थलिए पञ्चायतकालीन प्रधानमन्त्रीहरू

काठमाडौं, २७ चैत । पञ्चायतकालमा प्रधानमन्त्री बनेका व्यक्तिहरू अहिले रोगले थला परेका छन् । पूर्वप्रधानमन्त्रीहरू डा. तुलसी गिरी र कीर्तिनिधि विष्ट हिँडडुलसमेत गर्न नसक्ने गरी थला परेका छन् । मरिचमानसिंह श्रेष्ठको स्वास्थ्य पनि त्यति बलियो नभएको उनको पारिवारिक स्रोतले जनाएको छ । सूर्यबहादुर थापाको भने जोस नघटे पनि उनले नियमित औषधि खाइरहेका छन् ।
भारतको बंगलोरमा उपचार गराइरहेका डा. गिरीको स्वास्थ्य निकै कमजोर रहेको उनको छोरा अनुरागले बताए । डा. गिरी बैंगलोरको एपोलो अस्पतालमा निकै लामो समयसम्म उपचार गराएर हालै डिस्चार्ज भएका छन् । ‘बुबा अस्पतालबाट डिस्चार्ज हुनुभए पनि उहाँको स्वास्थ्य धेरै कमजोर भएको छ । हिँडडुल गर्न पनि गाह्रो भइरहेको छ,’ अनुरागले सौर्यसँग भने ।
डा. गिरी मुटुका रोगी हुन् । यसअघि पनि उनको मुटुको अप्रेसन भएको थियो । ८७ वर्ष पुगेका गिरी ६ महिनाअघि काठमाडौंबाट बैंगलोर पुगेका थिए । उनको उमेर धेरै भइसकेकोले फेरि अप्रेसन गर्न नसकिएको अनुराग बताउँछन् । उनकी कान्छी पत्नी सारासँगै छन् । डा. गिरीकी जेठी पत्नी मिनीको गत ३ माघमा निधन भएको थियो । जेठी पत्नीको निधनमा गिरीले नुन बारेका थिएनन् र समवेदना पनि पठाएका थिएनन् ।
‘आमाको निधनमा बुबा आउनुभएन । अहिले बुबा आफै बिरामी हुनुहुन्छ, यसले हामीलाई खल्लो महसुस गराएको छ’ अनुरागले भने । मिनी विगत केही वर्षदेखि जनकपुरमा बस्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार डा. गिरीको स्मरणशक्ति पनि कमजोर हुँदै गएको छ । काठमाडौंमा रहँदा उनले स्वास्थ्यले साथ दिए आत्मसंस्मरण लेख्ने बताएका थिए ।
यसैगरी पञ्चायतकालीन अर्का प्रधानमन्त्री विष्टको स्वास्थ्य पनि कमजोर हुँदै गएको छ । १९८३ सालमा जन्मिएका विष्टलाई पेटको क्यान्सरले सताएको छ । उनी केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पालमा भर्ना भएका थिए । ‘मेरा साथीहरू बितिसकेका छन् । म धन्न अहिलेसम्म छु,’ विष्टले भने, ‘तापनि भित्र-बाहिर, तल-माथि गरिरहेको छु । हेरौं कहिलेसम्म स्वास्थ्यले साथ दिँदोरहेछ ।’
उनी घरबाहिर जान सक्दैनन्, घरकै कम्पाउन्डमा सामान्य हिँडडुल गर्न मात्र सक्छन् । ‘अहिले मलाई १० वटा रोगले छोएको छ । कुन-कुन रोग भनौँ । एउटा उपचार गर्‍यो अर्को सुरु हुन्छ,’ स्वास्थ्यप्रति दिकदारी पोख्दै उनले भने । उनी महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र गरी तीनवटा राजाको पालामा पाँचपटक प्रधानमन्त्री बनेका थिए ।
गिरी र विष्टकै उमेरसमूहका सूर्यबहादुर थापाको भने जोस अझै घटेको छैन । ८५ बर्षीय थापा यसबेला राष्ट्रिय जनशक्ति पार्टीको जिल्ला अधिवेशनका लागि जिल्ला दौडाहामा छन् । ‘उहाँको स्वास्थ्य सामान्य छ । उहाँ अहिले जिल्लामा पार्टीको कार्यक्रममा व्यस्त हुनुहन्छ,’ थापाका प्रेस सल्लाहकार किरण गिरीले भने । मुटुको बाइपास सर्जरी गरेका थापाले नियमित औषधि खाने गरेका छन् ।
अर्का पूर्वप्रधानमन्त्री मरिचमान सिंह नियमित योग गर्छन् । उनको स्वास्थ्य पनि त्यति बलियो नभएको उनको पारिवारिक स्रोत बताउँछ । ७३ बर्षीय सिंह धापासीस्थित घरमा बस्छन् । नियमित चुरोट सेवन नगर्न डाक्टरहरूले सुझाब दिएको भए पनि उनले चुरोट तान्न भने छाडेका छैनन् ।

प्रतिक्रिया