नेताले डुबाए देश

प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिमा नेपाली सेनाको भूमिका उतिसारो सक्रिय रहेन । यसबीचमा धेरै सेनापति बदलिए, सेनापति फेरिएको तल्लो तहसम्म पत्तोसम्म हुंदैनथ्यो तर नेपाली राजनीतिको उथलपुथलकारी साठीको दशकताकाका प्रधानसेनापति रुक्मांगत कटवाल राजनीतिको केन्द्रभागमा रहे । १० वर्षे युद्धपछि प्रधानमन्त्री भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार कटवालकै कारण पतन भयो । यही कारण राजनीतिक वृत्तमा अहिले पनि उनको अभिव्यक्तिलाई महत्व दिइन्छ । गत साता आफ्नै निवास खुमलटारमा कटवालले सौर्य दैनिकका रामहरि पाण्डेसाग नेपाली राजनीति र नेताप्रति यसरी तिक्तता पोखे

जनआन्दोलनको सफलतापछि धेरै नेपालीले सोचेका थिए, ‘अब नेपालको मुहार फेरिनेछ ।’ कानुनी राज्य स्थापना हुनेछ । एउटा शान्त र समृद्ध नेपाल बन्नेछ । तर त्यसो भएन, जो हुनुपथ्र्यो त्यो भएन । नुहुनपर्ने बढी हुँदै गयो ।
जनआन्दोलनको सफलतापछि अर्थात् ०६३ देखि हालसम्म पाँचजना नेताको नेतृत्वमा सरकार बन्यो । जनआन्दोलनमा उत्रिएका नेताहरूको शैली देख्दा लाग्थ्यो, यिनीहरूले पक्कै पनि नयाँ काम गर्नेछन्, जुन कामले नेपाल र नेपालीको इज्जत विश्वमा छरिनेछ, प्रत्येक नेपालीले गर्वसाथ भन्न सक्नेछन्, ‘म नेपाली हुँ’ । तर परिस्थिति त्यसको ठीक उल्टो बन्दै गएको छ । लोकतान्त्रिक सरकारले जनतालाई महँगी, भ्रष्टाचारभन्दा अरू केही गतिलो कुरा दिएन । अराजक, हत्या हिंसा, अपहरण, हत्या, लुटपाटले प्रश्रय पायो ।
सेनामाथिको आक्रमण
नेपाल र नेपालीको साझा सम्पत्तिका रूपमा नेपाली सेना छ । नेपालीकै चाहनाअनुसार सेनाले आफ्नो काम गर्दै आएको छ । ०६२/६३ को जनआन्दोलनमा नेपाली सेनाले निकै ठूलो संयमता अपनाएको थियो । किनकि त्यो आन्दोलन नेपालीको चाहनामा भएको आन्दोलन थियो । सेनाले संयमता नअपनाएको भए परिस्थिति अर्कौ हुन पनि सक्थ्यो । जनताको चाहना यस्तै छ भने, सेना किन बीचमा आउने भनेर मौनजस्तै भएर बस्यौँ । जनचाहनाअनुसार शासनसत्ता स्थापना हुन्छ भने सेनालाई के आपत्ति थियो ? सेनालाई आन्दोलनमा उत्रेका जनता र त्यसको नेतृत्वकर्ताप्रति दरिलो विश्वास पनि थियो । त्यो विश्वासमा पनि थियो । तर आन्दोलनका सफलतापछि सबैभन्दा पहिले सेनामाथि नै आक्रमणको दुष्प्रयास भए ।
राजनीतीकरण गरिन थालियो सेनालाई । आन्दोलनबाट आएको प्रमुख शक्तिलाई सेनामाथि आक्रमण गरेपछि सजिलै आफूले चाहेजस्तो शासन लाद्न पाइन्छ भन्ने लागेको पनि हुन सक्छ । तर मैले उनीहरूले चाहेजस्तो हुन दिइनँ । कानुनको पालना गर्नलाई थोरै पनि कन्जुस्याइँ गरिनँ । मलाई राम्रो जानकारी थियो कि, ‘तत्कालीन शासकले सेनामाथि आक्रमण गर्दै छन् ।’ सेनाको नेतृत्वमा रहेको अवधिभर बिदामा बसिनँ म । किनकि मैले सेनालाई कानुनी राज्यभित्र बसाल्नु थियो । त्यसका लागि मैले निकै संघर्ष गर्नुपर्‍यो ।
नेताको खडेरी
जनआन्दोलनपछि काम नगर्ने ठूला भाषण मात्रै गर्ने नेताहरूको उदय भयो । मनैदेखि देश र जनताका लागि काम गर्ने नेताको खडेरीजस्तै भयो । आन्दोलनका बलमा उदय भएका केही नेताको हैसियत पनि राम्रैसँग देखियो । यो नेपाल र नेपालीका लागि दुर्भाग्य हो । नेताहरू झुटको खेतीमा व्यस्त रहे । जनताका लागि भन्दा आफ्ना लागि कमाउने र मोजमस्ती गर्नमा व्यस्त रहे । सत्ताको मोहबाट कहिल्यै टाढा जान खोजेनन् । जनताको मन जितेरभन्दा पनि धम्काएर, तर्साएर, कुटेर तिनै सत्तामा पुग्ने प्रयासमा लालायित भए । आफ्ना सल्लाहकारका नाममा आफूभन्दा निकै गुणा बढी गोज्यांग्रोलाई नियुक्ति गरे । ‘ए’ क्लासको सल्लाहकार राख्नै चाहेनन् र ‘सी’ क्लासकालाई मात्र राख्ने । त्यसमा पनि आफ्नो र आफन्तलाई पहिलो प्रथामिकता दिए । आन्दोलनमा उत्रेका जनता हेरेको हेर्‍यै भए ।
झुटको खेती
