पत्नी मन्त्री, पति पिए

काठमाडौं, १ वैशाख । उनी राज्यमन्त्रीसँगै मन्त्रालय आउँछन् । राज्यमन्त्री आफ्नो कुर्सीमा बस्छिन् । उनी भने बाहिरै बस्छन् र मन्त्रीको दिनभरका कार्यक्रम र अन्य कामबारे मन्त्रीलाई बि्रफिङ गर्छन् ।
उनी मन्त्रीलाई तपाइं भनेर सम्बोधन गर्छन् । त्यसैले वातावरण राज्यमन्त्री दुर्गादेवी महतोलाई भेट्न आउनेहरूलाई पत्तो नै हुँदैन, उनी राज्यमन्त्रीका पति हुन् भनेर । उनले आफूलाई मन्त्रीको श्रीमान् भनेर परिचय पनि गराउँदैनन् । मन्त्रीको स्वकीय सविच नै भनेर चिनाउँछन् ।
पत्नी र पतिले पाउने सुविधा पनि फरक छ । श्रीमान् भीम महतो मन्त्रीका स्वकीय सचिवको हैसियतले मासिक २१ हजार ८० रुपियाँ बुझ्छन् भने श्रीमती महतो राज्यमन्त्रीसरहको सुविधाबापत मासिक ३५ हजार ६ सय रुपियाँ बुझ्छिन् । आफ्नै श्रीमान्लाई स्वकीय सचिव बनाएकामा राज्यमन्त्री महतो खुसी पनि छिन् । श्रीमान्लाई स्वकीय सचिव बनाउँदा काम गर्न सजिलो भएको उनको भनाइ छ । ‘म महिला हुँ । उमेर पनि धेरै भएको छैन । रातबिरात कार्यक्रममा जानुपर्छ । त्यसैले श्रीमान्सँगै जाँदा मलाई सुरक्षित महसुस हुन्छ,’ राज्यमन्त्री महतोले भनिन्, ‘श्रीमान्लाई स्वकीय सचिव बनाउँदा हामी जहिले पनि सँगसँगै हुन्छौँ । रमाइलो छ, हाम्रो जीवन ।’
भीम महतोले भने आफ्नो नाम श्रीमतीसँग जोडेर नलेख्न आग्रह गरे । ‘म पति हुं र उहाँको स्वकीय सचिव पनि । तर, यो कुरालाई किन प्रचार गर्ने,’ उनले भने । आफ्नो कमाइबाट बचेको महिनाको पाँच हजार रुपियाँ पत्नीलाई दिने गरेको उनले बताए । तर, राज्यमन्त्री महतोले भने आफ्ना पति बेरोजगार भएकाले स्वकीय सविच बनाएको बताइन् ।
महतो मन्त्रीका स्वकीय सचिव हुनुभन्दा पहिले वीरगन्जस्थित त्रिवेणी टेक्सटाइलका डिजाइन मास्टर थिए । अहिले उनी ३६ वर्षका छन् र राज्यमन्त्री महतो ३२ वर्षकी । यो जोडीले गत माघमा आठ दिन फिलिपिन्स घुमिसकेको छ । फिलिपिन्स जाँदा राज्यमन्त्री महतोले पतिलाई पनि सँगै लगेकी थिइन् ।
राज्यमन्त्री महतो एकपटक मात्र विदेश भ्रमणमा जान पाएकामा आक्रोशित छिन् । ‘हामी एकपटक मात्र विदेश भ्रमण गर्न गयौं । मन्त्री हेमराज तातेडले भने १५ पटक विदेश भ्रमण गरिसक्नुभयो । यो कस्तो अन्याय हो ?’ राज्यमन्त्री महतोले भनिन् । वातावरण मन्त्रालयका कर्मचारी भन्छन्, ‘यो जोडी निकै मिलेको छ । उनीहरू सँगसँगै मन्त्रालय आउँछन् र सँगसँगै जान्छन् । श्रीमतीको काममा श्रीमान्ले सघाउने गर्छन् र श्रीमती जे-जे भन्छिन् खुरुखुरु मान्छन् । आज्ञापालक पिएले झै उनी पनि मन्त्रीका हरेक आदेश स्विकार्छन्, कहिल्यै कुनै विवाद गर्दैनन् ।
‘म पहिलोपटक मन्त्री भएँ । मन्त्रालय कसरी चलाउने भन्ने थाहा थिएन । त्यसैलै श्रीमान्लाई पिए बनाएँ,’ राज्यमन्त्री महतोले भनिन् । राज्यमन्त्री महतो र उनका पति दुवै मन्त्री तातेडसँग रुष्ट छन् । चार महिना बित्न लाग्दा पनि आफूहरूले केही काम गर्न नपाएको गुनासो राज्यमन्त्री महतोको छ । उनले राजीनामा पनि लेखेर राखेकी छन् । ‘मैले राजीनामा लेखेर राखेकी छु । एक दिन बुझाउँछु । यसरी कति दिनसम्म काम गर्ने,’ राज्यमन्त्रीले भनिन्, ‘म पनि केही काम गर्न पाऊँ भनेर अनुरोध गर्छु तर मन्त्रीले नै सबै काम गर्नुहुन्छ । म के गरूँ ?’
पर्साको २ नम्बर निर्वाचन क्षेत्रकी महतो मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद् हुन् । मन्त्रालयका कर्मचारी भन्छन्, ‘अहिले उनी नेपाली भाषा बोल्न सिक्दै छिन् ।’

प्रतिक्रिया