फर्किइन् मनीषा

काठमाडौं : अभिनेत्री मनीषा कोइराला करिब सात महिना लामो भारत बसाइपछि काठमाडौं फर्किएकी छन् । परिवार भेट्नका लागि स्वदेश आएको उनले ट्विटरमा उल्लेख गरेकी छन् । मंगलबार मात्र आइपुगेकी उनले केही दिन मात्र यहाँ रहने योजना बनाएको बुझिएको छ ।
नेपाली व्यवसायी सम्राट दाहालसँग विवाहबन्धनमा बाँधिएपछि लामो समय बलिउडबाट टाढिएकी कोइराला पारिवारिक सम्बन्धमा फाटो आएपछि बलिउडतिरै फर्किएकी थिइन् । यसबीच आफू बलिउडका आधा दर्जन प्रोजेक्टमा व्यस्त रहेको उनले सुनाइन् । पतिसँगको पारिवारिक किचलो र डिभोर्स हुन लागेको हल्लाबीच ध्यान र योगाका लागि भन्दै भारततिर लागेकी उनले लगत्तै मलायालम चलचित्रमा अभिनय गरेकी थिइन् । बलिउड फर्किनु केही समयअघि उनले पृथ्वीनारायण शाह नामक नेपाली चलचित्र निर्देशन गर्ने अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् । सोही चलचित्रको तयारीका लागि उनी नेपाल फर्किएकी हुन् कि भन्ने अनुमान पनि गरिएको छ । (सौस)

प्रतिक्रिया