सातौं डिभिजनका लडाकुहरुले हतियार बुझाए

कैलाली, २९ चैत । जनमुक्ति सेनाको सातौं डिभिजन कैलालीले विशेष समितिको मातहतमा रहने गरी आज नेपाली सेनालाई सम्पूर्ण हतियार र अन्य भौतिक सामाग्री बुझाएको छ ।
विशेष समितिको निर्णय पछि मंगलबार नै लडाकु रहेको शिविरहरुमा पुगेको नेपाली सेनाको टोलीलाई आज विधिवत रुपमा जनमुक्ति सेनाले हतियार र अन्य भौतिक सामाग्री बुझाएका हुन् । सातौं डिभिजनका सहयाक कमाण्डर नेपबादुर चौधरीले तालबन्दस्थित मुख्य शिविरको सुरक्षाका लागि राखिएका २९ नाल, लिस्नेगाम स्मृति ब्रिगेड बडैपुर र लोकेश स्मृति ब्रिगेड गोरंङ्गको सुरक्षाका लागि राखिएको १५÷१५ नाल बन्दुक र त्यसस“ग रहेका कार्टुस सेनालाई बुझाए ।
त्यसैगरी, सातौं डिभिजनमा रहेका दुईवटा कन्टेनरका ३ सय ४९ नाल हतियार समेत सेनाको जिम्मा दिइएको छ । हतियार बुझि सकेपछि महासेनानी सुवर्णबहादुर शाहले अब नेपाली सेना तालबन्द र दुई वटा सहयाक शिविरमै बस्ने बताए । उनले तालबन्दको सुरक्षाका लागि मेजर शमशेरबहादुर सिंहको नेतृत्वमा १ सय ३०, गोरंङ्गेमा मेजर राजन केसीको नेतृत्वमा ५० र बडैपुरमा क्याप्टन गोविन्द विष्टको नेतृत्वमा ५० जना नेपाली सेना खटाइएको बताए ।
आज हतियार बुझाउने र लडाकुलाई नेपाली सेनाको मातहत ल्याउने काम भइरहेकाले लडाकुहरुको पुनःवर्गिकरण भोलिबाट मात्रै शुरु हुने सेना समायोजन विशेष समितिका सदस्य गोपालसिंह बोहराले बताए ।
यसैबीच, स्वेच्छिक अवकाशमा जाने लडाकुहरुले आफ्नो व्यक्तिगत सामानहरु, लुगा, सुत्ने खाट, टेबुल तथा कुर्सीहरु लिएर धमाधम शिविरबाट बाहिर निस्कन थालेका छन् । तीनवटा शिविरमा रहेका १७ सय ६२ लडाकु मध्ये पछिल्लो समयमा समायोजन भन्दा स्वेच्छिक अवकाश रोज्ने लडाकुहरुको संख्या धेरै रहेका छन् ।

प्रतिक्रिया