हटकेसमा राखेर चरेस तस्करी

काठमाडौं, २६ चैत । खाली हटकेस देखाएर बन्द गर्न हतारिएपछि प्रहरीले शंका गरेर जाच्दा चेक नागरिक ह्याकर भ्याकल्याभ ६ किलो चरेससहित पक्राउ परेका छन् ।
शुक्रबार दिल्ली उड्ने क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रुकक्षमा झोला परीक्षण गराउदा शंकास्पद वस्तुको संकेत देखिएको थियो । एक्स–रे मेसिनले झोलामा शंकास्पद वस्तुको संकेत देखाए पनि उनी आत्तिएनन् । झोला खोलेर देखाए । झोलाभित्रको हटकेस पनि खाली थियो र हतारमा बन्द गर्न खोज्दा प्रहरीलाई शंका लाग्यो र जाच्ने क्रममा पिधमा ६ किलो चरेस फेला पर्‍यो ।
हटकेसको पिधमा प्रहरीको हात परेपछि ३६ वर्षीय ह्याकरको अनुहारको रङ उड्यो र उनी पक्राउ परे । ह्याकर पक्राउ परेको एक साताअघि पनि ५४ वर्षीय बर्नक्लेन स्मिथ कतारको दोहा जान विमानस्थल पुगे । उनी पनि सामान्य यात्रुझैं विमानस्थलको एक्स–रे कक्षमा प्रवेश गरे । सामान्य झोला गह्रौं देखिएपछि प्रहरीले खोल्न भन्दा उनले मानेनन् । झोला खोल्दा २२ किलो चरेस फेला परेपछि उनी पनि पक्राउ परे ।
लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाईका एसएसपी नवराज सिलवालले भने, ‘प्रहरीलाई झुक्याएर लागुऔषध विदेश लैजाने कार्यमा दुवै उद्यत देखिन्छन् तर दुवैले अपनाएको तरिकामा आकास–जमिनको फरक छ ।’
‘प्रहरीको ध्यान लुकाइछिपाई राखेको वस्तुमा पर्नु स्वाभाविक हो,’ सिलवालले भने, ‘प्रहरी छक्याउन कोही अति जटिल तरिका अपनाउछन् भने कोही सामान्य । यसैको उदाहरण थियो, एक साताबीच विमानस्थलमा पक्राउ परेका दुई युरोपियनले प्रयोग गरेको तरिका ।’
गएको तीन महिनायता यस्तै तरिका अपनाएर लागुऔषध तस्कर गर्ने पाच विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये एक थाइल्यान्डकी महिला छिन् । दुई जर्मन, एक चेक गणतन्त्रका र अर्का एक युएसका हुन् । एसएसपी सिलवाल भन्छन्, ‘युरोपियन र अमेरिकन नागरिक लागुऔषध तस्करमा भेटिएको नया रेकर्ड हो ।’ उनका अनुसार यसअघि मंगोलियन अनुहारका नागरिक मात्रै तस्करीमा संलग्न भेटिन्थे, तीमध्ये पनि गरिब मुलुकका । उनले भने, ‘तर, अब ट्रेन्ड बदलिएको देखियो, लागुऔषध तस्करीमा धनी देशका नागरिक पनि संलग्न हुन थाले ।’
प्रहरीका अनुसार नया तरिकाले तस्करी गर्ने क्रममा रहेका १४ करोड रुपियाभन्दा बढी मूल्यका लागुऔषध गएको तीन महिनामा बरामद भएको छ । यस कार्यमा ४७ नेपाली पक्राउ परेका छन् । एसएसपी सिलवालले भने, ‘लागुऔषध तस्करले बजार विस्तार गर्दै छन्, त्यसको जालो चीनतर्फ फैलदै छ ।’

प्रतिक्रिया