म पनि जितको शृंखला जारी राखिरहनेछ । तर महान परम्परा भएका उनीहरूले पनि बुझेका थिए, यसपटकको लिग उपाधि हामीले, अर्थात् रियल मेड्रिड, ले जित्नेछ । यो हाम्रो ‘डिजर्भिङ’ जित हो ।’
मिडफिल्डर जाभी अलोन्सोले थपे, ‘अन्तत: हामीले ला लिगा जितिछाडयौं । यसपटक निकै लामो सिजन भएजस्तो लागिरहेको छ तापनि दुई म्याच खेल्नुअगावै उपाधि जित्नु भनेको ठूलो खुसीको कुरा हो । अब हामीले यसलाई ‘सेलिब्रेट’ गर्नुपर्छ । हामीले पूरा सिजनभरि बार्सिलोनाजस्तो महान् प्रतिद्वन्द्वीसित संघर्ष गरिरहनुपर्‍यो । त्यति हुँदा पनि सिजन समाप्त नहुँदै उपाधि जित्नु आफैमा विशेष कुरा हो ।’
रियल मेड्रिडको उपाधि जितले क्लबका समर्थक एवं प्रशंसकहरूलाई गत साता च्याम्पियन्स लिग सेमिफाइनलमा जर्मनीको बायर्न म्युनिखविरुद्ध भोग्नुपरेको नमीठो पराजयको पीडा बिर्सन बलियो गरी सघाएको छ । सो सेमिफाइनलमा पछिल्लो समय लगातार २५ पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दै आएका रोनाल्डोको पेनाल्टी सुटआउट प्रहारलाई बायर्नका गोलकिपर म्यानुएल नोएरले रोकिदिएका थिए ।
त्यसअघि भएको म्याचमा मालागाविरुद्ध बार्सिलोनाको ४–१ को जितमा मेसीले चालु सिजनको नवौं व्यक्तिगत हयाट्रिक गर्दै सन् १९७२–७३ मा गर्ड मुलरले बायर्न म्युनिखका लागि कायम गरेको ६७ गोलको युरोपेली क्लब गोलरेकर्ड भंग गरेका हुन् । २४ वर्षीय मेसीले ३५औं र ५९औं मिनेटमा पेनाल्टीबाट गोल गरे भने आन्द्रेज इनियस्टाबाट प्राप्त लामो काउन्टरअटयाक पासमा ६४औं मिनेटमा तेस्रो गोल गरेका थिए । यो सिजनमा बार्सिलोनाका लागि ५७ म्याच खेलिसकेका मेसीले ला लिगामा कीर्तिमानी ४६ गोल, च्याम्पियन्स लिगमा १४, स्पेनिस सुपरकपमा तीन, क्लब वल्र्डकप र कोपा डेल रेमा दुई–दुई र युएफा सुपरकपमा एकसमेत कुल ६८ गोल गरिसकेका छन् ।
तीनपटकका फिफा वर्षखेलाडी मेसीले बार्सिलोनाका लागि ३२६ म्याच खेल्दै २४८ गोल गरेका छन् । यस सिजनमा ला लिगामा धेरै गोल गर्ने खेलाडीमा मेसी ४६, रोनाल्डो ४४, राडामेल फाल्काओ २३, गोन्जालो हिग्वेइन २२ र करिम बेन्जिमा २० गोल छन् ।

इङलिस प्रिमियर लिग
इपिएलअन्तर्गत बुधबार राति भ्रमणकारी न्युक्यासलविरुद्ध २–० ले पराजित भएपछि चेल्सी दस वर्षमा पहिलोपटक शीर्ष चार टोलीभित्र नपर्ने निश्चित भएको छ । पेपिस सिसेले १९औं र अतिरिक्त समयमा गरी गरेका दुई गोलपछि उनी न्युक्यासलका लागि १२ खेलमा १३ गोल गर्ने खेलाडी हुन पुगेका छन् ।
टोटनहयाम हट्सपर प्रतिद्वन्द्वी बोल्टनविरुद्ध ४–१ ले विजयी हुँदै गोलअन्तरको आधारमा न्युक्यासलभन्दा अगाडि रहन सफल भएको छ । अंकतालिकामा तेस्रो स्थानमा रहेका आर्सनलभन्दा टोटनहयाम एक अंक मात्र पछाडि छ ।
फयाब्रिस मुआम्बाले बोल्टनका लागि केही मिनेट अत्यन्तै भावनात्मक स्थानापन्न गरेका थिए । सात साताअघि स्पर्सविरुद्ध खेल्दाखेल्दै मैदानमा ह्दयाघात भएर लडेयता पहिलोपटक मैदान छिरेका मुआम्बालाई दर्शकले उठेर लामो तालीले स्वागत गरेका थिए । बिबिसी

प्रतिक्रिया