अखण्ड चितवनका पक्षमा छुः अध्यक्ष खनाल

चितवन, २७ चैत । एमाले अध्यक्ष झलनाथ खनालले अबको तीन दिनभित्र माओवादीको शिविर खाली हुने दाबी गरेका छन् ।

चितवनका राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिहरुसंगको टोलीफोन सम्वादका क्रममा आज उनले यहि चैत–३० भित्र माओवादी लडाकुको शिविर खाली हुने दाबी गरे ।

डल्लुस्थित आफ्नै निवासबाट टेलीफोनमा भएको कुराकानीका क्रममा खनालले शान्ति प्रक्रिया निस्कर्षमा पुगे लगत्तै संविधान निर्माणले गति पाउने विश्वास व्यक्त गरे ।

एमाले अध्यक्ष खनालले शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय केहि लचकता र इमान्दारीता देखाएको उल्लेख गर्दै संविधान निर्माणले गति लिने बताए ।

अध्यक्ष खनालले संविधान निर्माणका लागि चलखेल हुनसक्ने भन्दै सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट हुलाकी सडक निर्माण गर्न लागिएका बारे माओवादी चितवनका इन्चार्ज अनिल शर्माले गरेको प्रश्नमा खनालले जंगल मासेर वन्य जन्तु आतंकित बनाउन नपाईने भन्दै जनताको चाहाना बिपरित सडक बनाउन नदिने बताए ।

कांग्रेस चितवनका सभापति विकास कोइरालाको जिज्ञासाको जवाफ दिदै खनालले अखण्ड चितवनको पक्षमा जिल्लावासीको भावनामा आफूपनि सहमत रहेको उल्लेख गरे ।

एमाले जिल्ला अध्यक्ष कृष्ण खनालले राखेको जिज्ञासामा खनालले शान्ति र संविधानका लागि एमाले प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिमै मुलुक अघि बढ्ने बताए ।

प्रतिक्रिया