‘लडाकु बिवाद रोक्न प्रधानमन्त्रीलाई आग्रह’

काठमाडौँ, २८ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री बाबुराम भट्टराईसंग भेटगरी शिविरहरुमा भएका लडाकुबीचको तनाव र प्रदर्शनका बारेमा छलफल गरेका छन् ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भेटबार्तामा सेना समायोजनलाई लिएर भएका शिविरहरुका प्रदर्शनका बिषयमा छलफल भएको हो । त्यस क्रममा अध्यक्ष दाहालले बिशेष समिति संयोजक समेत रहेका प्रधानमन्त्री भट्टराईलाई तत्काल स्वयच्छिक अबकाशमा देखिएको समस्या रोक्न आग्रह गरेका थिए ।

भेटमा चैत मसान्तसम्म सेना समायोजनको काम सक्ने भन्ने राजनीतिक दलहरूका बीचमा सहमति भए पनि दर्जा, तालिम अवधि, ब्रिज कोर्ष तथा छनोट समितिमा रहने प्रतिनिधिहरूका विषयमा असहमति कायमै रहेको सन्दर्भमा त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिए ।

पार्टीभित्र देखिएको विवाद तथा मतभेदहरूलाई कसरी हल गर्ने र अरू राजनीतिक दलहरूसँग शान्ति प्रक्रिया तथा संविधान निर्माणका विषयमा के कस्तो अडान राख्ने भन्ने विषयमा समेत दाहाल र भट्टराई बीच छलफल भएको थियो ।

बिभिन्न अस्थायी शिविरहरुमा स्वयच्छिक अवकाशलाई लिएर लडाकुहरुले प्रदर्शन गर्नुका साथै बिरोध प्रदर्शन हुन थालेपछि अध्यक्ष दाहालले स्वयच्छिक अवकाशको काम तत्काल रोक्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया