मीठो सपना नमीठो बिपना

चौध वर्षको उमेरमा राजनीतिमा प्रवेश गर्दा टंक कार्कीलाई विश्वास थियो- जनताका सारा समस्याको हल यही बाटोबाट सम्भव छ । ३५/३६ सालतिरका सक्रिय विद्यार्थी नेता उनी अहिलेचाहिँ सबै जिम्मेवारीबाट फुर्सदिला छन्, आमनागरिक जस्तै । उनी अनेरास्ववियुको अध्यक्ष हुँदाताकाका कार्यकर्ताको राजनीतिक हाइट धेरै माथि पुगिसकेको छ । अहिले उनीसँग कुनै राजनीतिक जिम्मेवारी छैन तर गुनासो पनि छैन । सुनाउँछन्- ‘समयले कसलाई कहाँ पुर्‍याउँछ, यो सामान्य कुरा हो, पढाएका विद्यार्थी कहाँ-कहाँ पुग्छन्, गुरु सधैँ स्कुल वा कलेजमै रहन्छ ।’  चीनबाट राजदूतको जिम्मेवारी पूरा गरी फर्किएका कार्कीका दिन प्रायः घरमै बितिरहेका छन् ।  ‘तर म दिनभरि त्यत्तिकै बस्दिनँ, किताब पढ्छु, लेख्छु’ -यसै गरेर जिन्दगीलाई चित्त बुझाउँछन् रे ! राजनीतिमा पदार्पण गर्दा उनीसँग मुलुक परिवर्तनको मीठो सपना थियो । आज भन्न थालेछन्- ‘सपना देख्नजति सजिलो विपनामा हुँदो रहेनछ ।’
टंकको आत्मविश्लेषणमा उनी कर्म गर्ने मान्छे हुन्, जो परिणामको आशा गर्दैन । व्यवहारमा शून्य लाग्ने आदर्शवादी वाणीको कुनै अर्थ हुँदैन । व्यवहारले गाइड गर्न नसकेको आदर्श ‘पाखण्डी’ मात्रै हुन्छ । वर्तमानले इतिहासलाई बिर्सन नहुने उनलाई लाग्छ । एउटा चिनियाँ उखान सुनाए- ‘पानी खाँदा कुवा बनाउने व्यक्ति बिर्सन हुँदैन ।’
फुर्सदिलो दैनिकीबाट सिंहदरबारतिर आँखा डुलाउँदा उनी अहिलेको राजनीति सकारात्मक दिशातर्फ अगाडि बढिरहेको देख्दा रहेछन् । तैपनि पार्टीहरूबीचको कलह उनलाई बिझिरहन्छ । एमालेलाई तुलनात्मक रूपमा कलह कम भएको पार्टी मान्छन् ।  ०४६ को परिवर्तनपछि नेपालको राजनीतिले पृथक रूप धारण गरेको उनले बुझेका छन्, जुन स्वाभाविक मान्छन्- ‘नयाँ युगका मूल्यमान्यतालाई पुरानै युगमा बसेर परिभाषित गरिरहनु उचित होइन । समाजमा हुने हरेक परिवर्तन मान्छेले आफसेआफ अनुभूत गर्छ नै, जुन रोकेर रोकिँदैन ।’
०२८ सालमा ६ दिन जेल बसेर छुटेका उनीसँग राजनीति गरेबापत आधा दर्जनचोटि जेल पुगेको अनुभव छ ।  अनि उनी अलि बढी नै ‘क्रान्तिकारी’ पनि मानिए कि ! के यही स्वभावले उनलाई वर्तमानमा ‘राजनीतिक जिम्मेवारी’ बाट टाढा राखेको हो त ? जे होस् उनको त्यो स्वभाव अझै ‘अचल’ देखिन्छ । अझै पनि नेकपा एमाले भित्र ‘क्रान्तिकारी संस्कृति’ उपेक्षित भइरहेको देख्दा रहेछन् । हिजोको ‘बन्द समाज’ लाई हेर्दा उनलाई त्यो क्रान्तिकारिता स्वाभाविक लाग्छ- ‘आजको खुला परिदृश्यबाट तात्कालिक गतिविधि अनि विचार बढी क्रान्तिकारी देखिन सक्छन् ।’
चीनका लागि राजदूतको प्रस्ताव आउँदा उनको उत्साह निकै बढेको थियो- दुनियाँको सर्वाधिक आर्थिक विकास गरेको देशमा बसेर धेरै सिक्न सकिन्छ । ‘यो आफैँमा चुनौती पनि थियो, जुन ग्रहण गर्दा आनन्दै लागिरहेको थियो’ -विगततिर फर्किए । चार वर्षे बसाइका क्रममा चीनले धेरै कुरामा उनको मन जितेछ । दुनियाँमा कसैले गर्न नसकेको विकासको दर्शन पाए रे ! सुनाउँछन्- ‘सामाजिक विभाजन त्यहाँ पनि छ, आर्थिक विषमता केही मात्रामा छ । यसका बाबजुद तीव्रतासाथ समाज अगाडि बढाउन सक्नु एकदमै सकारात्मक पक्ष हो । सिंगो समाज अगाडि बढ्नु नै विकासको प्रतिफल उत्सर्जन हुनु हो ।’
एकाध घटनाबाहेक पछिल्ला साठी वर्षमा चीनको राजनीति स्थिर छ । नेपालमा चाहिँ विगत १५ वर्षपछिकै अवधिमा पनि जनता अत्यधिक अस्थिर राजनीतिको सिकार भइरहेछन् । नेपाली जनताको यस्तो नियति विगतमा कहिल्यै देखेका थिएनन् रे उनले । ‘चिनियाँ जनताले सांस्कृतिक क्रान्तिको समयबाहेक त्यस्तो अस्थिरता भोग्नै परेको छैन, चीनको विकासक्रम इतिहासको गर्भमा लुकेको गाडधनजस्तो लाग्छ’ -उनी विश्लेषण गर्छन् । त्यसैले त चीनमा रहँदा पटकपटक चुकचुकाएका छन् उनी- नेपाल पनि यस्तै हुँदो हो त…!
नेपालमा राजनीतिक नेतृत्वलाई मूल समस्या मान्छन् उनी, जुन नेतृत्वसँग परिवर्तित युगका मूल्यमान्यता अनि सम्भावनालाई महसुस गर्न सक्ने क्षमताको अभाव छ । काम नलाग्ने व्यवस्था त फालिसकियो तर यसपछिको व्यवस्थापन चुस्त हुन सकेको छैन । जिम्मेवार ठाउँमा बसेकाहरूले त अरू देशकै प्रगति देखेर पनि सिक्नुपर्ने हो तर खोइ… ? ‘कल्पनाले होइन, सम्भाव्य वस्तुस्थितिलाई व्यवहारमै पहिचान गरेर मुलुकका साधनस्रोतलाई इमानदारीसाथ कार्यान्वयनमा लगाउने हो भने हाम्रो देश पक्कै समृद्ध हुनेछ’ -उनको विश्वास यस्तो छ ।

प्रतिक्रिया