अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने

काठमाडौं, १९ वैशाख । विवाद समाधान उपसमितिले संविधान लेखनका क्रममा देखिएका बिवादित विषय सुल्झाउन प्रक्रियागतरुपमा अघि बढ्ने निर्णय गरेका छन् ।
यद्यपि उनीहरुले अन्तिमसम्मपनि सहमतिको प्रयासलाई जारी राख्ने निर्णय समेत गरेका छन् । विवाद समाधान उपसमितिको आजको सिंहदरबारमा बैठकले नयाँ संविधान लेखनका क्रममा विवादित विषयलाई छिनोफानो गर्न प्रक्रियागतरुपमा अघि बढाउँदा नियमावलीसँग बाझिने प्रावधानलाई संशोधन गर्ने निर्णय गरेका हुन् ।
नियमावलीमा समितिमै विवादित विषयमा सहमतिका लागि प्रयास गर्ने, यदि त्यसो हुन नसकेमा सहमति नभएका विषयलाई संविधानसभामा मतदानको प्रक्रियाबाट बहुमतका आधारमा टुङ्ग्याउने व्यवस्था रहेको थियो ।

उपसमिति संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति भएन भनेर अहिले नै निराश हुनुपर्ने स्थिति नरहेको बताए । उनले संविधान लेखनको विषय आफैंमा धेरै दूरगामी, जटिल र महत्वपूर्ण रहेकाले पार्टीहरुका बीच छलफल र बहसका क्रममा अलिकति उतारचढाव हुनुलाई अन्यथा लिन नहुने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाले पनि काम गर्दै जाओस् भनेर सुल्झाउन बाँकी रहेका विषयलाई प्रक्रियागतरुपमा अघि बढाउने सहमति भएको बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले नयाँ संविधान लेखनका क्रममा दलहरुबीच देखिएका विवाद सुल्झाउन दलहरुबीच सहमतिका लागि प्रयास भइरहेको तथा सहमतिको विकल्प नरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया