अझै तिरिएन भाडा

काठमाडौं, २७ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी कार्यक्रममा जान हेलिकोप्टर प्रयोग गरेपछि उनको आलोचना भएको थियो । आलोचना मत्थर पार्न उनले भनेका थिए, ‘पार्टी कार्यक्रममा जान प्रयोग गरिएको हेलिकोप्टरको भाडा पार्टीले नै तिर्नेछ ।’
तर, आठ महिना बितिसक्दा पनि प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकोप्टरको भाडा तिरिएको छैन । प्रधानमन्त्रीले जिल्ला पार्टी कार्यक्रममा सहभागी हुँदा नेपाली सेना तथा निजी एयरलाइन्सको हेलिकोप्टर चढेबापतको ६० लाख रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ ।
प्रधानमन्त्री बनेलगत्तै भट्टराई पार्टीका सहिदलाई सम्मान गर्न भन्दै सेनाको एमआई-१७ हेलिकोप्टर चढेर गोर्खा पुगेका थिए । त्यसको एक दिनअघि मात्र सिमि्रक एयरको हेलिकोप्टर चढेर पार्टीकै कार्यक्रममा सहभागी हुन उनी सिन्धुली पुगेका थिए । प्रधानमन्त्री भएलगत्तै धमाधम सरकारी खर्चमा हेलिकोप्टर चढेर पार्टी कार्यक्रममा धाउन थालेको भन्दै त्यसको चौतर्फी आलोचना भएपछि संसद् राज्यव्यवस्था समितिले प्रधानमन्त्रीसँग स्पष्टीकरण मागेको थियो ।
सरकारी रकम दुरुपयोग गरेको विषयमा समितिले गत २६ भदौमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री भट्टराईले पार्टी कार्यक्रममा जाँदाको हेलिकोप्टर खर्च पार्टीले नै बेहोर्ने बताएका थिए । उनको भनाइ थियो, ‘त्यो रकम पार्टीले नबेहोरे म व्यक्तिगत रूपमा बेहोर्छु ।’ आफूले बाध्यतावश हेलिकोप्टर प्रयोग गरेको जिकिर गर्दै उनले त्यसका लागि राज्यकोष दुरुपयोग नगरेको दाबी गरेका थिए । प्रधानमन्त्रीले गोर्खा जाँदा प्रयोग गरेको हेलिकोप्टरको बिल तीन लाखभन्दा बढी तिर्नुपर्छ ।’ हेलिकोप्टर प्रयोग गरेको ६ महिना हँुदा पनि बिल भुक्तानी भएको छैन ।
विभिन्न पार्टपुर्जा जोडेर नेपालमै तयार गरिएको ‘मुस्ताङ म्याक्स’ गाडी चढेर आफ्नो कार्यकाल सुरु गरेका प्रधानमन्त्री भट्टराई सरकारी खर्चमा १५ भन्दा धेरै जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न हेलिकोप्टर चढेर पुगेका छन् । भट्टराईका एक स्वकीय सहसचिवका अनुसार जिल्लामा हुने कार्यक्रममा सहभागी हुन उनले आफू एक्लै नभई पार्टीका अन्य नेतालाई पनि सँगै लिएर जाने गरेका छन् ।
प्रधानमन्त्री चढेको हेलिकोप्टरको भाडा भुक्तानीका लागि नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बिल पठाएको छ । स्रोतका अनुसार अर्थले बिल भुक्तानीमा आलटाल गर्दै आएको छ । गोर्खा, पाल्पा, सिन्धुली, हेटौंडालगायत विभिन्न जिल्ला जाँदाको ५५ लाख रुपियाँ सेनाले पाउन बाँकी छ । प्रधानमन्त्रीले सिमि्रक एयरको हेलिकोप्टर पनि प्रयोग गरेका छन् । सिमि्रकको हेलिकोप्टर प्रयोग गरेबापत पाँच लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
पार्टी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री भट्टराई हेलिकोप्टर चढेर तीनपटक गृहजिल्ला गोर्खा पुगेका छन् । त्यसको भाडा पनि अझै तिरिएको छैन । त्यस्तै, गत माघमा प्रधानमन्त्री भट्टराई, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यसँगै हेटौंडामा आयोजित पार्टी कार्यक्रममा पनि हेलिकोप्टरबाट पुगेका थिए । एकीकृत नेकपा -माओवादी)का नेता भक्तबहादुर श्रेष्ठको शोकसभामा सहभागी हुन अध्यक्ष र तीन उपाध्यक्षलाई लिएर राजधानीलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको अवलोकन गर्दै प्रधानमन्त्री हेटांैडा उत्रिएका थिए । त्यतिबेला उनले राष्ट्रप्रमुखले मात्र चढ्ने गरेको नेपाली सेनाको सुपरपुमा हेलिकोप्टर प्रयोग गरेका थिए । सेनाको सो हेलिकोप्टरको भाडा १९ लाख रुपियाँभन्दा बढी छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जिल्लाका कार्यक्रममा सहभागी हुनुपर्दा भट्टराईले कुनै न कुनै सरकारी कार्यक्रम राख्न लगाउँछन् । जिल्ला अनुगमनका लागि सरकारी खर्चमा हेलिकोप्टर चढ्न पाइने भएपछि पार्टी कार्यक्रममा जाँदा उनले जिल्लामा सरकारी कार्यक्रम राख्न लगाउने गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
जिल्लाको कार्यक्रममा सहभागी हुनुपर्दा प्रधानमन्त्री कार्यालयले रक्षा मन्त्रालयलाई उडानको व्यवस्था मिलाउन लिखित निर्देशन दिन्छ । त्यही निर्देशनका आधारमा रक्षा मन्त्रालयले नेपाली सेनालाई हेलिकोप्टरको व्यवस्था गर्न भन्दै पत्र पठाउँछ । रक्षा मन्त्रालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यले भने, ‘प्रधानमन्त्री कार्यालयबाट आएको पत्रअनुसार सेनालाई पत्र लेखी हेलिकोप्टरको व्यवस्था गर्न भन्ने मात्र हो, त्यसबाहेक अरू केही जानकारी हुँदैन ।’
एमाओवादी केन्द्रीय कार्यालयका प्रमुख कार्यालय सचिव शक्ति बस्नेतले प्रधानमन्त्रीको हेलिकोप्टर भाडाबापत पार्टीले कुनै बिल भुक्तानी नगरेको बताए । ‘पार्टीका शीर्ष नेताबीच छलफल भएको भए मलाई जानकारी भएन,’ बस्नेतले प्रतिप्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू चढ्नुभएको हेलिकोप्टरको बिल पनि पार्टीले तिर्नुपर्छ होला र ?’
प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकोप्टरको बिल भुक्तानी नभएको स्विकारे । उनले भने, ‘रक्षाले कसरी मिलाएको छ, त्यो जानकारी भएन । तर, प्रधानमन्त्री कार्यालयबाट त्यस्तो कुनै बिल भुक्तानी भएको छैन ।’ अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख ईश्वरी अर्यालले पनि प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकोप्टरको बिल भुक्तानी भए/नभएको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘सेनाले अर्थबाट एकमुष्ठ रकम लैजाने भएकाले एक/दुईवटा उडानबारे जानकारी हुंदैन ।’
नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले भने यसबारे केही बताउन चाहेनन् । उनले भने, ‘राष्ट्रप्रमुख र सरकारप्रमुखले प्रयोग गरेको हेलिकोप्टरको बिलबारे केही बताउन मिल्दैन, यसको च्यानल हुन्छ, त्यसैबाट भुक्तानी हुन्छ ।’ उनले सरकारप्रमुखले प्रयोग गरेको हेलिकोप्टरको बिल सरकारले नै बेहोर्ने जानकारी गराउँदै भने, ‘ढिलो-चाँडो सबै रकम सरकारले नै दिन्छ, त्यसैले यसबारे केही बताउन मिल्दैन ।’
स्रोतका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराई सिमि्रक एयरबाट मात्र ६ महिनामा सिन्धुली, गोर्खा, वीरगन्ज र पाल्पा गरी सातवटा उडान भरेका छन् ।

