केही दिनलाई भट्टराईकै नेतृत्वमा सहमतीय सरकार

काठमाडौं, २१ वैशाख । केही दिनका लागि डा. बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउने गरी वर्तमान मन्त्रिपरिषद् बिहीबार खाली गरिने भएको छ । प्रमुख राजनीतिक दलहरूले बिहीबार दिउँसो १ बजेअघि प्रधानमन्त्रीले आफ्ना सबै मन्त्रीलाई एकैचोटि पदमुक्त गर्ने अनौपचारिक सहमति  गरेका छन् ।

भट्टराई नेतृत्वकै सरकारमा सहभागी हुन कांग्रेस–एमाले तत्पर भएपछि वर्तमान मन्त्रिपरिषद् पुन:गठन गर्ने निर्णय बुधबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले गरेको हो । बिहीबार नै प्रधानमन्त्री डा भट्टराईले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका तर्फबाट दुई–दुई जना सहभागी गराएर नयाँ मन्त्रिपरिषद् बनाउने सहमति भएको स्रोतले बतायो ।
सहमतिअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् खाली गरेपछि बिहीबार १ बजे बस्ने चार दलको बैठकले सहमतिको सरकार गठन गर्ने औपचारिक निर्णय लिनेछ । दलहरूले संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति गरी प्रधानमन्त्री डा भट्टराईले राजीनामा दिने र त्यसपछि कांग्रेस नेतृत्वमा अर्को सरकार बनाएर संविधान जारी गर्ने सहमतिसमेत गरेका छन् । डा भट्टराईले  प्रधानमन्त्रीबाट कहिले राजीनामा गर्ने भन्ने बिहीबार बस्ने बैठकले तय गर्ने भएको छ ।
डा भट्टराई नेतृत्वको सरकारमा सहभागी  नहुने अडान राखेका कांग्रेस र एमालेले संविधानका विवादित विषय राज्यको पुन:संरचना र शासकीय स्वरुपमा सहमति गर्ने उद्देश्यले केही दिनका लागि भए पनि उनको सरकारमा सहभागी हुन सहमति जनाएका हुन् । एमाओवादी नेतृत्वको सरकारमा अहिलेसम्म कांग्रेस सहभागी नभएको गुनासो एमाओवादीका तर्फबाट आएपछि ‘दुवै पक्षको प्रतिष्ठालाई ख्याल गर्दै’ निर्णय लिइएको स्रोतले बतायो  । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. भट्टराईले बिहीबार गठबन्धनका अन्य घटकसँग पनि परामर्श गर्नेछन् ।
‘सहमतिको सरकार गठनका लागि तत्काल ढोका खोल्ने सहमति भएको छ’ बैठकमा सहभागी एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले सौर्यसँग भने, ‘बाबुराम नेतृत्वको सरकारलाई सहमति निर्माणको जस दिएर संविधान घोषणा गर्न अर्कै सरकार बनाउने सहमति भएको छ ।’
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको  सरकारसहित संविधानका विवादित विषयमा  बिहीबार सहमति हुने बताए । बिहीबार मन्त्रिमण्डल विघटन हुने जानकारी दिँंदै उनले  राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रक्रिया पनि बिहीबार नै थालिने बताए । ‘हामी भोलिबाट नै राष्ट्रिय सहमतिको  सरकार निर्माणको प्रक्रिया अघि बढाउंँछौं ।’ उनले भने, ‘संविधानका विवादित सबै विषयमा भोलि (बिहीबार) नै सहमति हुन्छ ।’
दलहरूबीच सरकारसहित संविधानका विवादित विषय राज्यको पुन:संरचना, शासकीय स्वरुपलगायतमा लिखित सम्झौता गर्ने सैद्धान्तिक सहमति भएको छ । संविधानका सबै विवादित विषयमा तीन दिनभित्र सहमति कायम गर्ने दलहरूले जनाएका छन् ।
शीर्ष नेताको बैठकले कांग्रेस नेतृत्वमा नयाँ सरकार गठनको मिति समेत तय गर्ने भएको छ । संविधान जारी गर्नुपूर्व कांग्रेस नेतृत्वमा अर्काे सहमतिको सरकार गठन गर्ने उनीहरूको निर्णय छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले डा भट्टराईकै नेतृत्वमा कांग्रेस–एमालेसहित सबै दल सहभागी हुने उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा १४ जेठअघि सरकार बन्ने दाबी गरे । ‘तत्काल सहमतिको सरकार गठन गर्ने दलहरूबीच सहमति भएको छ,’ कांग्रेस नेता केसीले भने, ‘मन्त्रिपरिषद्का सबै सदस्य फिर्ता हुनेछन् तर प्रधानमन्त्री भने बाबुरामजी नै रहनुहुनेछ ।’
बैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि दलहरूबीच राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा कुरा मिलिसकेको भन्दै बिहीबार यसबारे लिखित सहमति हुने बताए । ‘बैठक अत्यन्तै  सकारात्मक भयो,’ महामन्त्री सिटौलाले भने, ‘भोलि (बिहीबार) १ बजे पुन: बैठक बसेर राष्ट्रिय सहमतिको सरकारसहित संविधानका विवादित विषयमा सहमति गर्छौं ।’ सिटौलाले केही प्राविधिक  विषयमा कुरा मिल्न बाँकी रहेको उल्लेख गरे । ‘बिहीबार ब्रेक थु हुन्छ,’ उनले भने ।
मिश्रित शासकीय स्वरुपमा सहमति नजिक पुगेका राजनीतिक दलहरू तत्कालका लागि प्रदेशको संख्या मात्र तोकेर अघि बढ्न सहमत भएको स्रोतको दाबी छ । १४ जेठअघि नै संविधान जारी गर्न प्रदेशहरूको नाम र सीमांकन पछि गर्ने विषयमा बुधबारको बैठकमा छलफल भएको स्रोतले जनायो ।
दलहरू संविधान निर्माणका विवादित विषय, संविधान जारी गर्ने कार्यतालिका, नयाँ सरकार गठनसहितका सबै विषयमा कार्यतालिका नै बनाएर अघि बढ्ने तयारीमा जुटेका छन् । कांग्रेसले सबै विषयलाई समेटेर तयार गरिने कार्यतालिकालाई संसद्को बैठकबाट अनुमोदन गराएर लैजाने तयारी गरिरहेको छ । एमाओवादीले त्यसमा असहमति जनाउँदै आएको छ ।

प्रतिक्रिया