नेपाली सेना शिविरमा

दाङ, २८ चैत । मंगलवारदेखि सुरु भएको माओवादी सेना पुनःवर्गिकरणको काम स्थगित भएको छ । माओवादी भित्रको आन्तरिक विवादका कारण पुनःवर्गिकरण र शिविर खाली गर्ने काम स्थागित भएको छ ।

उमेरको हदबन्दी नाघेका वाहेक समायोजन रोजेका सवै लडाकुहरु समायोजन प्रकृयामा लिनु पर्ने माग लडाकुहरुले राख्न थालेपछि विभिन्न शिविरमा वर्गिकरणको काम प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैविच शिविर मुख्यालय र सहायक शिविरहरु नेपाली सेना र सशस्त्र प्रहरी वललाई जिम्मा लगाउने निर्णय अनुसार दाङ र रोल्पाको लिवाङबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोली रोल्पास्थित माओवादी सेनाको पाँचौ डिभिजन मुख्यालय र सहायक शिविर पुगिसकेका छन् ।

रोल्पाको दहवनस्थित पाँचौं डिभिजनका लडाकुहरुमध्ये ९४ जनाले उमेर हदबन्दीका कारण स्वेच्छिक अवकास रोजेका छन । मंगलवार स्वेच्छिक अवकास रोज्नेमा ९० पुरुष र ४ महिला लडाकु रहेका छन ।

दहवन पुगेको वर्गिकरण टोलीले मंगरवारदेखि पुनःवर्गीकरणको कार्य थालनी गरेको थियो । दलीय सम्झौताअनुसार ६ हजार ५ सय लडाकुलाई मात्र समायोजन गर्ने भएकाले पुनः वर्गिकरण गरी घटाउन थालिएको हो ।

पुनःवर्गिकरणका लागि शसस्त्र बलका डिआइजी देवेन्द्र सुव्बाको नेतृत्वमा प्राविधिक टोलीसहित १२ जनाको टोली रोल्पाको पाँचौं डिभिजन दहवन पुगेको छ । नेपाली सेनाको मापदण्डअनुसारको उमेर पार भएकाले उनीहरुले बाध्यकारी स्वेच्छिक रोज्नु परेको लडाकुहरुले वताएको छ ।

सातौं डिभिजनमा नेपाली सेना

-दीपक ओली

कैलाली, २८ चैत । जनमुक्ति सेनाको कैलालीस्थित सातौं डिभिजन अन्तरगत मसुरियामा नेपाली सेनाको गएको छ । अत्तरियास्थित नम्बर ५ बाहिनी तेघरीबाट सेनानीको नेतृत्व उक्त टोली शिविर तर्फ गएको हो ।

सेनानी शमशेर सिंहको नेतृत्वमा गएको एक सय २६ जनाको सेनाको टोलीले माओवादी लडाकु, हतियार तथा कन्टेनरको जिम्मा लिने बताइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले माथिको निर्देशन बमोजिम नेपाली सेना जनमुक्ति सेनाको शिविरमा पठाएको बताए ।

नेपाली सेनाको टोली अहिले माओवादी लडाकाले शिविर बाहिर तैथान रहेको छ । त्यहा जनमुक्ति सेनाको आन्तरिक बैठक बसिरहेको र कुन शिविरमा कति जना नेपाली सेनाको टोली खटिने भन्ने यकिन नहुदा सेनाको टोली शिविर बाहिर बसेको हो ।

त्यसअघि भने मसुरियामा रहेको लिस्नेगाम स्मृति ब्रिगेड बडैपुरमा समायोजनमा जाने र स्वेच्छिक अवकाश रोजेका लडाकु बीच सामानका बारे केही बेर तनाब भएको थियो । स्वेच्छिक अवकाश रोजेका लडाकुहरुले शिविरबाट सामान बाहिर लिन खोजपछि दुबै पक्ष बीच केही बेर तनाव भएको थियो ।

स्वेच्छिक अवकाश रोजेका लडाकुहरुले सो शिविरमा रहेका चारवटा टहरा तोडफोड गरेका छन् । उनीहरुले नेपाली सेनाले नापतौल गरेर समायोजन गर्ने भनेपछि आक्रोसित भई तोडफोड गरेको बताएका छन् । यो शिविरमा अझै तनाव हुन सक्ने भन्दै शिविर बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैथान गरिएको छ ।

सातौं डिभिजनमा अहिले १७ सय ६२ जना लडाकु छन् । त्यस मध्ये १ सय ११ जना मात्रै महिला छन् । कैलालीमा रहेका तीन वटा शिविर  अन्तरगत सातौं डिभिजनका लडाकुहरु मुख्य शिविर तालबन्द, लिस्नेगाम स्मृति ब्रिगेड बढैपुर र लोकेश स्मृति ब्रिगेड गोरुङ्गेमा बसिरहेका छन् ।

शक्तिखोरमा पनि नेपाली सेना

-प्रतिमा सिलवाल

चितवन, २८ चैत । सेना समायोजन विशेष समितिले मंगलबारदेखि लडाकुको रेखदेख सेनाले गर्ने निर्णय गरेपछि माओवादी तेस्रो डिभिजन शक्तिखोरमा भरतपुर ब्यारेकबाट सेनाको टोली पुगेको छ ।

भरतपुर ब्यारेकका गणपति ज्योतेन्द्र महतको नेतृत्व एक बटालियन सेना शिविर पुगेको हो । ‘यहाको सुरक्षा अवस्था हेरेर सेनाको टोली आईसक्यो ।’ गणपति महतले भने । शिविरको सुरक्षाको सबै जिम्मा अहिले एक बटालियनले सक्ने भएकोले सेना शिविर पुगेको बताए ।

कमाण्डरहरु सम्पर्कमै आउदैनन
अमृत गिरी

बुटवल, २८ चैत । नवलपरासी स्थित माओवादी लडाकुको चौथो डिभिजनको सुरक्षार्थ नेपाली सेनाको टोली मूख्यालय झ्यालटु∙डाडा र सहायक शिविर हात्तिखोरमा जाने भएको छ ।

मूख्यालयको सुरक्षाका लागि पाल्पामा रहेको चण्डिप्रसाद गण जाने भएको छ भने हात्तिखोरमा रहेको सहायक शिविरको सुरक्षाका लागि बज्रदल गण परासीको टोली जाने भएको छ । मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको बैठकले शिविरहरुको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेलगत्तै शिविरहरुमा नेपाली सेना खटाइएको हो ।

दुवै टोलि शिविरको सुरक्षाका लागि हिडेपनि मंगलवार अवेरसम्म शिविरमा आइनसकेको सेना समायोजन विशेष समितिका सदस्य सदानन्द कुर्मीले बताए ।

पुनःवर्गीकरण कार्यमा अघिल्लोपटक समायोजन रोजेका लडाकुहरुले स्वैच्छिक अवकास रोज्न थालेपछि पुनः वर्गीकरण कार्य  प्रभावित बनेको लडाकुहरुले बताएका छन् । कतिपय लडाकुले शिविरका समान आफैले लगेको तथा तल्लो तहका लडाकुहरुलाई  अवसर नदिइएके कतिपय लडाकुहरुले गुनासो गरेका छन् ।

उनीहरुले कमाण्डरसित गुनासा राख्न प्रयास गरेपनि मंगलवार अपरान्ह देखि कमाण्डरहरु सम्पर्कमा नआएको लडाकुहरुको गुनासो छ । बैतडी घर भएका कम्पनी कमाण्डर गोपालबहादुर ठगुन्नासहित ३२ जना लडाकुहरुले मंगलबार स्वैच्छिक अवकास रोजेका छन् । तीनजना महिला लडाकुसहित ३२ जनाले स्वैच्छिक अवकास रोजेका हुन् ।

प्रतिक्रिया