हावाहुरीले रोक्यो शीर्ष बैठक

काठमाडौं, २०  वैशाख । प्रमुख दलहरु नयाँ संविधानका विवादित विषयमा सहमतिमा पुग्न नसकेपछि बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन संविधानसभा नियमावली संशोधन गरिएको छ । मंगलबार बसेको संविधानसभा बैठकले नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको संशोधन प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको हो ।
नियमावलीको नियम ८२ मा संशोधन गरी मतदान प्रक्रियाका बारेमा खुलाइएको छ । नियम ८२ पछि नियम ८२ ‘क’ थप गरिएको छ ।
संशोधित नियमावलीअनुसार विवादित विषयको संविधानसभाको पूर्ण बैठकमा मतदान गरेर टुंगो लगाइनेछ । संविधानसभामा बहुमतप्राप्त विषयलाई नयाँ संविधानको पहिलो मस्यौदामा समावेश गरिनेछ । पारित विषयलाई संविधानको पहिलो मस्यौदामा समावेश गर्न सभाले संवैधानिक समितिलाई निर्देशन दिनेछ ।
पहिलो मस्यौदा साधारण बहुमतबाट तयार भए पनि नयाँ संविधानको विधेयक भने संविधानसभाको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्ने व्यवस्था छ । पहिलो मस्यौदामा जनमत संकलन, संविधानमा सैद्धान्तिक र दफावार छलफलपछि विधेयकलाई दुई तिहाइबाट पारित गर्नुपर्ने हुन्छ ।
बहुमतबाट पारित हुन नसकेका विषयलाई भने सभाले पुन: सहमतिको प्रयास गर्न समितिमै पठाउने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ । ‘उपनियम १ को प्रक्रियाबमोजिम निर्णयार्थ पेस भएको कुनै विषयमा सभामा उपस्थित मतदान गर्ने सदस्यको बहुमतबाट पारित हुन नसके त्यस्ता विषयमा सहमति कायम गर्न सभाले संवैधानिक समितिलाई निर्देशन दिनेछ,’ थपिएको नियम ८२ ‘क’ को उपनियम ३ मा भनिएको छ ।
स्रोतका अनुसार बहुमतबाट पारित हुन नसकेका विषय पुन: सहमतिका लागि समितिमा संविधानसभाका अध्यक्षले निश्चित दिन तोकेर पठाउने अनौपचारिक सहमति दलबीच भएको छ । तर, यो विषय नियमावलीमा भने उल्लेख छैन । ‘दिन थोरै छन्, फेरि सहमतिका लागि पठाउँदा सभाध्यक्षले निश्चित दिन तोकेर पठाउने भन्ने कुरा भएको छ,’ नियमावली संशोधन मस्यौदा समितिमा रहेका एक सदस्यले भने ।
राज्य पुन:संरचना र शासकीय स्वरुपलगायतका विषयमा दलबीच अझै सहमति जुट्न सकेको छैन ।
मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण ढिलो गरी बसेको थियो । एमाओवादी र एमालेका शीर्ष नेता र केही सभासद् मजदुर दिवसको कार्यक्रममा व्यस्त थिए । यसअघि बिहान बसेको विवाद समाधान उपसमितिको बैठकमा सहमति जुट्न नसकेका विषय संविधानसभाको पूर्ण बैठकमा मतदान गरी टुंगो लगाउने सहमति भएको थियो ।

हावाहुरीले रोक्यो शीर्ष बैठक

काठमाडौं : प्रमुख तीन दलसहित मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक मंगलबार साँझ बस्न सकेन । प्रधानमन्त्री डा. बाबुराम भट्टराई हावाहुरीका कारण मोरङको विराटनगरबाट उपत्यका फर्कन नसकेपछि शीर्ष बैठक साँझ बस्न नसकेको हो । बिहान बसेको बैठक साँझ पुन: बस्ने गरी टुंगिएको थियो ।
बिहान बसेको बैठकमा विवादित विषयमा सहमतिको प्रयास जारी राख्ने र सहमति नजुटे बहुमतीय प्रक्रियामा जाने समझदारी भएको थियो । बैठकपछि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शासकीय स्वरूपको विषयले दूरगामी प्रभाव पार्ने भएकोले यसमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए । विवादित विषयमा सहमति जुटाउन आफ्नो पार्टी लागिपरेको नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालको भनाइ थियो ।
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरूको बैठक लगातार बस्दै आए पनि निष्कर्षमा पुग्न सकेको छैन । ‘हामी अझै सहमतिको प्रयास गर्छौं । सहमति हुन नसके प्रक्रियामा जान्छौँ,’ सौर्यसँग तमलोपा उपाध्यक्ष ह्दयेश त्रिपाठीले भने । (सौस)

प्रतिक्रिया