नाकाबन्दीले असर गर्दैन

तेहरान, २८ चैत । इरानी राष्ट्रपति महमुद अहमदिनेजादले कच्चा तेल निर्यात नगरीकनै अर्थतन्त्र सुचारु राख्न इरान सक्षम रहेको बताएका छन् । अमेरिका र युरोपेली संघले इरानविरुद्ध प्रतिबन्ध लगाएपछि जवाफमा इरानले युरोपेली मुलुक गि्रसलाई तेल बिक्री नगर्ने निर्णय गरेलगत्तै राष्ट्रपति अहमदिनेजादले यस्तो बताएका हुन् । ‘पश्चिमी जगत्ले हाम्रो तेलमाथि प्रतिबन्ध लगाउन चाहिरहेको छ,’ अहमदिनेजादले मंगलबार भने, ‘तर, यसले हामीलाई कुनै असर गर्दैन । हामीसँग पर्याप्त रकम मौज्दात छ र यसबाट हम्रो अर्थतन्त्र राम्रोसँग सुचारु हुन सक्छ ।’
तेल निर्यातक राष्ट्रहरूको समूह ओपेकमा सबैभन्दा बढी तेल उत्पादन गर्ने राष्ट्रमध्ये इरान दोस्रो हो । इरानले वाषिर्क ८० अर्ब डलर बराबरको तेल निर्यात गर्दै आएको छ । यो रकम इरानको कुल वैदेशिक राजस्वको करिब ८० प्रतिशत हो । तेल निर्यातबाट आएको रकमले इरानको वाषिर्क बजेटको करिब ६० प्रतिशत भाग ओगट्ने गरेको छ ।
युरोपेली संघले जनवरीमा इरानी तेल आयात नगर्ने निर्णय गरेको थियो । इरानको कुल तेल निर्यातको करिब १८ प्रतिशत संघमा आबद्ध राष्ट्रमा खपत हुने गरको छ । संघले घोषणा गरेको प्रतिबन्ध आगामी महिनादेखि लागू हुने भएकाले त्यस अगावै इरानले युरोपेली मुलुकविरुद्ध तेल प्रतिबन्ध लगाउन लागेको छ । आर्थिक संकटग्रस्त मुलुक गि्रसमा तेल निर्यात बन्द गरेर इरानले सम्पूर्ण युरोपमाथि दबाब सिर्जना गर्न खोजेको छ । गि्रसलाई टाट पल्टिन नदिई युरोपेली अर्थतन्त्रलाई संकटबाट जोगाउन फ्रान्स, जर्मनीलगायत युरोपेली मुलुक लागिपरेकै बेला इरानले लगाएको प्रतिबन्धले युरोपलाई अप्ठेरोमा पार्नसक्ने विश्लेषण गरिएको छ ।
इरानमा जारी परमाणु कार्यक्रमप्रति आपत्ति जनाउँदै पश्चिमी मुलुक इरानविरुद्ध खनिएका हुन् । इरानको परमाणु कार्यक्रम परमाणु हतियार निर्माणतर्फ उन्मुख भएको आरोप पश्चिमी राष्ट्रहरूले लगाउँदै आएका छन् । तर, इरानले भने ऊर्जाको बढ्दो माग कम गर्न परमाणु कार्यक्रम जारी राखिएको दाबी गर्दै आएको छ । ‘परमाणु कार्यक्रम इरानको अधिकार हो, यो अधिकार उल्लंघन गर्ने राष्ट्रलाई सशक्त जवाफ दिइनेछ,’ राष्ट्रपति अहमदिनेजादले भने । -एजेन्सी

प्रतिक्रिया