जोखिम मोल्दै एल्बम

काठमाडौं, १९ वैशाख । पाइरेसीले नराम्ररी थला परेको नेपाली सांगीतिक क्षेत्र अझै पनि त्यसबाट उम्किन सकिरहेको छैन । एल्बम निकाल्नु बालुवामा पानीसरह छ । एल्बम निकालेर बिक्रीबाटै आर्थिक मुनाफा हुन्छ भन्ने सोच स्थापित गायक–गायिका एवं संगीतकारहरू नै पनि राखिरहेका छैनन् । तैपनि, यस क्षेत्रमा आउने कलाकार दिनदिनै बढेकै छन्, एल्बम निस्किइरहेकै छन् । एल्बममा लगानी गरेर जोखिम मोल्नेहरूमा कि नयाँ कि त स्थापित हुन नसकेका कलाकार नै हुन्छन् । आफ्ना एल्बममा स्थापित गायक–गायिका र संगीतकार राखेर भए पनि एल्बमलाई चर्चित बनाएर चर्चा कमाउने सपनामा उनीहरू लाखौँ खर्चिइरहेका हुन्छन् ।
लगातार दुई एल्बम ल्याउँदा पनि चर्चा कमाउन नसकेपछि गायक सुदीप ठकुरी अहिले तेस्रो एल्बम सक्षम लिएर आएका छन् । यसमा म्युजिक भिडियोसहित गर्दा दुई लाख रुपियाँ लगानी गरेको उनले सुनाए । यसमा उनले गायिका रजिना रिमाल, संगीतकार राजु सिंह, गुरुदेव कामत र सुरेश अधिकारीलाई लिएका रहेछन् । चलेका कलाकारलाई कम्तीमा २५ हजारसम्म खर्च गर्नुपरेको उनले बताए । एल्बम बिकेर यत्तिको लगानी उठ्ने सम्भावना उनी आपैँm पनि देख्दैनन् तर भन्छन्, ‘अहिले दर्शक तथा श्रोतामा चिनिनु ठूलो कुरा हो । एल्बमले व्यावसायिक सफलता नपाए पनि आफू चिनिन सकियो भने भोलिलाई सजिलो हुनेछ ।’
अर्का नयाँ संगीतकार यम गुरुङले पनि करिब तीन लाखको बजेटमा एल्बम ल्याएको बताए । म्युजिक भिडियो बनाउन बाँकी नै छ । अहिले व्यावसायिक रूपमा चलेका गायक राजेशपायल राई, दीपक लिम्बू र संगीतकार गुरुदेव कामतलाई लिएका रहेछन् । ती कलाकारलाई १५ हजारदेखि माथि पारिश्रमिक दिएको उनले सुनाए । उनीचाहिँ थोरै चिन्तित पनि छन्, ‘यत्रो खर्च गरेर एल्बममा लगानी गरेको छु, सफलता नपाए फेरि सांगीतिक क्षेत्रमा फर्कन निकै गाह्रो छ ।’
त्यसो त साहिमा एल्बमका साथमा सांगीतिक बजारमा पाइला बढाएकी गायिका साहिमा श्रेष्ठले एल्बममा गरेको लगानी पत्याउनै मुस्किल हुने खालको छ । एउटै एल्बममा ६ लाख रुपियाँ खर्च भएको सुनाउँछिन् । भन्छिन्, ‘तीनवटा गीतको म्युजिक भिडियो बनाउँदा लगानी बढिहाल्दो रहेछ ।’ लगानी उठ्ने सम्भावना नभए पनि सोही एल्बमले आफूलाई गायिकाका रूपमा चिनाएकोमा उनी केही दंग भने परेकी छन् ।
अर्की ग्ल्यामरस गायिका दीपा पन्त पनि आफ्नो रियालिटी एल्बममा निकै खर्च भएको र लगानी उठ्ने सम्भावना नरहेको बताउँछिन् । ‘के गर्नु, गीत रेकर्डिङले भन्दा पनि प्रमोसन र म्युजिक भिडियोले पो मार्दो रहेछ त!’ उनले भनिन्, ‘लगानी उठ्ने त कुनै सम्भावनै छैन, पैसा खेर फाल्नुसरह नै हो ।’
एल्बममा लगानी गर्ने यस्ता नयाँ कलाकारको जोखिमलाई बुझेर सकेसम्म मिलाएर गाइदिने गरेको गायक शिव परियारले बताए । भन्छन्, ‘कतिपयको एल्बममा त सित्तैमा पनि गाइदिएको छु । गायक राजेशपायल राईचाहिँ नयाँ कलाकारसँग काम गर्न रमाइलो लाग्ने र पारिश्रमिक पनि राम्रो हुने बताउँछन् । भन्छन्, ‘चलेकै कलाकारको एल्बम त व्यावसायिक हिसाबले सफलै हुन्छ भन्ने ग्यारेन्टी छैन, नयाँलाई त झनै जोखिम छ, एल्बम राम्रो भईकन पनि सफलता पाउन सकिरहेको हुँदैन ।’

प्रतिक्रिया