पुस ०६८ को तथ्यांकअनुसार देशमा हाल सञ्चालित ३२ वटा वाणिज्य बैंक, ८८ वटा विकास बैंक, ७८ वटा वित्त कम्पनी, २२ वटा लघुवित्त कम्पनी, १६ वटा सहकारी संस्था र ३७ वटा गैरसहकारी संस्था गरी जम्मा दुई सय ७३ वटा संस्था रहेका छन् । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको कुरा गर्ने हो भने काठमाडौं उपत्यकाबाहिर सबैभन्दा बढी केन्द्रीय कार्यालय रहेका संस्था भनेका विकास बैंक नै हुन् ।
विकास बैंकहरूले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सहरी, अर्धसहरी, ग्रामीण, हिमाल, पहाड र तराईका जनतालाई बैंकिङ सेवाको दायरामा समेट्न सफल भएका छन् । सम्बन्धित क्षेत्रमा आर्थिक गतिविधिको विस्तार हुनाका साथै स्थानीय स्तरमा सक्दो रोजगारीको सिर्जना गर्न पनि सफल भएका छन् । भौगोलिक विकटता भएको ठाउँमा विगतमा रेमिट्यान्स लिन आमजनतालाई दुईदेखि तीन दिनसम्म सदरमुकाम हिँडेर संकलन गर्नुपथ्र्यो भने आजभोलि बैंक तथा वित्तीय संस्थाको विस्तारले गर्दा आमनागरिक विगतको जस्तो कठिनाइ भोग्न बाध्य छैनन् । सहजै आफ्नो घरदैलो वा छिमेकमा खुलेका बैंक तथा वित्तीय संस्थाबाट सेवा प्राप्त गरिरहेका छन् । नेपालीहरूको प्राप्त रेमिट्यान्सको ९४ प्रतिशत अंश उपभोगमा खर्च भइरहेको छ । तिनले त्यसको ६ प्रतिशत मात्र बचत गरिरहेका छन् भन्ने विवरण एक अध्यनले देखाएको छ । यदि हामीले प्राप्त गरेको रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने आर्थिक विकास र विस्तारमा मुलुककै कायापलट हुनसक्नेमा कसैको दुई मत नहोला ।
बैंक तथा वित्तीय संस्था भनेका मुलुकका आर्थिक उत्थानका प्रतिविम्ब हुन् । स-सानो कर्जादेखि मझौला खालका उद्योग व्यवसाय र हाइड्रोपावर क्षेत्रमा विकास बैंकहरूले कर्जा लगानी गर्दै आइरहेका छन् । स्थानीय स्तरमा स्रोत परिचालन गरी बचतमा आर्कषक ब्याज पनि प्रदान गरिरहेका छन् । वास्तवमा भन्ने हो भने विकास बैंक नेपाली नागरिकका लागि आर्थिक उन्नतिका सारथी बनेका छन् । राष्ट्रले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिलेे गर्दा र नेपाल राष्ट्र बैंकको अभिभावकीय नेतृत्वले गर्दा बैंक तथा वित्तीय संस्थाको विस्तार राम्ररी भएको हो भन्न सकिन्छ ।
ग्रामीण क्षेत्रमा विकास बैंकहरू सबैभन्दा बढी ३३.४ प्रतिशत शाखा सञ्चालन गरी प्रथम स्थान ओगट्न सफल भएको छन् भने दोस्रो स्थानमा वाणिज्य बैंकहरू ११.५ र वित्त कम्पनी ८.९ प्रतिशत गरी तेस्रो स्थान ओगट्न सफल भएका छन् । त्यसैगरी निक्षेपका दृष्टिले ग्रामीण क्षेत्रको निक्षेप १५.४ प्रतिशत संकलन गरी विकास बैंक प्रथम स्थान ओगट्न सफल भएको छ । वाणिज्य बैंक ३.५ प्रतिशत संकलन गरी दोस्रो र वित्त कम्पनी २.३ प्रतिशत गरी तेस्रो स्थान ओगटेको छ ।
ग्रामीण क्षेत्रमा कर्जा प्रवाहको दृष्टिकोणले पनि विकास बैंक सबैभन्दा अब्बल रहेका छन् । विकास बैंकले ग्रामीण क्षेत्रमा ११.१ प्रतिशत कर्जा प्रदान गरी प्रथम स्थान ओगट्न सफल भएको छ भने १.२ प्रतिशत कर्जा लगानी गरी दोस्रो स्थान ओगटेको छ भने वित्त कम्पनीले १.० प्रतिशत कर्जा लगानी गरी तेस्रो स्थानमा रहेको देखिन्छ । यस तथ्यांकबाट पुष्टि के हुन्छ भने विकास बैंकहरूका ग्रामीण क्षेत्रमा बढी शाखा सञ्चालित छन् भने ग्रामीण क्षेत्रमा निक्षेप संकलन पनि बढी नै छ । विकास बैंकहरूले ग्रामीण क्षेत्रमा कर्जा लगानी पनि सबैभन्दा बढी गरेका छन् । यसर्थ ग्रामीण क्षेत्रको विकासमा विकास बैंकहरूको अग्रणी भूमिका रहेको भन्नुमा अतिशयोक्ति नहोला ।
प्रतिक्रिया