‘विखण्डनमा हस्ताक्षर गर्दिन’

काभ्रे, १ बैशाख । राष्ट्रपति रामवरण यादवले नयाँ संविधान जारी गर्दा देशलाई विखण्डन हुने गरी राज्य पुनर्संरचना गरियो भने राष्ट्रप्रमुखको हैसियतमा आफूले हस्ताक्षर नगर्ने बताएका छन् ।

काभ्रेको कानपुरमा आज आयोजित कार्यक्रममा यादवले संविधान जारी गर्न ४५ दिन मात्रै बाँकी हुँदा प्रमुख दलहरुले शान्ति र संविधान निर्माणको कामलाई गति दिएकाले जेठ १४ भित्रै संविधान जारी हुने विश्वास व्यक्त गरे ।

‘नेपाल बहुजाति, भाषा, धर्म, संस्कृतिको देश भएकाले विखण्डन हुने संविधान नेपालीलाई मान्य हुन सक्दैन’, राष्ट्रपति यादवले भने ।

६० वर्ष देखि नेपाली जनताले लोकतन्त्रका लागि लडिरहेको स्मरण गराउँदै राष्ट्रपति यादवले २०६२, २०६३ को जनआन्दोलन, दलहरुले गरेको १२ बुँदे देखि ७ बुँदेसम्मको सम्झौताले परिवर्तनलाई संस्थागत गर्ने आधार बलियो भएको बताए ।

प्रमुख दलहरु माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चालाई सहमतिका आधारमा अखण्डता, एकता, सम्प्रदाय, भाषा संस्कृति, धर्म जोगाउने खालको संविधान बनाउन आफूले समन्वयको भूमिका खेलिरहेको राष्ट्रपति यादवको भनाई थियो ।

राष्ट्रपति यादवले कालिका मन्दिर र वौद्ध गुम्वाहरुमा शान्ति  र संविधान निर्माणका लागि आर्शिवाद मागेको बताए ।

प्रतिक्रिया