‘काठमाडौंमा फोटोकिपा एक्सपो’

काठमाडौँ, १ वैशाख । नेपालमा फोटोग्राफीको विकास गर्ने उद्देश्यले आजदेखि ३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा फोटोकिपा एक्सपो–२०१२ सुरु भएको छ ।

क्रियटिभ डि प्रालिले आयोजना गरेको सो एक्सपोमा दृश्य कैद गर्ने उद्योगसँग सम्बन्धित फोटोग्राफीका सबै क्षेत्रका ६० स्टल राखिएको छ ।

वरिष्ठ फोटोग्राफर बैकुण्ठमान मास्केले सो एक्सपोको उद्घाटन गर्दै नेपालमा फोटोग्राफीको राम्रो सम्भावना रहेको भए पनि त्यसको व्यापक प्रचार–प्रसार हुन नसकेको भन्दै एक्सपोमा सोसँग सम्बन्धित प्राविधिक विषय, नयाँ प्रविधि र उपकरणका बारेमा जान्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

एक्सपोलाई नेपाल फोटोग्राफ एसोसिएसनले सहयोग र अन्य फोटोग्राफीसम्बन्धी सङ्घ संस्थाले प्रायोजन गरेका छन् ।

प्रदर्शनी अवलोकन गर्न आउने दर्शक तथा विदेशी कम्पनीका नेपालस्थित आधिकारिक बिक्रेता र अन्तर्राष्ट्रिय फोटोग्राफीका विभिन्न प्रतिनिधिसँग विकसित प्रविधिकाबारेमा प्रत्यक्ष अन्तक्र्रियाको लागि व्यवस्था मिलाइएको छ ।

सो स्थलमा राखिने विभिन्न चर्चित व्यक्तिको तीनदर्जन फोटोका साथै फोटोग्राफीसम्बन्धी विभिन्न उपकरणको सुरक्षाको लागि २० वटा सीसी क्यामेरा र एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

प्रदर्शनी आयोजक समितिका अध्यक्ष राजभाई सुवालले फोटोग्राफी पेसालाई व्यवसायिक मर्यादित बनाउन सो प्रदर्शनीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रदर्शनीमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउनुभयो ।

एक्सपोमा पुराना फोटोग्राफर लक्ष्मीराज मानन्धर, बखतबहादुर चित्रकार, सरद राई, मन्जुकुमार श्रेष्ठलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया