दर्शक तान्ने होडमा फूल र सम्झिराख है

काठमाडौं : आज शुक्रबार दुई नेपाली चलचित्र रिलिजमा उत्रने भएका छन् । ती हुन्– फूल र सम्झिराख है । फूल शिव रेग्मीको निर्देशनमा बनेको हो भने सम्झिराख हैको निर्देशन रीम विश्वकर्माले गरेका हुन् । फूलले देशभरका स्टेसनमा छ्यापछ्याप्ती हुने तयारी गरेको छ भने पर्खिराख है मोफसलपछि उपत्यकामा आउन लागेको हो ।
जीवनलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने कथालाई विषयवस्तु बनाएको भनिएको फूलमा राजवल्लभ कोइराला, नीरज बराल, गरिमा पन्त, नीर शाह, युवराज लामा आदिको मुख्य अभिनय छ । यो चलचित्र देशभरका ४५ चलचित्र भवनबाट प्रदर्शनमा आउन लागेको निर्माण पक्षले जानकारी गराएको छ । रेखा पौडेलको संगीत रहेको यस चलचित्रलाई सञ्जितकुमार कानु, चन्द्र श्रेष्ठ, सुनील श्रेष्ठ, यमनाथ दनै र क्रन्दन मास्केले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
त्यस्तै, सम्झिराख है रेडलाईट फिल्म्स्को ब्यानरमा कविता खकुरेलले निर्माण गरेकी हुन् । सुमन शिह, जिके शर्मा, गणेश गिरी, अर्चना केसी, प्रेम पुरी, रवीन्द्र खड्का, सुशील पोखरेललगायतको अभिनय र दीपक शर्माको संगीत छ । सामाजिक प्रेमकथा नै चलचित्रको मुख्य विषयवस्तु रहेको निर्देशक रीमले जानकारी गराए । उपत्यकाबाहिरको लगातार बन्दका कारण प्रदर्शनको मिति सर्न सक्ने आशंका पनि उनले व्यक्त गरे । (सौस)

प्रतिक्रिया