तस्करी गर्न पाउनुपर्छ भन्दै आन्दोलन

विराटनगर, १ वैशाख । २९ चैत साँझ ६ बजे विराटनगर २२ मटेर्वाको अस्थायी प्रहरी चौकीका असई ईश्वर कार्कीको टोली कुटियो । सुपारी ओसारपसार गर्न नदिएको भन्दै स्थानीय तस्करको समूहले कुटपिट गरेको हो । एक प्रहरी गम्भीर घाइते नै भए ।  भारतको जोगबनी बजारतर्फ लैजाँदै गरिएको सुपारी प्रहरीले बरामद गरेपछि तस्करको समूह प्रहरीमाथि जाइलागेको थियो ।
तस्करीको लाइनमार्फत हुने भन्सारछलीमा प्रहरीले कडाइ गर्दा प्रहरीमाथि नै जाइलाग्ने क्रम बढ्न थालेको छ विराटनगर क्षेत्रमा । अवैध ओसारपसारमा संलग्न समूहले आफ्नो पेसा खोसेको भन्दै नदिएको भन्दै विरोध प्रदर्शन र भन्सारको ढाट बन्द गराउनेदेखि पसल बन्द गराउने र प्रहरीसँगै भिडन्तसमेत गर्ने गरेका छन् ।
तस्करीमा कडाइ गरेर स्थानीयवासीको रोजगारी खोसेको भन्दै मटेर्वावासीकै नाममा १२ फागुनमा अर्थमन्त्री वर्षमान पुनलाई कालोझन्डा समेत देखाइएको थियो । मन्त्री पुन विराटनगर भन्सार निरीक्षणका लागि साँझ रानीस्थित भन्सार कार्यालय पुगेका थिए । अवैध ओसारपसार गर्न पाउनुपर्ने भन्दै भन्सारको १ नं ढाटमै धर्ना दिएर सडक जाम गरिएपछि प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको थियो । त्यसलगत्तै फागुन तेस्रो हप्ता विराटनगर रानीमा रहेका पसल बन्द गरेर अवैध नाका खुल्ला गर्नुपर्ने माग गरेका थिए । अवैध व्यापारीको समूहले सीमा क्षेत्रमा रहेका नेपाली पसल दिनभर बन्द गराएका थिए ।
‘गरिबले अर्काको माल ओसारेर एक दुई सय कमाउँदा कहीँ तस्करी हुन्छ , रोक्ने भए ठूला ठूला तस्करलाई रोक्नुपर्‍यो’ मटेर्वाका अगुवा मुस्लिम मियाँ भन्छन् । २९ चैतमा प्रहरीले ज्यादती गरेको भन्दै मियाँ र फैजान नामका व्यक्तिले स्थानीयवासीलाई उचालेका थिए ।  मटेर्वा नाकामा मुसलमान समुदायको बाक्लो बस्ती  छ ।
अवैध ओसारपसारलाई पेसा भन्दै स्थानीय राजनैतिक दलका नेताले समेत संरक्षण दिने गरेका छन् । पहिले तस्करीको लाइन चलाउने र सुराकी गर्नेहरु नै स्थानीय राजनीतिमा सकि्रय छन् । तीमध्ये दिनेश यादव, मियाँलगायत हुन् । दिनेश मधेसी जनअधिकार फोरम नेपालका जिल्ला नेता हुन् भने  मियाँ कमल थापाको राप्रपा नेपालका केन्द्रीय सदस्य हुन् ।  मियाँ भन्छन् , ‘कांग्रेस , एमाले , एमाओवादी, फोरम सबै पार्टीका ठूला नेता तस्करीको लाइन खान्छन् भने गरिबको रोजगारी किन खोस्नु ।’ विराटनगर भन्सार नाका नजिक मटेर्वा र दरैया दुई नाका छन् । दुवैमा लाईन खुलाएर तस्करले समानान्तर भन्सार चलाउँछन्  तर प्रहरीले कडाइ गरेपछि अहिले ठप्प छ ।
भन्सार नजिकका दरैया र मटेर्वा नाका मात्र हैन, ग्रामीण क्षेत्रमा पनि भन्सार छलेर लगिएका समान पक्राउ गरिएको भन्दै सडक जाम गर्ने र प्रहरीमाथि जाइलाग्ने घटना भएका छन् । भन्सार छलेर लगेका समान पक्राउ गरिएपछि अवैध क्यारिङ गर्नेहरुले घरायासी प्रयोजनका लागि ल्याएको सामान पक्राउ गरेर ज्यादती गरेको आरोप लगाउने गरेका छन् । माघ अन्तिम साता मोरङको डायनियामा भन्सार गस्ती टोलीले सामान समातेर भन्सार बुझाएको भन्दै तीन दिन स्थानीय अगुवाले उर्लाबारी रंगेली सडकखण्ड जाम गरे । पक्राउ गरेर भन्सार बुझाएको सामान फिर्ता पाउनुपर्छ भन्दै सिडिओ कार्यलयमा धर्ना दिए  तर प्रशासनले नमानेपछि अन्तमा अगुवाले मिलापत्र गरेका थिए ।
०६७ सालमा डायनियामै सामान पक्राउ गरेर गरिखान नदिएको भन्दै स्थानीयवासीले भन्सार राजस्व गस्तीमाथि ढुंगामुढा गरेका थिए । त्यो घटनामा सुरक्षाका लागि प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख विनोद कुँवर तस्करी गर्न पाउनुपर्ने माग गर्दै कैयांै घटना हुने गरेको बताउँछन् । उनका अनुसार सीमा क्षेत्रमा सयौं मानिसले तस्करीलाई नै पेसा बनाएका छन् । वर्षौदेखि त्यसैबाट जीविका चलाइरहेको र प्रहरी र स्थानीय राजनैतिक दलका नेताले समेत संरक्षण गरिदिएकाले उनीहरुले अवैध ओसारपसारलाई अधिकार भन्न थालेका हुन् ।

प्रतिक्रिया