नेपाली चलचित्रमा ‘सेक्स’ आतंक

चपली हाइट र लुट चलचित्रले व्यावसायिक रूपमा ‘अपार सफलता’ पाएको खुबै प्रचार भयो । तर, चपली हाइटमा दुई साथीले एउटै केटी साथी ‘सेयर’ गरेर यौनव्यवहार गरेको कथा र लुटमा बेरोजगारले बैंक लुट्दा पनि छुट पाएको कहानीबाट के सन्देश लिने ? नेपाली समाज अन्योलमा छ । यो ट्रेन्डले नेपाली चलचित्रलाई दीर्घकालीन प्रतिष्ठा दिलाउन नसक्ने यथार्थ पनि सँगसँगै छ । तर, कतिपय फिल्म निर्माता त त्यसयता अझ त्योभन्दा ‘उपद्रो’ कसीका सूत्रलाई मूलमन्त्र बनाएर चलचित्र निर्माणको होडबाजीमा उत्रिएका देखिन्छन् । त्यस्ता फिल्ममा अभिनय गर्न नायकभन्दा नवप्रवेशी नायिकाहरू ‘जे पनि गर्न’ राजी हुने गरेका देखिएका छन् ।
चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष केपी पाठक लुट र चपली हाइटको कथावस्तु नेपाली समाज नसुहाउँदो मात्र होइन, चाहिनेभन्दा बढी भएको बताउँछन् । भन्छन्, ‘परम्परागत फिल्म निर्माणशैली तोड्ने नाममा सेक्सको मामिलामा बढी उदारता देखिएको छ, दर्शकले सेक्सलाई मन पराए भन्दैमा उदांगो हुनु स्वाभाविक होइन ।’ यसखाले फिल्म उनी आफैँ पनि परिवारमा बसेर हेर्न सक्दैनन् रे † ‘कतिपय नयाँ बन्दै गरेका फिल्मको त झन् ‘प्रोमो’ नै हेरिनसक्नुको छ ।’ ‘रेडमार्केट’ कथामा चलचित्र बनाउने तयारीमा रहेका उनी सामाजिक मर्यादा ननाघ्ने फिल्म बनाउने दाबी गर्छन् ।
जेठको अन्तिम सातादेखि प्रदर्शनमा आउने भनिएको एटिएम छायांकनकै क्रममा विवादमा आउन थालेको छ । ‘सेक्स साइकोलोजी’सँग जोडेर बनाइन लागेको भनिएको यादव सिलवालद्वारा निर्देशित यो चलचित्रमा सेक्सप्रति अति उदार देखिएकी नायिका सबिना कार्कीले छायांकनका क्रममा नायक दिनेश थापालाई लामै ‘टङकिस’ गरिदिएपछि तीन नायिकाबीच कुटाकुट नै चलेको थियो । कसले बढी लामो किस गर्ने भन्ने विवाद मिलाउन निर्मात्री कुस्मा बुढाथोकीलाई हम्मेहम्मे परेको चर्चा बजारमा छ । निर्देशक सिलवाल भने विषयान्तर हुन खोज्दै ‘आफूद्वारा निर्देशित एटिएम समयको माग हो’ भन्छन् ।
‘दर्शकको रुचि र चाहनाअनुसार’ भन्दै निर्माण थालिएका पछिल्ला चलचित्रमा टङकिस, टपलेस र सेक्सका जीवन्त दृश्य दिन नायिकाहरू आतुर देखिन्छन् । एक अनुभवी निर्देशकले नाम नलेखिदिने सर्तमा भने, ‘कला, क्षमता र अभिनय नभएपछि केही न केही देखाएर त बिक्नै पर्‍यो नि †’
यसो गरिरहँदा आफूहरू ‘सोपिस’ अझ ‘सेक्स टोय’ बनिरहेका त छैनौँ भन्ने कुरा नवनायिकाहरूलाई हेक्का नै हुन छाडेको छ । अझ कति त चलचित्र सुटिङको पहिलो सटलाई नै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचारप्रसार गर्नमा जुटेका देखिन्छन् । एटिएमकी नायिका सबिना यस्ता सटलाई तात्तातै फेसबुकमा हालिहाल्छिन् । यद्यपि, यस्ता अनधिकृत क्रियाकलापप्रति सेन्सर बोर्डको आँखा परेको देखिँदैन । सञ्चार मन्त्रालयअन्तर्गत रहेको श्रव्यदृश्य शाखाका नायब सुब्बा नवराज आचार्य सार्वजनिक प्रदर्शन नहुँदै फिल्का उच्छृंखल प्रोमो तथा पोस्टर सार्वजनिक मिडियामा प्रकाशित/प्रसारित गर्न नहुने बताउँछन् ।
