कसले देला सल्लाह !

निर्देशक श्याम भट्टराईले टेलिचलचित्रबाट जुन क्रेज कमाए, चलचित्रमा आइसकेपछि त्यो भताभुंगै भएसरह भयो । उनको निर्देशनका मौसमलगायत चलचित्रले गतिलो व्यावसायिक छाप छाड्न सकेनन् । यसअघि टेलिचलचित्र जानकी निर्देशनका क्रममा त्यसैकी अभिनेत्री रञ्जना शर्मासँग प्रेम बसेपछि श्रीमतीका रूपमा भित्र्याए । अनि रञ्जनालाई आफ्ना चलचित्रमा पनि नायिकाका रूपमा भित्र्याए । तर, न उनले रञ्जनालाई  सफल बनाउन सके न त चलचित्रलाई । यसबीच रञ्जना र उनीबीचको दाम्पत्य सम्बन्धै साह्रै नराम्ररी चिसियो पनि ।
यी दुवैबाट चुकेपछि उनले जीवन गुजार्न सजिलो होस् भनेर पत्नी रञ्जनालाई अमेरिका पठाए । तर, यहाँ पनि उनलाई ठेस लाग्यो । रञ्जनाले त उतै अर्कै केटासँग बिहे गरिन् रे भन्ने हल्ला आइपुग्यो । असफल निर्देशक न परे, यता उनका हातमा चलचित्रै पर्न छाडे । अब नयाँ काम गरुन् पनि के, जसोतसो रिनधन गरेर चलचित्र च्यालेन्ज बनाएका छन् अहिले । बल्लबल्ल बनाएको चलचित्र, त्यो पनि चलेन भने बर्बाद † राम्ररी सबैको रायसुझाब नलिई एकैचोटि ‘रिस्क’ त मोल्नै भएन । अब सल्लाह लिनेचाहिँ कोसँग त ? पहिले पो श्रीमती थिइन्, धेरथोर जस्तो भए पनि सल्लाह दिन्थिन् । अब त त्यो पनि छैन । आफ्नै क्षेत्रका मान्छेलाई सोधूँ, खुट्टा तान्ने प्रवृत्तिले गर्दा कसैको भर पर्न सकिने अवस्थै छैन । कोसँग माग्ने त सल्लाह, बडो रनभुल्लमा परेका छन् यी निर्देशक ठिटा ।

प्रतिक्रिया