पर्यटक आगमनमा सुधार

काठमाडौं, २१  वैशाख । सन् २०१२ को चौथो महिना अप्रिलमा नेपाल आउने पर्यटकमा झिनो वृद्धि भएको छ । यो महिना हवाई मार्गबाट ५९ हजार चार सय १५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार यो संख्या गत वर्षको अप्रिल महिनाका तुलनामा १४.३ प्रतिशतले बढी हो । सन् ०११ को अप्रिलमा ५१ हजार नौ सय ६९ पर्यटक नेपाल आएका थिए ।
अप्रिल महिनामा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक ३५.४ प्रतिशतले बढेको तथ्यांक छ । यो महिना दक्षिण एसियाली मुलुकबाट १८ हजार एक सय ५२ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष यो संख्या १३ हजार चार सय थियो । छिमेकी मुलुक भारतबाट आउने पर्यटक यो महिना उल्लेख्य रूपमा बढेका छन् । अप्रिलमा १६ हजार एक सय ६० भारतीय पर्यटक हवाई मार्ग हँुदै नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । त्यस्तै पाकिस्तानी पर्यटक १५ प्रतिशतले बढेका छन् । बंगलादेशी र श्रीलंकाली पर्यटक भने केही घटेका छन् । वर्षको पहिलो चार महिनामा दक्षिण एसियाली मुलुकबाट कुल ६२ हजार एक सय पर्यटक हवाई मार्गबाट आएका छन् । यो संख्या गत वर्षको सोही अवधिका तुलनामा ३७ प्रतिशतले बढी हो ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकको पर्यटक आगमन वृद्धिदर १६.७ प्रतिशत छ । थाइल्यान्डबाहेक सबै एसियाली मुलुकबाट आउने पर्यटक अप्रिलमा बढेको तथ्यांक छ । चिनियाँ, मलेसियन, सिंगापुरे र जापानी पर्यटक क्रमश: ४३, १६.८, ५.७ र १३ प्रतिशतले बढेका छन् । एसियाली मुलुकबाट यो महिना नौ हजार तीन सय २७ र चार महिनाको अवधिमा ४४ हजार ६ सय पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिका तुलनामा २१ प्रतिशतले बढी हो ।
‘लङ हल मार्केट’ तर्फ युरोपको पर्यटक आगमन वृद्धिदर ३.२ प्रतिशत मात्र छ । अप्रिल महिनामा १९ हजार दुई सय ८६ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको तथ्यांक छ । बेलायती तथा फ्रान्सेली पर्यटक घटेका छन् । अमेरिकी र क्यानडेली पर्यटक केही बढेका छन् ।
जनवरीदेखि अप्रिलसम्मको अवधिमा भारतीय पर्यटक ४४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । त्यस्तै चिनियाँ पर्यटक ३८ प्रतिशतले बढेका छन् । बेलायती पर्यटक चार प्रतिशतले र अमेरिकी ११ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो अवधिमा विभिन्न मुलुकबाट दुई लाख सात हजार नौ सय ६१ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिका तुलनामा २३ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिमा एक लाख ६८ हजार नौ सय ५८ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया