बैद्य समूह आन्दोलित

काठमाडौं, २८ चैत । सेना समायोजन बिशेष समितिले लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउने निर्णय बिरुद्ध एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले बिरोधमा आन्दोलन घोषणा गरेको छ ।

बैद्य समूहका केन्द्रीय नेताहरुको कुपण्डोलमा आज बेलुका बसेको बैठकले लडाकु र हतियार रहेका कन्टेनर नेपाली सेनालाई बझाउने निर्णय आत्मसमर्पणवादी भएको आरोप लगाएको छ ।

बैठकले भोली बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गर्ने निर्णय गर्दै विहान दस बजेदेखि ११ बजे सम्म मुलुकभर एक घण्टा चक्का जाम गर्ने निर्णय गरेको सचिव सीपी गजुरेलले जानकारी दिए ।

सात बुँदे सहमतिको पनि पालना नभएको भन्दै गजुरेलले क्रान्तिप्रति विश्वासघात भएको जनाएका छन् । उनले लडाकुलाई आत्मसमर्पण गरिएको भन्दै खेद समेत व्यक्त गरेका बताए ।

उता, प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई आफ्नै कार्यालयमा बोलाएर लडाकुका शिविरको जिम्मा लिन निर्देशन दिएका थिए । उनले लडाकु समायोजन गराउन भन्दै शिविरको सुरक्षा दिन समेत निर्देशन दिए ।

प्रतिक्रिया