नेतृत्वमा पुगेपछि उनीहरूमा झुटको खेती राम्रैसँग फस्टाएको देखियो यो पाँच वर्षको अवधिमा । शान्ति र संविधानका नाममा भ्रमको खेतीबाहेक अरू केही भएन । उनीहरूले झुट नबोलेको दिन कमै रह्यो । नेताहरूले जे-जे गर्छु भनेका थिए, अहिलेसम्म त्यो गरेकै छैनन् । जनतालाई केवल भ्रम मात्रै बाँडेका छन् ।
प्रिपेट घुस’को सुरुआत
पोस्पेड घुसको चलन पहिले नै थियो तर लोकतन्त्र प्राप्तिपछि पि्रपेड घुसको मार्केट चम्क्यो । स्थायी प्रशासन संयन्त्रलाई अस्थायीमा रूपान्तरण गरे । कर्मचारीले घर पायक स्थानमा सरुवा हुन वा बढुवा हुनलाई नेताको घर धाउनु पर्ने भयो । नेतृत्वमा पुगेपछि कमाउ अड्डामा आफू अनुकूलका कर्मचारीलाई भित्र्याउन थाले । अझ सरकार फेरिएलगत्तै सचिव फेर्ने परिपाटीको संस्थागत विकास नै भयो । मन्त्रीको चाहनाअनुसार सचिव फेरिएपछि सचिवले पनि आफू अनुकूल सहसचिव, उपसचिवलगायतका कर्मचारी फेर्न थाले । पैसाविना कुनै काम नगर्ने नियमजस्तै बन्न पुग्यो । कुनै काम सुरु गर्दा धेरै थोर पैसा लिएर मात्र थालनी गर्ने नत्र कामको फाइल नै नछुने बानी बसाल्न थाले कर्मचारीले । यो कर्मचारीले मात्र होइन पोलिसी मेकिङ लेभलमा रहेकाहरू पि्रपेडमै चल्न थाले ।
गुम्दै पहिचान
लोकतन्त्र प्राप्तिपछि पृथ्वीनाराण शाहालाई गाली गर्न थालियो । उनको सालिक भत्काइयो । सालिकमा रातो झन्डा फहराइयो । उनले नेपालको एकीकरण नगरेको भए हामी कहाँ रहन्थ्यौँ ? थाहा छैन । नेताले चट्टानजस्तो छाती बोकेर अघि हिँड्नु पर्नेमा बगेरे छातीमा सीमिति भए । आफ्नो मनभित्रको निर्णयबाट होइन अरूको इसारामा चल्न थाले । अरूको इसारामै विशाल नेपाललाई खण्डित नेपाल बनाउन उद्यत देखिए । जातका नाममा राज्य बाँड्न खोजिए ।
नेतृत्वमा रहेकाहरू विदेशीसँग निउरी मुन्टी ‘न’ लगाउन थाले । उदाहरणका लागि केही महिनाअघि प्रधानमन्त्री बाबुराम भट्टराई र नेपालका लागि भारतीय राजदूतबीचको भेटलाई लिए हुन्छ । त्यो भेटमा भारतीय राजदूतको शैली, बसाइ कस्तो थियो ? सबैले देखे । उनीहरू त्यसैगरी सधैँ ठूला पल्टिएका छन् । उनीहरूकै इसारामा चल्न खोजे हाम्रा नेता । यस्तै केही समयअघि एक विदेशी नागरिक सामान्य कपडामा चप्पल मात्र लगाएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसैका लागि लोकतन्त्र ल्याएको हो ?
विलासीपूर्ण जीवन
युद्वमा लागेका तर युद्वपछि गाउँ र्फकंदा भोकभोकै दिन बिताउने नेपाली धेरै छन् । दुर्गम जिल्लामा खाना नपाएर विस्थापित भएको समाचार सार्वजनिक भइहरेको छ । तर नेताहरू कार्यकर्तालाई दिएको वचन तोडेर विलासी जीवन बिताउन थालेका छन् । महँगो होटलमा भोजन गर्ने बानी बसालेका छन् । पार्टीको दस्तावेज लेख्ने नाममा सपरिवार रिसोर्टमा रात बिताउन थालेका छन् । यतिबेला संविधानसभामा पाँच सय ९७ जना सदस्य छन् । तर सरकार निर्माणमा होस् या संविधान निर्माणमा चार पार्टीका चार नेताको मात्र भूमिका देखिएका छन् । अरू सबको काम ताली बजाउने । चार नेताले जे भन्यो त्यही भइरहेको छ । के यसैका लागि संविधानसभाको चुनाव भएको हो ?
सस्तो लोकपि्रयता
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशबाट सामान ल्याएर नेपालमै जोडजाम गरी तयार गरेको गाडी चढेर सस्तो लोकपि्रयता कमाउन खोजे तर त्यो सस्तो गाडीका अघिपछि कस्ता गाडी गुडिरहेका छन् भन्ने कुनै ख्याल गरिएन । जनतालाई सस्ता नारा बाँडियो तर ती नारा पूरा गर्न कस्तो नीति ल्याउनु पर्छ ? कहिल्यै सोचेनन् नेताहरूले । संविधान निर्माण, शान्तिप्रक्रिया, सरकारको नेतृत्वलगायतका विषयमा दैनिकजसो बैठक बसे । तर जाडोले तथा खाना नपाएर मरेका नेपालीको विषयमा कहिल्यै बैठक बसेनन् । रुक्मांगत कटवालजस्तो मानिसलाई त ग्यास ल्याउनका लागि सोर्सफोर्स लगाउनु पर्छ । सामान्य जनताको के हालत होला ?

प्रतिक्रिया