परिस्थिति जन्य बाध्यताः कोइराला

काठमाडौ, २९ चैत । कांग्रेसका सभापति सुशील कोइरालाले लडाकुलाई सेनाको जिम्मा लगाउने कुरा परिस्थिति जन्य बाध्यता भएको टिप्पणी गरेका छन् ।

उनले अब यसमा फेरि बाधा अडचन आउन नहुने बताएका छन् । यद्यपि कोइरालाले अब फेरि शान्ति प्रक्रियामा अवरोध आए त्यसले माओवादी र मुलुक कसैको पनि हित नगर्ने चेतावनी दिए ।

आफ्नै निवासमा महाराजगञ्जमा आज रिपोर्टर्स नेपालको ज्ञापन पत्र बुझेपछि सञ्चारकर्मीसंगको कुराकानीमा कोइरालाले माओवादी लडाकु, हतियार र शिविर नेपाली सेनाको जिम्मामा दिने विशेष समितिको निर्णयलाई सकारात्मक ब्रेक थु्रको संज्ञा दिए । उनले भने, ‘अहिलेको जस्तो निर्णय पहिला नै माओवादीले गर्न सकेको भए अहिलेको जस्तो जटिल परिस्थित मुलुकमा आउँदैन थियो ।’

उनले जेठ १४ अघिनै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताए ।
उनले कांग्रेसको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारले संविधान निर्माण कार्यलाई सहज बनाउने बताएका छन् । कोइरालाले भने, ‘कांग्रेस नेतृत्वमा सरकार बने दलहरुवीच विश्वासको बातावरणलाई अझै मजबुत बनाउँछ ।’

यद्यपि उनले अब फेरिपनि बहुमतीय सरकार बनाउने कुराप्रति भने असहमति प्रकट गरे ।

आफूलाई सरकारको नेतृत्वको कुनै मोह नभएको स्पष्ट पार्दै सभापति कोइरालाले कांग्रेसबाट सरकारको नेतृत्व कस्ले गर्छ भन्ने कुराका निर्णय केन्द्रीय समितिले गर्ने बताए ।

प्रतिक्रिया