एमाले पनि के कम !
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि पार्टी कार्यक्रममा जाँदा प्रयोग गरिएको हेलिकोप्टरको बिल अझै भुक्तानी भएको छैन । सेनाले हेलिकोप्टर भाडा भुक्तानीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयलाई पत्र नै पठाएको छ । तर, सो पत्रमाथि कुनै कारबाही नभएको सैनिक स्रोतले बतायो । स्रोतका अनुसार नेपाल प्रधानमन्त्री हुंदा एमाले अध्यक्ष झलनाथ खनाल हेलिकोप्टर चढेर तेह्रथुम, रामेछाप, स्याङ्जा, पाँचथर, गुल्मी, खोटाङ, सल्यान, सर्लाहीलगायत जिल्लामा आयोजित पार्टी कार्यक्रममा प्रमुख अतिथि बन्न गएका थिए । ती कार्यक्रममा सहभागी हुंदा प्रयोग गरिएको हेलिकोप्टरको बिल सरकारलाई नै तिर्न लगाउन सजिलो होस भनेर पार्टीनिकट मन्त्रीहरूलाई लैजाने गरिएको थियो ।
सैनिक स्रोतका अनुसार राजनीतिक दलका नेताले जिल्लामा भएका कार्यक्रममा सहभागी हुंदा प्रयोग गरेको हेलिकोप्टरको भाडा ९० लाख रुपियाँभन्दा बढी असुल्न बाँकी छ । सबो रकम भुक्तानी गर्न दलका नेताहरूलाई ताकेता गर्दा पनि भुक्तानी नभएपछि सेनाले रक्षा मन्त्रालयमार्फत सरकारसँग बिल भुक्तानीका लागि दबाब दिएको छ । एमाले नेता केपी शर्मा ओलीले समेत विभिन्न जिल्लामा पार्टीको अधिवेशनमा जाँदा प्रयोग गरेको हेलिकोप्टरको भाडा भुक्तानीको अनुरोध गर्दै अर्थ मन्त्रालयलाई बिल पठाएका थिए । आफ्ना सहयोगीमार्फत ओलीले अर्थ मन्त्रालयमा बिल पठाएका थिए । अर्थका अनुसार ओलीले तेह्रथुम, पाँचथर तथा नेपालगन्जबाट सल्यानको यात्रा हेलिकोप्टरबाटै गरेका थिए ।

 

प्रतिक्रिया