अनाथलाई ‘लुट’को सहयोग

काठमाडौं, नेपाली चलचित्र लुटले इजरायलमा प्रदर्शनका क्रममा कलेक्सन गरेको रकम एक अनाथालयलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको छ । हिजो आइतबार लुटका निर्माता माधवराज वाग्ले, निर्देशक निश्चल बस्नेत र कार्यक्रम संयोजक रोजगार मिडियाका सुमन गिरीले संयुक्तरूपमा बसुन्धरास्थित पवित्र समाज नेपाललाई दुई लाख रुपिया“को सहयोग हस्तान्तरण गरेका हुन् । नेवाः खलः इजरायलको प्रस्तुति स्वरूप त्यहा कार्यरत ममता श्रेष्ठ, पुष्प श्रेष्ठ, विना राजभण्डारीलगायतको अग्रसरतामा चलचित्र प्रदर्शन गरिएको थियो । अनाथाश्रमले अनाथ बालबालिकालाई निःशुल्क पढाउदै आएको जानकारी गराइयो ।
कार्यक्रममा लुटका निर्माता माधवराज वाग्लेले अनाथ बालबालिकालाई सहयोग गर्न पाउदा खुसी लागेको बताए भने निर्देशक निश्चल बस्नेतले व्यावसायिकताभित्र मात्र रुमल्लिएका चलचित्रकर्मीलाई यसबाट सामाजिक कार्य गर्ने आइडिया पनि मिलेको जानकारी गराए । रोजगार मिडियाका सुमन गिरीले प्रवासमा रहेका नेपालीले गर्ने यस किसिमको सहयोग सदुपयोगका लागि खबरदारी गर्नुपर्ने र यस किसिमका सामाजिक संस्थाका पीडा र बाध्यतालाई उजागर गर्दै सहयोगका लागि बाटो खोलिदिनुपर्ने आवश्यकता औ“ल्याए । पवित्र समाज नेपालकी सञ्चालिका दीक्षा चापागाईंले संस्था सञ्चालनको नौ वर्षको अवधिमा पहिलोपटक यति धेरै रकम सहयोग पाएकोमा खुसी व्यक्त गर्दै यसबाट अनाथ बालबालिकाले उचित शिक्षा र लालनपालनको अवसर पाउने बताइन् । (सौस)

प्रतिक्रिया