विशेष विनीता

झापाकी विनीता खरेल कलाकारिता वा मोडलिङमा आउनाका पछाडि उनको एउटा सपना छ- बलिउड अभिनेता साहिद कपुरसँग डेटिङ जानु, त्यो पनि सानोतिना ठाउँमा हो र, अमेरिकामा । सुनाइन्, ‘कलाकारितामा लाग्दै जाँदा एक न एक दिन त साहिदसँग भेट कसो नहोला ?’ बिर्तामोड-२ की स्थायी बासिन्दा विनीता कलाकारितासँगै अध्ययनलाई पनि अघि बढाइरहेकी छन् । बिबिएस पढिरहेकी छन् । फुर्सदमा साथीसँग रमाइलो गर्दै घुम्न निस्कनु, पत्रपत्रिका पढ्नु अनि नृत्य गर्नु उनका थप रुचि हुन् ।
यसै सुन्दर छिन् उनी, त्यसभन्दा पनि सुन्दर देखिएर ग्ल्यामर क्षेत्रमा राज गर्ने चाहना बोकेकी छन् । त्यसैले सौन्दर्य निखार्ने मामिलामा सतर्क हुन्छिन् । युग अनि क्षेत्र सुहाउँदो ड्रेसअपबारे कन्सस छिन् । भन्छिन्, ‘डे्रस, मेकअप सामान, खाने कुरा, चस्मा, लिपिस्टिक आदिमा अलि चुजी छु । बजारमा जे निस्कन्छ त्यो मलाई चाहिहाल्छ ।’ उनले ठट्टा गरिन्, ‘आकर्षक शरीर नभएकी केटी र बगलीमा गाँठ दह्रो नभएको केटाको के भाउ र ?’ उनी दाबी गर्छिन्, टु-पिसमा त म झनै कमालकी देखिन्छु ।’ अभिनय र मोडलिङले सानै उमेरदेखि उनलाई आकषिर्त गरेको रहेछ, त्यो आकर्षणलाई अब करियर बनाउने यात्रामा आफूलाई दौडाउँदै छिन् । त्यसो त उनका बाबुलाई पनि छोरी सफल कलाकार भएको देख्न मन रहेछ । ‘बुबाको सपना पूरा गर्नु छ,’ उनले भनिन् । मोडलिङलगायत सौन्दर्य कार्यक्रमको विरोध पनि हुन्छ बेलाबखत । यो विरोधपछाडिको आरोप हुन्छ- यो क्षेत्रमा महिलालाई होच्याइन्छ, अनेक शोषण गरिन्छ । तर, उनले चाहिँ अहिलेसम्म त्यस्तो भोगेकी छैनन् रे ! ‘सुनेकी त छु तर त्यो हल्ला मात्रै जस्तो लाग्छ, अहिलेसम्म त्यस्तो केही थाहा छैन मलाई त !’ -उनले सुनाइन् । अहिलेसम्म उनले गायक सन्तोष लामाका तिम्रा ती अतीतका वाचाबन्धन, सत्य-स्वरूपको जिन्दगी यस्तै र प्रविसा अधिकारीको मैले माया गरेर गीतमा गरेको मोडलिङमार्फत राम्रै चर्चा कमाइसकिन् । यसबाहेक भोजपुरी चलचित्र दुर्गामा पनि अभिनय गरिसकेकी रहिछन्, यी ५ फिट ५ इन्च अग्ली सुन्दरीले ।

प्रतिक्रिया