‘म्याच–फिक्सिर’ आसिफ आज छुट्ने


लन्डन, २० वैशाख । प्रत्यक्ष म्याच फिक्सिङको आरोपमा जेलसजाय पाएका तीन पाकिस्तानी क्रिकेटरमध्येका एकजना मोहम्मद आसिफ एक वर्षको कारावास सजायमध्ये आधा समय जेलमा बिताएपछि बिहीबार रिहा हुने भएको उनका वकिलले जनाएका छन् । आसिफ लन्डनको क्यान्टरबरी जेलमा थुनिएका थिए ।
अगस्त २०१० मा पाकिस्तान र इङल्यान्डबीच भएको लर्ड्स टेस्टमा जानाजान ‘नो बल’ फ्याँकेर दलालमार्फत अवैध रकम घुस लिएको आरोपमा दोषी पाइएपछि २९ वर्षीय आसिफलाई गत वर्ष नोभेम्बरमा सहखेलाडी साथीहरू सलमान बट र मोहम्मद आमिरसँगै लन्डनको साउथवर्क क्राउन कोर्टले जेलसजाय सुनाएको थियो ।
‘आसिफको रिहाइ अब केही घन्टाको कुरा मात्र हो । अब म उनलाई खुला हावामा भेट्नेछु र उनले कुनै बेला पाइरहेको क्रिकेट–प्रतिष्ठा फेरि उनलाई दिलाउन प्रयास गर्नेछु,’ आसिफका वकिल रवि सुकुलले पाकिस्तानी टेलिभिजन च्यानल जियोसित कुराकानी गर्दै भने ।
उनले आसिफ अझै पनि इङल्यान्डमै बसिरहने र आफूमाथि लगाइएको आरोपविरुद्ध माथिल्लो अदालतमा अपिल गर्न सक्ने सम्भावना रहेको बताए । ‘मलाई अझै पनि के विश्वास छ भने आसिफको मुद्दामा केही खास तर्क र आधारहरू पेस गर्ने हो भने न्यायाधीशहरूलाई फरक निर्णय गर्ननिम्ति सहमत तुल्याउन सकिन्छ,’ सुकुलले भने ।
आसिफ र बटले आफूहरूविरुद्ध लगाइएका आरोप अदालतमा अस्वीकार गरेका थिए तर ६ महिनाको कारावास पाएर तीन महिनापछि गत फेब्रुअरीमै रिहा भइसकेका आमिर दोषी करार भएका थिए । आसिफविरुद्ध इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) ले फेब्रुअरी २०११ मा सात वर्ष लामो प्रतिबन्ध लगाएको थियो भने हाल ३० महिना लामो कारावास सजाय भोगिरहेका बटमाथि दस वर्ष र आमिरविरुद्ध पाँच वर्ष प्रतिबन्ध सजाय सुनाइएको थियो ।

प्रतिक्रिया