मंगलबार एकान्त बैठक धुलिखेलमा

काठमाडौं, २७ चैत । संविधानका बिवादित बिषयमा सहमित खोज्न प्रमुख तीन दल सहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मंगलबारदेखि काभ्रेको धुलिखेलमा हुने भएको छ ।
शासकीय स्वरुप, न्यायपालिका, राज्यपुनसंरचना लगायतका बिषयमा दलहरुका बीच बिवाद छ ।
शान्ति प्रक्रियाका बाँकी रहेका बिषय लडाकु समायोजनको बिधि, दर्जा निर्धारणलगायतमा समेत दलहरुका बीच बिवाद छ ।
धुलिखेमा रहेको एक रिसोर्टमा हुने एकान्त बैठकले समग्र बिवादित बिषयमा सहमति खोज्ने सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
एकान्त बैठकका लागि प्रधानमन्त्री बाबुराम भट्टराईका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,  कांग्रेस सभपाति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका पाँचै घटकका अध्यक्ष तथा बिवाद समाधान उपसमितिका सबै सदस्यको सहभागिता रहने छ ।
रिसोर्टमा दुई रात एक दिन बिताउने योजना बनाए उनीहरु सबै सञ्चारबाट टाढा रहने दाबी गरेका छन् ।
प्रमुख दलबाट सात सात जना सहभागि हुने छन् । एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो दलबाट सात जना जानुपर्ने भन्दै प्रधानमन्त्रीसँग माग गरेपछि सबै दललाई त्यो सुबिधा दिईएको हो ।
सबै दलबाट सात सात नेता र उनीहरुका सुरक्षा गार्ड, सहयोगी लगायत करिब २ सय जनाको सहभागिता रिसोर्टमा हुने छ ।

प्रतिक्रिया