“कामचलाउ”हरूले भरियो त्रिभुवन विश्वविद्यालय

काठमाडौं, ३० चैत । त्रिभुवन विश्वविद्यालयका अधिकांश अध्ययन संस्थान र संकाय ‘निमित्त’का भरमा चलेका छन् । योग्य र सक्षम व्यक्ति हुदाहुदै पनि त्रिविले पछिल्लो समय डिनदेखि क्याम्पस प्रमुखसम्मका पदमा ‘निमित्त’ मात्रै नियुक्त

गरेको छ ।
प्राध्यापक संघ÷संगठनले भने लेनदेनमा हिसाब नमिलेका कारण ‘निमित्त’ मात्रै नियुक्त गरी विश्वविद्यालय ध्वस्त पार्न लागेको आरोप लगाएका छन् । त्रिविमा चार संकाय र पाच अध्ययन संस्थान छन् । तीमध्ये अधिकांशमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । पछिल्लोपटक २६ चैतदेखि लागू हुनेगरी तीनजना निमित्त डिन नियुक्त भएका छन् । कानुन संकायमा प्रा.डा. विद्याकिशोर राय, व्यवस्थापन संकायमा प्रा.डा. पुरुषोत्तम शर्मा र वन विज्ञान अध्ययन संस्थानमा प्रा. चिरञ्जीवीप्रसाद उपाध्याय निमित्त डिनमा नियुक्त भएका हुन् ।
कार्यकाल सकिएका दुई डिनलाई पनि अर्को व्यवस्था नहुन्जेल निमित्तको जिम्मेवारी दिइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. अरुण सायमी र शिक्षाशास्त्र अध्ययन संस्थानका प्रा.डा. प्रकाशमान श्रेष्ठलाई अर्को व्यवस्था नहुन्जेललाई प्रमुखको जिम्मेवारी दिइएको छ । त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका प्रमुखसमेत निमित्त नै नियुक्त गरिएका छन् । केन्द्रको प्रमुखमा २६ चैतदेखि लागू हुनेगरी निमित्त कार्यकारी निर्देशक बालमुकुन्द भण्डारीलाई नियुक्त गरिएको छ ।
त्रिवि स्रोतका अनुसार त्रिविका डेढ दर्जन आंगिक क्याम्पसमा नियुक्त क्याम्पस प्रमुखसमेत निमित्त नै छन् । पछिल्लोपटक भैरहवा बहुमुखी क्याम्पसमा घनश्याम न्यौपाने, महेन्द्र बिन्देश्वरी क्याम्पस राजबिराजमा देवनारायण यादव र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा लिपक रेग्मीलाई निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ । सानोठिमी क्याम्पसमा नरप्रसाद थापालाई भने कन्फर्म क्याम्पस प्रमुख नियुक्त गरिएको छ ।
त्रिविले केही विभागीय प्रमुख र क्याम्पस प्रमुखलाई निर्णय मितिभन्दा पहिलेदेखि नै लागू हुनेगरी नियुक्ति दिएको छ । कम्प्युटर विज्ञान तथा सूक्ष्म प्रविधि केन्द्रीय विभाग, वनस्पतिशास्त्र केन्द्रीय विभाग, भूगर्भशास्त्र केन्द्रीय विभाग, संस्कृत केन्द्रीय विभागका प्रमुखलाई पहिलेदेखि लागू हुनेगरी नियुक्ति दिइएको छ । उनीहरूलाई १ चैतदेखि लागू हुनेगरी नियुक्ति दिइएको हो । १७ चैतदेखि लागू हुनेगरी कन्फर्म क्याम्पस प्रमुख भएकामा गोरखा क्याम्पस, सिद्धनाथ विज्ञान, पब्लिक युथ, शंकरदेव, रत्नराज्यलक्ष्मी क्याम्पसका छन् ।
स्रोतका अनुसार सबै पक्षलाई समेट्न नसके विवाद आउने भएकाले निमित्तमा धेरैलाई नियुक्त गरिएको हो । त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले समय छोटो भएकाले धेरै क्याम्पस प्रमुखमा निमित्त नियुक्त गरिएको बताए । उनले भने, ‘नामै निमित्त छ, त्यसैले धेरै समय निमित्त रहदैन ।’
नेपाल प्राध्यापक संघका महासचिव रामेश्वर उपाध्यायले लेनदेनमा हिसाब नमिलेकाले निमित्त नियुक्त गरेर विश्वविद्यालय ध्वस्त पार्न लागेको आरोप लगाए । ‘निमित्त नियुक्त गरेर विश्वविद्यालयलाई तहसनहस गर्ने भए, विश्वविद्यालयलाई गोठ बनाउदै छन्,’ उनले भने, ‘राम्रा मान्छे खोजेका छैनन् ।’ उनले निमित्तलाई पूरा अधिकार नहुने भएकाले राम्रो काम हुन नसक्ने दाबी गरे ।

प्रतिक्रिया