निर्देशक सुरेश दर्पण पनि ‘कलगर्ल’को कथालेखनमा धुमधामसाथ लागेका छन् । यसमार्फत भित्री मधेसकी एउटी केटीको आद्योपान्त कथा समेट्ने कोसिस गरेको उनले सुनाए । नाम सुन्दै यो चलचित्रले पनि सेक्स बेच्ने सस्तो फर्मुला नै समात्न लागेको झल्को पाइन्छ । अहिले भने उनी थ्री लभर्स चलचित्रको अन्तिम तयारीमा छन् । ‘यो सेक्स साइकोलोजी’मा बनेको मनोरञ्जनात्मक फिल्म हो’ उनले भने, ‘यो कसैको धारको कपी होइन, एक्स्ट्रा छ ।’ चल्यो भन्दैमा ‘नांगा’ फिल्म बनाउनु दुर्भाग्य हुने उनी स्विकार्छन् । तर, ‘समयले मागेको कथा त दिनैपर्‍यो नि’ भन्न पनि छाड्दैनन् । फेरि यस्तो चेतावनी पनि दिन्छन्– ‘सेक्स फिल्मको लहरले फिल्म इन्डस्ट्रीले फेरि करोडौँ रुपियाँ डुबाउने पक्का छ ।’
सुटिङका क्रममा नायिका नै अत्तालिने दृश्यले आमदर्शकको मनलाई कता लैजाला ? यो सोचनीय विषय बनेको छ । ‘प्ले गर्ल’को यस्तै चर्चाले यति बेला फिल्मी बजार तातेको पाइन्छ । विजयविक्रम बस्नेतद्वारा निर्देशित यो चलचित्रमा नायिका पेसला कटुवाललाई स्विमिङपुलभित्र नांगिन भनेपछि नायिका र निर्देशकबीच धरानमा चर्काचर्की परेको सुनिए पनि अन्तत: नायिका त्यो सिन दिन तयार भएको बुझिएको छ । अवसर पाउन नायिकाहरू आफैँ ‘सोपिस’ बन्ने र बजार पिट्न निर्माता, निर्देशकहरू जस्तोसुकै फिल्म बनाउन तयार भएपछि नेपाली चलचित्र सेक्स भिडियोजस्ता पो हुने हुन् कि भन्ने आशंका पनि उठ्न थालेको छ । यस्ता सामग्रीले नेपाली चलचित्रजगत्लाई कता लैजाला भन्ने चिन्ता बढ्न थालेको साहित्यकार रामलाल जोशीले बताए  ।
विनाप्रसंगको टङकिस, जथाभाबी टपलेस, यौनदृश्य, छाडा संवाद र अर्थ न बर्थको कथाले पछिल्ला नेपाली फिल्महरू उत्तेजक, असामाजिक र अमर्यादित बन्दै गएका छन्, जसको गतिलो उदाहरणका रूपमा निर्देशक बिबी फुयाँलको ‘द लास्ट किस’लाई लिन सकिन्छ । नांगो दृश्य र अश्लील संवादका कारण केन्द्रीय चलचित्र जाँचबुझ समितिले यसलाई प्रदर्शनका लागि अनुमति दिन नसकिने बताएको बुझिएको छ । यही कसीमा बन्दै गरेका ‘नाइट क्विन’, ‘मेमोरी कार्ड’, ‘ए ६९’ पनि पर्ने जानकारहरू बताउँछन् । सोच्नैपर्ने विषय के छ भने प्रदर्शनका लागि अनुमति पाउनुभन्दा पहिला नै कलाकारहरूले आफ्ना ‘हटसिन’हरू फेसबुक, ट्विटर, युटुबजस्ता सामाजिक सञ्जालमा हालिरहेका छन् । यस विषयमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस्ता सञ्जालहरूको पहुँच फिल्म हेर्ने दर्शकको भन्दा बढी संख्यामा हुने निर्देशक समाजका अध्यक्ष केपी पाठक बताउँछन् । ‘कसैलाई दाम र चर्चा कमाउनु छ भन्दैमा परिवारमा बसेर हेर्नै नसकिने, समाज भाँड्ने फिल्म निर्माणलाई विद्यमान कानुनले रोक्नुपर्छ,’ पाठक सुझाउँछन् । यसखाले फिल्मको निर्माणलाई निरुत्साहित नगर्ने हो भने फिल्म इन्डस्ट्रीको लगानी डुब्ने मात्र होइन, समाजलाई यौन उच्छृंखलताले गाँज्दै लाने पक्का छ ।

प्रतिक्रिया