‘अफगान युद्ध अन्त्यतिर’

बाग्राम, २१  वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगान युद्ध समाप्तिको सँघारमा पुगेको बताएका छन् । मंगलबार राति अकस्मात् अफगानिस्तान पुगेका राष्ट्रपति ओबामाले त्यहीँबाट अमेरिकी जनतालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘एक समय अफगान युद्ध आरम्भ भएको थियो, ती दिन पुराना भइसकेका छन्, अब यहाँ शान्तिको बिहानी छिट्टै छाउनेछ,’
उनले भने ।
सन् २००१ को सेप्टेम्बर ११ मा चरमपन्थी संगठन अलकायदाका सर्वोच्च नेता ओसामा बिन लादेनको अगुवाइमा अमेरिकामा हमला भएपछि लादेनको खोजी गर्ने क्रममा अमेरिकाले अफगान युद्ध आरम्भ गरेको थियो । नेटो सम्बद्ध राष्ट्रले अफगानिस्तानमा आफ्ना सेना पठाएका छन् । अन्तर्राष्ट्रिय फौजको नेतृत्व अमेरिकी सेनाले गरेको छ ।
राष्ट्रपति ओबामाको अफगानिस्तान भ्रमण अकस्मात् भएको हो । उनको आगमनका लागि अफगानिस्तानमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।
मंगलबार राति ओबामाले अफगान राष्ट्रपति हमिद कार्जाइसँग युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सन् २०१४ सम्म अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसक्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको समाचारमा जनाइएको छ । अफगान राष्ट्रपतिको कार्यालयमा हस्ताक्षर भएको थियो ।
उनले भने, ‘अमेरिका र अफगानिस्तान दुवै देशका नागरिक युद्धको पक्षमा छैनन् । अब यसको अन्त्य छिट्टै हँदै छ ।’ सैनिक विमान चढी ओबामा अफगानिस्तान पुगेका थिए । कतिपय सञ्चारमाध्यमले भने चरमपन्थी नेता लादेनको हत्या भएको वार्षिकोत्सव मनाउन ओबामा अफगानिस्तान पुगेको टिप्पणी गरेका छन् । (एएफपी)

काबुलमा आक्रमण
अमेरिकी राष्ट्रपति बाराक ओबामा अफगानिस्तानबाट फर्कनासाथ राजधानी काबुलमा तालिबानी चरमपन्थीले बम हमला गरेका छन् ।
विदेशी पाहुना बस्ने काबुलस्थित एक गेस्ट हाउसमा उनीहरूले विस्फोट गराएका हुन् । विस्फोटमा परी सातको मृत्यु भएको छ । गेस्ट हाउसमा आत्मघाती बम हमला भएको थियो । हमला गर्न पुगेका पाँच आत्मघाती आक्रमणकारीको मृत्यु भएको छ । गेस्ट हाउसका एक सुरक्षा गार्ड र एक सर्वसाधारणको पनि मृत्यु भएको छ । काबुलबाट राष्ट्रपति ओबामा फर्किएको करिब दुई घन्टापछि  आक्रमण भएको हो ।
आक्रमण भएको गेस्ट हाउसमा पश्चिमी देशका पाहुना बस्ने गरेका छन् । अफगानिस्तानमा ओबामाको आगमन र अमेरिकी सैनिकको उपस्थितिको विरोधमा आत्मघाती आक्रमण गरिएको तालिबानले विज्ञप्तिमार्फत जनाएको छ । (सिन्ह्वा)

प्रतिक्रिया