वीरगन्ज बसपार्क अँध्यारोमा

वीरगन्ज, २७ चैत । वीरगन्ज उपमहानगरपालिकाले विद्युत् महसुल नतिरेपछि नयाँ बसपार्क तीन महिनादेखि बिजुलीविहीन भएको छ । उपमहानगरपालिकाले १६ लाख ६५ हजार रुपियाँ विद्युत् बक्यौता नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको हो ।
बसपार्कमा विद्युत् सेवा नहुँदा यात्रु, यातायात व्यवसायी, होटल सञ्चालक मारमा परेका छन् । नारायणी यातायात बस व्यवसायी संघका अध्यक्ष प्रमोद राउत कुर्मीले विद्युत् नभएपछि यातायातका साधनका सामान चोरी हुने क्रम बढेको बताए ।
विद्युत् नहुँदा बसपार्क परिसरमा रहेका एक सय पाँचवटा सटरमा व्यवसाय गर्ने पनि पीडित भएका छन् । उपमहानगरपालिकालाई मासिक एक हजार एक सय रुपियाँ भाडा दिएर सञ्चालनमा रहेका ग्यारेज, किराना पसल र होटल विद्युत् अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । ‘नियमितरूपमा भाडा तिरे पनि विद्युत्को अभाव भोग्नुपरेको छ,’ होटल सञ्चालक हरिशंकर पटेलले भने, ‘बसपार्कमा विद्युत् सेवा सुचारु गराउन उपमहानगरपालिकालाई आग्रह गरे पनि सुनुवाइ भएन ।’
वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाशमान अमात्यले बजेट अभावमा प्राधिकरणको बक्यौता तिर्न नसकेको बताए । ‘पैसाको जोहो गर्दै छौँ, हुनेबित्तिकै बक्यौता तिर्छौँ,’ उनले भने । बस व्यवसायी संघका अनुसार नयाँ बसपार्कबाट दैनिक तीन सय ६५ बस देशका विभिन्न स्थानका लागि छुट्छन् । विद्युत्को अभावमा यात्रु र यातायातकर्मीलाई बसपार्क असुरक्षित बन्दै गएका छन् । उपमहानगरपालिकाले दुई वर्षअघि १९ करोड ३६ लाख रुपियाँमा बसपार्कलाई सुविधासम्पन्न बनाउने योजना सार्वजनिक गरेको थियो । तर, विद्युत् महसुल तिर्न नसक्दा तीन महिनादेखि बसपार्क अँध्यारोमा रहेको छ ।

प्रतिक्रिया