रेलमार्ग निर्माणमा ढिलाइ

विराटनगर, १९ वैशाख । मुआव्जा रकम निकासा गर्न ढिलाइ हुंदा विराटनगर बथनाह रेल निर्माण कार्यमा ढिलाइ भएको छ ।
भारतको विहार प्रान्तको अररियाको बथनाहदेखि मोरङ कटहरीसम्म ब्रोडगेज रेलसेवा सञ्चालनका लागि अधिग्रहण गर्नुपर्ने १३ विगाहा जग्गा मुआब्जा वितरणका लागि  ६५ करोड रुपियाँको विवरण तयार भइसकेको छ ।
भौतिक योजना तथा निर्माण मन्त्रालयले रेल विभागलाई रकम दिन ढिलाइ गरेकाले मुआब्जा वितरणमा ढिलाइ भइरहेको रेल्वे तथा मेट्रो विकास अयोजना जोगबनी विराटनगर कार्यालयले जनाएको छ । उता भारतले बथनाहदेखि जोगबनीसम्म पाँच किमिलामो रेलमार्ग बनाउन सुरु गरिसकेको छ । तर, नेपालले काम सुरुभएको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्नु पर्ने भए पनि अझै जग्गाको मुआब्जासम्म वितरण गर्न सकेको छैन । बुधनगर पाँच भेडियारीबाट नेपालतर्फको कटहरीसम्म १३ किमिलामो  रेलमार्ग निर्माण गरिने कार्यक्रम छ ।
भारत र नेपाल सरकारको सम्झौताअनुसार मुलुकभरका पाँच औधोगिक करिडोरअन्तर्गत हुलाकी मार्गलाई जोडिनेगरी रेलमार्ग निर्माण गर्न लागिएको हो । जसमध्ये तत्काल भिट्टामोडदेखि बर्दिबास र जोगबनी विराटनगर रेलमार्ग निर्माण हुन लागेको छ । रेलमार्ग निर्माण गर्न एक इन्जिनियरसहित चारजना कर्मचारीको कोटा सिर्जना गरे पनि काम भने कछुवा गतिमै सीमित छ ।

प्रतिक्रिया