मोबाइलमा अश्लील बोल्दा सार्वजनिक मुद्दा

महेन्द्रनगर, २९ चैत । अपरिचित युवती र महिलासँग मोबाइलमा अश्लील कुरा गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको छ ।
भीमदत्त नगरपालिका-३ राजीपुरका भुवन विष्ट र वडा नम्बर १४ का प्रकाश ऐडी तथा महेश ऐडीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बलराम विष्टले तीनैजनामाथि सार्वजनिक अपराध ऐनअन्र्तगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको बताए । प्रकाश र महेशले १५ चैतमा एक युवतीसित फोन गरी अश्लील शब्द बोलेका थिए । आफूलाई फोन गरी अश्लील शब्द प्रयोग गरेको युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये महेशले आफैँ पढिरहेको कलेजकी छात्रालाई राति फोनमा अश्लील शब्द प्रयोग गरेका थिए ।
यस्तै, विष्टले एक साताअघि मोबाइलबाट फोन गरी विवाहित महिलालाई अश्लील शब्द प्रयोग गरेका थिए । ‘विष्टका शब्द रेकर्ड गरेका छौँ,’ उनले भने, ‘ती शब्द एकदमै अश्लील छन् ।’ अविवाहित भुवनले महिलाका पति घरबाहिर भएका बेला राति फोन गर्ने गरेका थिए । ती महिलालाई नै प्रयोग गरेर प्रहरीले विष्टलाई पक्राउ गरेको हो । मोबाइलबाट धम्कीभन्दा पनि अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उजुरीकर्ता युवती तथा महिला छन् ।

प्रतिक्रिया